आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटक आगमनमा सुधार


  • माउन्टेन खबर
  • सोमवार, अशोज १८, २०७८
  • 299
    SHARES

काठमाडौं, १८ असोज 

विदेशी पर्यटकका लागि सरकारले व्यवस्था गरेको अनअराइभल भिसाले सकारात्मक प्रभाव पारेको छ । कोभिड–१९ महामारीको जोखिमकै बीच सरकारले बाह्य पर्यटकका लागि लागू गरेको सो व्यवस्थाका कारण पर्यटक आगमनमा सुधार आएको पाइएको छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अंग्रेजी वर्षको सेप्टेम्बर महीनामा नेपाल आउने पर्यटक संख्या अघिल्लो महीनाको तुलनामा करिब दोब्बर रहेको छ । सेप्टेम्बरमा झन्डै १० हजार पर्यटक आएका छन् । अगष्टमा ५ हजार हाराहारीमा मात्र पर्यटक आएका थिए ।

बोर्डको विवरणमा सेप्टेम्बरमा ९ हजार ९७४ विदेशी पर्यटक नेपाल आएका छन् । उक्त महीना नेपालबाट ६ हजार ९४२ विदेशी बाहिरिएका छन् । यो संख्या हवाई मार्ग भएर नेपाल भित्रिएका पर्यटकको मात्रै हो । अघिल्लो महीना ५ हजार ९१९ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सरकारले विदेशी पर्यटकका लागि गरेको नयाँ व्यवस्थाले यस क्षेत्रमा प्रभाव परेको र विदेशी पर्यटक आगमनमा झिनो रूपमा भए पनि सुधार आएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।
सन् २०२१ को ९ महीनामा ७६ हजार ९१३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२० को सेप्टेम्बरमा ५४८ पर्यटक नेपाल आएका थिए । कोभिडपूर्व सन् २०१९ को सेप्टेम्बर महीनामा ९२ हजार ६०४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

कोभिड महामारीको सबैभन्दा धेरै असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटकको संख्या बढ्न नसकिरहेको अवस्थामा पछिल्लो सरकारी व्यवस्थाले पर्यटक आगमनमा सुधार आएको बोर्डको बुझाइ छ ।

अघिल्लो महीनाको तुलनामा विदेशी पर्यटकको संख्या दोब्बर हुनु नेपालको पर्यटनमा सुखद भएको विश्लेषण गरिएको छ । यही ५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल आउने विदेशी पर्यटकका लागि अनअराइभल भिसाको व्यवस्था गर्नुका साथै खोपको मात्रा पूरा गर्ने पर्यटकलाई होटल क्वारेन्टिनको व्यवस्था हटाएको थियो ।

बोर्डका अनुसार सन् २०२० मा २ लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)