काठमाडौं ,१० असोज
चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (आइतबार) दुई टोलीले प्रतिस्पर्धा गर्दै छन् । त्रिवि क्रिकेट मैदानमा दोस्रो दिन आज हुने पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन् । दुई टोलीबीचको खेल बिहान ९ः३० बजेबाट सुरु हुनेछ ।
सोमपाल कामीको कप्तानीमा मैदान उत्रने चितवन आजको खेलमा सहज जित निकाल्ने योजनामा हुनेछ । पछिल्लो समय राष्ट्रिय टिममा उत्कृष्ट प्रदर्शन गरिरहेका सोमपाल आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छन् । चितवन टाइगर्समा अफगानिस्तानका मोहम्मद शाहजाद र करीम जनत, श्रीलंकाका सेक्कुगे प्रसन्ना र मलेसियाका भीरनदिप सिंह रहेका छन् ।
करण केसीको कप्तानीका रहेको विराटनगर वारियर्स पनि आजको खेलमा सहज जित निकाल्ने योजनामा रहेको छ । करणले घरेलु क्रिकेटमा दोस्रो पटक कप्तानी गर्न लागेका हुन् । त्यसैले करणलाई आजको खेलमा जित निकाल्ने मौका छ । विराटनगरमा जिम्बाब्वेका सिकन्दर राजा, क्यानडाका रायन पठान, वेस्टइन्डिजका चन्दं्रपाल हेमराज र श्रीलंकाका दिलशान मुनाविरा रहेका छन् ।
आज हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबीचको खेल दिउँसो १ः३० मा सुरु हुनेछ । बिनोद भण्डारीको कप्तानीमा रहेको पोखरा आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ ।
यस्तै शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा साविकको उप–विजेता टोली हो । त्यसैले गत सिजन उपाधि जित्नबाट बञ्चित भएको भैरहवा आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । भैरहवामा विदेशी खेलाडीहरुमा बंगलादेशका तामिम इक्बाल, श्रीलंकाका उपुल थारांगा, धम्मिका प्रशाद र शर्भिन मुनिएन्डी रहेका छन् ।
यता, पोखरामा विदेशी खेलाडीको रुपमा वेस्टइन्डिजका केसरिक् विलियम्स, श्रीलंकाका असेला गुनरत्ने र सहान अरचिगे र दक्षिण अफ्रिकाका रिचर्ड लेभी रहेका छन् ।
