समाचारदाता
बोस्टन , अमेरिका ।
गैरआवासीय नेपाली सङ्घको भाषा ,साहित्य , संस्कृति तथा सम्पदा समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को आयोजनामा गैरआवासीय नेपाली युवाहरू बिच सम्पन्न अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता आज सम्पन्न भएको छ । जसमा बङ्गालदेशकी इभान्जेलिना बलले प्रथमहुँदै एकहजार अमेरिकी डलरको पुरस्कार हात पारेकी छिन् ।
त्यसैगरी अभिनव गिरी , जापानले द्दितीयहुँदै पाँचसय अमेरिकी डलरको पुरस्कार जितेका छन् भने पोर्चुगलकी मानस्वी खरालले तीन सय डलरको तृतीय पुरस्कार जितेकी छिन् । त्यसैगरी अङ्ग्रेजी भाषाका कवितातर्फ उत्कृष्ट भइ अमेरिकाकी ओजस्वी पसछेले दुई सय डलरको पुरस्कार जितेकी छिन् ।
कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विजेता कविहरूलाई बधाईदिँदै दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरूको पुस्ताले नेपाली भाषा, साहित्य र संस्कृतिलाई प्रवासमा प्रवर्धन गर्न विशिष्ट भूमिका खेल्नु पर्ने र यसमा एनआरएनए र अनेसास लगाएतका संस्थाले अग्रणी भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो । उहाँले यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले सक्दो सहयोग गर्नेछ भन्नु भयो ।
कार्यक्रममा विशिष्ट अतिथी पूर्व कुलपति एवम् मूल्यांकन समितिका प्रमुख बैरागी काँइला , नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त , एनआरएनएका अध्यक्ष कुमार पन्त, अनेसास ट्र्ष्टी सभापति गीता खत्री , पूर्व अध्यक्ष जीवा लामिछाने र भवन भट्ट , अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी , वरिष्ठ साहित्यकारहरू अशेष मल्ल , दिनेश अधिकारी , प्रकाश सायमी र डा. बिन्दु शर्माले आआफ्ना रचना वाचन र शुभकामना मन्तव्य दिनु भएको थियो ।
त्यसैगरी अतिथी कविहरू रबिन शर्मा ( जापान ) , हिमान्शु निभा कुँवर ( अमेरिका ) , तीर्थ सङ्गम राई ( कतार ), गणेश खडका ( अफ्रिका ) , इसिका अधिकारी ( युरोप ), केशव सिग्देल ( नेपाल ) , गोवर्ध्दन पूजा ( अमेरिका ) र प्रविणा बराल ( जापान ) ले पनि आ आफ्ना कविता वाचन गरेका थिए ।
आयोजकका तर्फबाट एनआरएनएका पूर्व कोषाध्यक्ष एवम् भाषा , साहित्य , संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा समितिका सहअध्यक्ष महेश्वर पन्तले प्रतियोगिताको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा एनआरएनएका महासचिव डा. हेमराज शर्मा , एनआरएनए अमेरिकाका अध्यक्ष सुनील शाहले शुभकामना मन्तब्य दिनु भएको थियो भने कार्यक्रम संयोजक अनेसासका महासचिव तथा एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
मूल्यांकन समितिको तर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले नेपाली भाषाका प्रतियोगी र महेश पौडेलले अङ्ग्रेजी भाषाका प्रतियोगी मध्यबाट पुरस्कृत नामको घोषणा गर्नु भएको थियो ।
साठीजना प्रतियोगी मध्यबाट अन्तिम चरणमा पुगेका कविहरू अभिनव गिरी , अंशु सुवाल , आगत खरेल , इभान्जेलिना बल , गुन्जना न्यौपाने , गङ्गा फुयाल , मानस्वी खराल , समृद्धि नेपाल ,सरला बाराकोटी, र सौगात पराजुलीले नेपालीमा र ओजस्वी पसछे, मारिया अधिकारी र प्रेमा पौड्यालले अङ्ग्रेजीमा कविता सुनाएका थिए ।
एनआरएनएका एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक पारसमणि पोखरेलले संचालन गरेको कार्यक्रमको अध्यक्षता अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाले गरेका थिए ।






















































