आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मन्थली सम्मान र नर्मदेश्वर दर्शन ( नियात्रा )


  • प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
  • सोमवार, माघ २४, २०७८
  • 745
    SHARES

मन्थली सम्मान र नर्मदेश्वर दर्शन ( नियात्रा )
-प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

यसपटक हाम्रो यात्रा अत्यन्तै अनौपचारिक र पारिवारिक प्रकारको भएकाले कहीँकतै कसैलाई जानकारी नदिई हिँडिएको थियो । फेसबुकमा पनि दुम्जा नेपालथोकका केही फोटाबाहेक अन्यत्रका फोटा पोस्ट गरिएको थिएन । अरू फोटा त काठमाडौँ फर्केपछि मात्र पोस्ट गरिएका हुन् । यति भएर पनि यात्राले औपचारिक रूप लिन थाल्यो ।

हामी मन्थली आएको कुरा थाहा पाएर मेरा विद्यार्थी मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका शिक्षक खेचबहादुर खड्का २०७८ पुस २५ गते आइतबार बिहानै होटलमै भेट्न आइपुगे । त्यसै दिन बिहान मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा मेरा सम्मानमा विशेष कार्यक्रम राखिएको रहेछ । हामीले त्यो कार्यक्रममा जानैपर्ने भयो । बिहान क्याम्पसतिर जाँदै गर्दा लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक पनि अवलोकन गरियो । सडकका बीचमा राखिएको देवकोटाको सालिक पहिले अनुहारै नमिलेको बिरूप थियो रे तर अहिले प्रायः अनुहार मिलेको सहीसलामत नै देख्दा खुसी लाग्यो ।

नमोबुद्ध भोजनालय एन्ड गेस्टहाउसका अगिल्तिर सडकको छेउमा बिपी कोइरालाको अर्धकदको हात उठाएको सालिक राखिएको रहेछ । त्यसको अवस्था पनि झट्ट हेर्दा तामाकोसी किनारमा राखिएको तीन लालका सालिकको भन्दा खासै फरक नदेखिए पनि त्यहाँचाहिँ सालिकका वरिपरि पर्खाल लगाउन र ढलान गर्नलाई ढुङ्गा ओछ्याउने काम भइरहेको रहेछ । सालिकका तल्लो भागको शिलामा लेखिएका अक्षर भने धरेजसो मेटिइसकेको र छेउको रुखले तार नाघिसकेको देखिएकाले पुनर्निर्माणका क्रममा त्यसतर्फ ध्यान दिनु आवश्यक देखियो ।

कृष्णलालको जस्तो बिपीको सालिकको नाक काटिएको चाहिँ रहेनछ । त्यो चाहिँ सालिक भ¥याङ नै चाहिने गरी अग्लो भएकाले जोगिएको हो कि ? नेपाली साहित्य र राजनीति दुवै क्षेत्रका विशिष्ट व्यक्तित्व कोइरालाको सालिक राखेको ठाउँ र सालिकको अवस्था टीठलाग्दो देखिए पनि निर्माणकार्य भइरहेको देखिएकाले थप टिप्पणी गर्नु आवश्यक देखिएन । सालिक देखाउनका लागि मात्र नभएर सम्मानका लागि राखिने हो । सालिक राख्ने तर संरक्षणतर्फ ध्यान नदिने स्थिति राम्रो होइन ।

बिपी कोइरालाको सालिक अवलोकनपछि तामाकोसी सेवा समितिको लामो भवनमा अवस्थित जगदीश घिमिरे प्रतिष्ठानमा पनि गइयो र प्रतिष्ठानका उपाध्यक्ष गोविन्दप्रसाद घिमिरेबाट त्यसका गतिविधिबारे जानकारी लिइयो । त्यस क्षेत्रमा शिक्षा र स्वास्थ्यको उन्नयनका लागि जगदीश घिमिरेको उल्लेख्य योगदान रहेछ र सबैले त्यसको मुक्तकण्ठले प्रशंसा गर्दारहेछन् । त्यहाँ जानका लागि पहिले अनेक पटक आमन्त्रण गर्दा पनि मौका मिलेको थिएन बल्ल यसपटक मौका मिल्यो… ।

