पोखरा ,१८ मङ्सिर
नेपाली कांग्रेस गण्डकी प्रदेशको जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् । प्रदेश कार्यसमितिका लागि भुगोल तर्फबाट सदस्यमा उम्मेदारी दिएका मनाङका विनोद गुरुङ र चिउडे लामा निर्विरोध भएका हुन् ।
कांग्रेस विधान अनुसार प्रदेश कार्यसमितिका लागि एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको जिल्लाबाट अनिवार्य एक महिला सहित दुई जना सदस्य रहने व्यवस्था छ । सोही अनुसार मनाङबाट पुरुषतर्फ गुरुङ र महिलातर्फ लामा निर्विरोध निर्वाचित भएका हुन् । मनाङसहित प्रदेश कार्यसमिति सदस्यमा उम्मेदारी दिएका मुस्ताङ तनहुँ र पर्वतका गरी सात जना निर्विरोध निर्वाचित भएका हुन् ।
मुस्ताङबाट भुगोलतर्फ पुष्पा भट्टचन शेरचन र सुवर्णकुमार विष्ट निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी भुगोल तर्फकै प्रदेश कार्यसमितिमा उम्मेदारी दिएका तनहुँका मायादेवी राना आले र लक्ष्मीप्रसाद आचार्य पनि निर्विरोध निर्वाचित भएका हुन् ।
