६ माघ, काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी मास्कको अनिवार्य प्रयोगलाई तीव्रता दिन स्टिकर अभियान संचालन गरेको छ।
ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनका चालक सह-चालक तथा यात्रुहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै सवारी साधनहरुमा सुचनामुलक स्टिकर टाँस गर्दै सो अभियान सुरु गरेको हो ।
काठमाण्डौं मल अगाडी गरिएको कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेशराज जोशी, यातायात व्यवसायी तथा पदाधिकारी र अन्य प्रहरी अधिकृतहरुको उपस्थितिमा ‘सवारी साधनमा चढ्दा अनिबार्य मास्कको प्रयोग गरौं’ भन्ने सचेतनायुक्त स्टिकर टाँस गरिएको हो ।
कार्यक्रममा बोल्दै एसएसपी जोशीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड र साबधानीका उपायहरुलाई पुर्ण पालना गर्न अनुरोध गर्नुभयो । उहाँले ‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना’ भन्ने मूल अभिप्रायका साथ शुरु गरिएको सचेतना अभियानले संक्रमण नियन्त्रणमा महत्वपुर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गर्नुभयो ।
यातायात क्षेत्र उच्च जोखिममा रहने हुनाले वेलैमा स्वास्थ्य मापदण्डको पुर्ण पालना गरेर मात्र चलायमान गराउनुपर्ने महाशाखाको बुझाई छ ।