यी सबै अवलोकनपश्चात् क्याम्पस गइयो । संयोगको कुरा हो त्यस दिन मेरो जन्मदिन पनि परेछ । क्याम्पसका तमाम शिक्षक, विद्यार्थीहरूका उपस्थितिमा क्याम्पस प्रमुख ऋषि कार्कीसमेतबाट दुबाको मालाका साथ मलाई विशेष सम्मान गरियो । मेरा प्रिय शिष्यद्वय नवीन केसी र ईश्वर चौहान, सहायक क्याम्पस प्रमुख नारद थापालगायत त्यहाँ उपस्थित सबैले भाषण ठोकेरै मलाई जन्मदिनको शुभकामना दिए ।
क्याम्पसमा मेरा प्रमुख आतिथ्यमा ‘वर्तमान नेपाली साहित्यको अवस्था र वर्णविन्यास आन्दोलनको समीक्षा’ विषयक विशेष कार्यक्रम राखिएको रहेछ । कार्यक्रमको सञ्चालन खेचबहादुर खड्काले गरेका थिए । पूर्वक्याम्पस प्रमुख तथा मन्थली माविका प्रधानाध्यापक टङ्कप्रसाद दाहालले स्वागत मन्तव्य राख्ने क्रममा विद्यालय र क्याम्पसका यावत् गतिविधिमाथि प्रकाश पार्दै मलाई जन्मदिनको शुभकामना दिए । लीला लुइटेलले वर्तमान नेपाली साहित्यको अवस्था र वर्णविन्यास आन्दोलनको समीक्षाका विषयमा चर्चा गरिन् ।

मैले जन्मदिनमा अचानक विशेष सम्मान गरिएकामा खुसी व्यक्त गर्दै जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएँ । मलाई पहिलो पटक २०५० सालमा लीलाले दुबाको माला लगाइदिएको र अहिले दोस्रो पटक मन्थलीले लगाइदिएको भन्दा ताली र हाँसोले हल गुन्जायमान भयो ।

‘वर्तमान नेपाली साहित्यको अवस्था र वर्णविन्यास आन्दोलनको समीक्षा’ विषयक विशेष कार्यक्रम राखिएकामा खुसी व्यक्त गर्दै मैले नेपाली भाषामा बल्झाइएका समस्या र मेरा नेतृत्वमा रहेको मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालबाट गरिएका आन्दोलन र प्राप्त सफलताका बारेमा चर्चा गर्दै त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्र, साझा प्रकाशनजस्ता सरकारी निकायबाट अमानक वर्णविन्यासमा प्रकाशित पाठ्यपुस्तक, नेपाली बृहत् शब्दकोश आदि खारेज गर्न बाध्य पारेको, एटिएममा नेपाली भाषा राख्न लगाइएको, निजी प्रकाशन संस्थाहरुलाई मानक नेपाली वर्णविन्यासबमोजिम पुस्तक प्रकाशन गराएको, टिभीलगायतका सञ्चार माध्यममा मानक नेपाली वर्णविन्यासको प्रयोग गराएको र अहिले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने आन्दोलन जारी रहेकोलगायतका विविध पक्षमाथि प्रकाश पारेँँ ।

सम्मान र भाषिक गोष्ठी कार्यक्रम सकिएपछि विद्यालय र क्याम्पसको शैक्षिक एवं भौतिक अवस्थाबारे जानकारी लिइयो । २०१६ सालमा स्थापित मन्थली माध्यमिक विद्यालय त्यस क्षेत्रमै प्रसिद्ध रहेछ । देशभर सरकारी विद्यालयको गिर्दाे अवस्था देखिए पनि यस विद्यालयको शैक्षिक र भौतिक अवस्था भने निकै राम्रो र विद्यार्थी सङ्ख्या पनि अधिक भएको पाइयो ।

मन्थली माध्यमिक विद्यालय हातामै २०५७ सालमा स्थापित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस पनि त्यस क्षेत्रकै उल्लेख्य शैक्षिक संस्था रहेछ । बिए., बिएड्., बिबिएस्.र एमएड्का कक्षा सञ्चालित त्यस क्याम्पसमा सात सयजति विद्यार्थी रहेछन् । त्यहाँ छात्रभन्दा छात्राको सङ्ख्या बढी भएकाले त्यस क्याम्पसलाई छोरीबुहारीको क्याम्पस भनेको सुनियो । कुनै बेला परीक्षा सञ्चालनका दृष्टिले निकै बदनाम रहेको यो क्याम्पसमा अहिले भने केही सुधार आएको बुझियो ।

