बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बंगलादेशविरुद्ध डेब्यु गर्ने चार खेलाडी को हुन् ?


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ २५, २०७८
  • 355
    SHARES

काठमाडौं, २५ भदौ  
बंगलादेशी महिला फुटबल टाेलीविरुद्ध दुई मैत्रीपूर्ण खेल अन्तर्गत बिहीबार साँझ भएकाे पहिलो खेलमा नेपाल विजयी भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दा डेब्यु खेलाडी प्रीति राई र  सविता राना मगर नायक रहे । नेपालका लागि दुबै गोल डेब्यु खेलाडी मगर र राईले गरेका हुन् । बंगलादेशका लागि तोहुरा खातुनले सान्त्वना गोल गरिन् ।

खेलको १४ मिनेटमा सबिताले  नेपाललाई अग्रता दिलाइन । सबिताले  राइट विंगर बिमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् । बंगलादेश गोलरक्षक रुप्ना चक्मा अगाडी बढेको फाइदा उठाउदै सबिताले राष्ट्रिय महिला फुटबल टोलीबाट पहिलो खेलमा पहिलो गोल गरेकी हुन् ।

खेलको २४औँ मिनेटमा १६ वर्षीया युवा खेलाडी प्रीतिले डेब्यु गोल गरिन् । प्रीतिले  मिडफिल्डर सरु लिम्बुको पास सदुपयोग गर्दै डिबक्स नजिकैबाट सुन्दर गोल गरेकी थिइन् । उनको गोलसँगै नेपाल पहिलो हाफमा २-० को अग्रता बनायो ।

बंगलादेशकी खातुनले ८१औँ मिनेटमा गरेकाे प्रहार नेपाली डिफेण्डर अमृता जैसीलाई छुँदै गोल भएको थियो ।

बंगलादेशसँगको मैत्रीपूर्ण र आगामी एएफसी महिला कप छनोट खेलका लागि प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।  जसमा सात नयाँ अनुहार छन् ।

प्रशिक्षक फिलिप्स ग्यारीले बंगलादेशिवरुद्ध नेपालको प्लेइङ सेटमा  सबिता र प्रीतिलाई डेब्यु गराएका थिए ।  उमेर समूह यू-१५ र १९  टोलीबाट खेलिसकेका प्रीति र सवितासहित सृजनासिंह ठकुरी र रस्मी घिसिङले दोस्रो हाफमा  डेब्यु गरे ।

को हुन् राष्ट्रिय टोलीबाट डेब्यु गर्ने ४ खेलाडी 

प्रिती राई
पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी मिडफिल्डर प्रितीले पहिलो अवसरमै डेब्यु गरिन् । त्यो पनि प्लेइङ सेटमा । अझ डेब्यु गोल पनि । सावित्रा भण्डारी चाेटका कारण मैदान उत्रन नसकेपछि प्रीतिले अवसर पाएकी थिइन्  । उनले खेलको २४औँ मिनेटमा गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएकी थिइन् । पूरा समय खेलेकी प्रीति खेलको प्लेअर अफ दि म्याच चुनिइन् ।

गत राष्ट्रिय लिगमा एपीएफबाट खेलेकी प्रिती दोस्रो प्रयासमा राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । लिगमा उनले दुई गोल गरेकी थिइन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम प्रशिक्षणमा रहेकी प्रिती भुटानमा भएको साफ यू-१५ खेल्न पुग्दा राष्ट्रिय टोलीमा स्थान बनाउन सकिनन् । काठमाडौं निवासी प्रिती उमेर समूह यू–१५ को कप्तान हुन् । उनले यू–१९ टोलीबाट समेत खेलेकी छिन् । प्रिती हालको राष्ट्रिय टोलीको कान्छी सदस्य हुन् ।

सविता राना मगर 
पहिलो पटक राष्ट्रिय टोलीमा  स्थान बनाएकी सविताले प्रशिक्षक ग्यारी फिलिप्सको मन जित्न सफल भइन् । राइट विंगरको भूमिकामा प्रशिक्षण गरेकी सविताले अनूभवी अनिता बस्नेतलाई पछि पार्दै राष्ट्रिय टोलीमा स्थान बनाएको पहिलो अवसरमै डेब्यु गरिन । उनले पनि प्लेइङ सेटमै खेलिन र डेब्यु खेलमै गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाइन् । खेलको १४औँ मिनेटमा लेफ्ट विंगर विमला चौधरीले मिलाएको पासलाई सविताले हेडिङमार्फत बललाई जाली चुमाइन् ।

राष्ट्रिय लिगमा रौतहटकाे चन्द्रपुर नगरपालिकाबाट खेलेकी साविताले चौदण्डीगढीविरुद्ध ह्याट्रिकसहित चार गोल गरेकी थिइन् । सविताले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । उनले दोस्रो अवसरमा टोलीमा स्थान पाएकी हुन् । सविताले उमेर समूहमा नेपालको यू-१५, १६ र १९ टोलीबाट खेलेकी छिन् ।

सृजनासिंह ठकुरी 
प्रशिक्षक ग्यारीको नेतृत्वमा डेब्यु गर्ने तेस्रो खेलाडी बनिन् सृजना । दोस्रो हाफमा लेफ्ट ब्याक हिरा भुजेल चोटका कारण मैदान उत्रिन नसकेपछि सृजनाले डेब्यु मौका पाएकी हुन् । सुर्खेतकी सृजनाले डेब्यु खेलमा आठ मिनेट खेलिन्।

विराटनगर महानगरपालिकाबाट राष्ट्रिय लिगमा प्रतिनिधित्व गरेकी डिफेण्डर सृजना पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । पश्चिम नेपालकी डिफेण्डर सृजनाले पहिलो अवसरमै राष्ट्रिय टोलीबाट डेब्यु पाइन् । उमेर समूहमा  सृजनाले नेपालको यू-१९ टोलीबाट खेलेकी छिन् ।

रस्मी घिसिङ
त्रिभुवन आर्मी फुटबल क्लबकी रस्मीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । दोस्रो पटकमा राष्ट्रिय टोलीमा स्थान पाएकी उनी प्रशिक्षक ग्यारीको नेतृत्वमा डेब्यु गर्ने चौथो खेलाडी बनिन् । रस्मी खेल सकिन पाँच मिनेट अघि मन्जलीकुमारी योन्जनको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

गत लिगमा रस्मीले एक ह्याट्रिकसहित ६ गोल गरेकी थिइन् । मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’चोटका कारण टोली बाहिर रहेसँगै रस्मीलाई अट्याक लाइनमा प्रमाणित गर्ने अवसर थियो । तर, उनले अवसर भने कम पाइन ।

रौतहटकी रस्मीले उमेर समूहमा नेपालको यू–१५, १६ र १९ टोलीबाट खेलिसकेकी छिन् ।

पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका निशा थोकर, रजनी थोकर र विमला विकले भने पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु पाएनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)