काठमाडौं, २२ मंसिर
राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा जग्गाको समस्या समाधान हुन नसक्दा स्तरोन्नतिको काम सुस्त बनेको छ । सडक विस्तारको समय आधा सकिँदा केही खण्डमा अदालतको अन्तरिम आदेशले त कतै मुआब्जा टुंगो लाग्न नसक्दा जग्गा उपलब्ध हुन नसकेको हो ।
२०८० असारसम्ममा सो योजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अदालतबाट निर्णय भएमा र मुआब्जा टुंगो लाग्न सके सडक स्तरोन्नतिको काम चाँडो अघि बढाउन सकिने योजनाका सूचना अधिकारी सन्तराम पाण्डेयले बताए । यहाँ रहेका घरटहराको क्षतिपूर्ति नदिएसम्म निर्माण अघि बढाउन नसकिने उनको भनाइ छ ।
सर्वोच्च अदालतले कहिले एउटा खण्ड त कहिले अर्का खण्डमा निर्माण रोक्न आदेश दिएको थियो ।