एउटै हातामा रहेका स्कुल र क्याम्पस दुवैका भवन पनि भव्य रहेछन् । पठनपाठन पनि दुवैतिर दुवैतिरकाले गर्दारहेछन् । युनिफर्म नलगाए जरिवाना गर्ने नियम बनाइएकाले शिक्षकहरु युनिफर्म झोलामै बोकेर हिँड्दा रहेछन् । त्यहाँ अहिले एकै पटक तीनवटा भवन बनाइँदै रहेछ । भिरालो पाखामा भए पनि पहिरो नलड्ने खालको जमिन भएकाले सुरक्षित नै देखियो । अहिले यी दुवै संस्थामा राजनीतिक प्रदूषण भित्रिएको बुझिएकाले यसतर्फ बेलैमा सचेत नभए संस्था धरासायी हुन पनि सक्छ । संस्था निर्माण गर्न लामो समय लाग्ने तर बिगार्न कतिबेर पनि नलाग्ने हुँदा यसतर्फ सम्बद्ध सबै सचेत हुन जरुरी छ । त्यहाँको वस्तुस्थिति बताउँदै शिक्षक शिवप्रसाद सुवेदीले ‘यो दारीवाल मोटेलाई नबिर्सनुहोला है सर’ भनेको कुरा स्मरणीय रह्यो…।

क्याम्पसमै खाना खाएर हामी रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछापतिर उकालो लाग्यौँ । विभिन्न घुम्ती र मोड पार गर्दै पुष्पलालको जन्मस्थल भँगेरी पुगियो । त्यहाँ पुष्पलालको जन्मस्थल भन्ने बोर्ड बाटैमा राखिएको देख्दा तीन लाल पार्कको अवस्था सम्झेर मन कटक्क खायो । कारागार, सैनिक गण, अस्पताल, टुँडिखेल, विद्यालय, नगरपालिका र बजारक्षेत्र घुमियो । त्यहाँ गौरीशङ्कर नाम गरेको विद्यालय पनि देखियो । जहाँ देखे पनि मलाई गौरीशङ्कर नामले आकर्षित गरिहाल्छ । मेरा हजुरबाको नाम गौरीशङ्कर भएर मात्र होइन मेरो प्रारम्भिक शिक्षा मेरा हजुरबाकै नाममा स्थापित गौरीशङ्कर विद्यालयमै भएकाले पनि होला । साँघुरा बाटा र भिरपाखा रहेको त्यस क्षेत्रमा बजारविस्तारको सम्भावना भने न्यून नै रहेछ । डाँडाको टुप्पामा रहेको रामेछाप बजारबाट वारिपारिको दृश्यावलोकन गरियो ।

निकै पहिले गौँडा, गोश्वाराका रूपमा रहेको रामेछाप अहिले जनकपुर अञ्चलको एउटा दुर्गम पहाडी जिल्ला हो । रामेछापको नामकरण कहिले र के आधारमा गरियो भन्ने यकिन नभए पछि यसको नामकरणसम्बन्धी यस्ता किम्बदन्ती र जनश्रुति प्रचलित रहेछन् ः

ड्ड रामेछापमा तामाङ जातिको बाहुल्य रहेको हुँदा तामाङ भाषामा रामेछाप (रा= भेडाबाख्रा, मे= गाईगोरु र छाप= चरनक्षेत्र) शब्दको अर्थ भेडाबाख्रा र गाईगोरुको चरनक्षेत्र भन्ने भएकाले यही आधारमा यस ठाउँको नाम रामेछाप रहन गएको ।

ड्ड कुनै समयका राजाले राम तामाङलाई बिर्ता दिएको र अरूलाई त्यस ठाउँको भोगचलनका लागि उनैले छाप लगाउनुपर्ने भएकाले अन्यत्रबाट आएर त्यहाँ बस्न थालेका मानिसले रामछाप भन्ने गरेको र समयक्रममा रामेछाप भन्न थालिएको ।

ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र सिन्धुली गरी छ वटा जिल्लासँग सिमाना जोडिएको रामेछापलाई ओखलढुङ्गा र सोलुखुम्बुको सिमाना लिखुु खोलाले तथा काभ्रेपलाञ्चोक, दोलखा र सिन्धुलीसँगको सिमाना खिम्ती, तामाकोसी, सुनकोसी र चौंरी खोलाले छुट्ट्याएको छ । तामाकोसी, सुनकोसी, लिखु, खिम्ती, चौरी, मिल्ती, भटौली, बाफर, चुलुपे, खानीखोला, दोर्जेखोला, सोत्रेखोला, चौलाखोला आदि विभिन्न नदी र खोला भएको रामेछापमा प्रशस्त विद्युत उत्पादन गर्न सकिने र कतिपय नदीमा ¥याफ्टिङ सञ्चालन गरी जलपर्यटनको विकास गर्न सकिने अवस्था रहेछ ।

यी विभिन्न नदी र खोला किनारमा रहेका ससाना फाँटका साथै जखनीटार, द्यौरालीटार, बिर्ताटार, मुँगीटार, रजमनटार, सित्खाटार, टारीखेत, खिम्तीबेसी आदि उत्पादनका दृष्टिले उर्बर देखिए पनि अरू डाँडापाखा भने उराठलाग्दा देखिन्छन् । हावापानीगत विविधता, पहाडी भूबनोट, वनजङ्गल, घाँसे चरनक्षेत्र, चट्टान र हिउँले ढाकेको क्षेत्र अधिक रहेको रामेछापमा केही मात्रामा धान, मकै, कोदो, फापर, गहुँको उत्पादन भए पनि खेतीयोग्य जमिन भने कमै रहेको छ भने युवाहरूको पलायनका कारण कतिपय ठाउँका खेतीयोग्य जमिन पनि बाँझै रहेको देखिन्छ ।

रामेछापका बजार, गाउँ, खोला, पाखा जताततै डोजरले खनेर भद्रगोल पाराले कच्ची सडक बनाई विकासका नाममा विनास निम्त्याएको देखिन्छ । एकातिर जताततै डोजरले खनेको र अर्कातिर लेदोसहितको भलबाढी आउने ठाडा खोला प्रशस्तै भएकाले यसबाट बेलाबखत धनजनको ठूलो क्षति हुने गरेको जानकारी पाइन्छ ।

मौसमगत विविधता रहेको रामेछापको दक्षिणी भेगमा निकै गर्मी र उत्तरी भेगमा निकै जाडो हुन्छ । रामेछापको सबैभन्दा उच्च भाग नुम्बुर हिमशृङ्खला तथा गाकोशिर, गोकुलचुली, रामादिङ्चुली, लिखुचुलीजस्ता हिमशृङ्खला, अग्लेश्वरडाँडा, गिद्धेडाँडा, तामेडाँडा, दमकोटीडाँडा, सैलुङेडाँडा, जटापोखरी, पाँचपोखरी आदि क्षेत्रमा पर्यटन विकासको सम्भावना देखिन्छ ।

बाहुन, क्षेत्री, तामाङ, मगर, नेवार, सुनुवार जातिको बसोबास रहेको रामेछापमा अधिकांशले नेपाली भाषा बोल्छन् । रामेछापमा सञ्चारका साधनमा हजुरको रेडियो, तीन लाल एफएम, रेडियो तिफदी, रेडियो रामेछाप, रेडियो झङ्कार, रेडियो कैरन, रेडियो लिखु, रेडियो इनर्जी आदि रहेको देखिन्छ ।

जुनारका लागि प्रसिद्ध भनिएको रामेछापमा कताकति टुप्पा सुकेका सुन्तलाका बोट देखिए पनि जुनारका बोट भने कतै देखिएन । २०४१ सालमा राजा वीरेन्द्रलाई देखाउनाका लागि टुँडीखेलमा गाउँबाट फलेका जुनारका रुख ल्याएर रोपिएका थिए रे । राजा हिँडेको केहीबेरमै जुनार त के रुखका पातसमेत उडाए रे । त्यसलाई त्यस क्षेत्रको रमाइलो घटनाका रूपमा सबैले बताउँदा रहेछन् ।

रामेछापबाट मन्थलीमा सदरमुकाम सार्नुपर्ने त्यस्तो खासै कारण केही देखिएन । तामाकोसीका किनारको खोँचमा रहेको मन्थली बजारमा पनि बस्ती विस्तार गर्न सकिने समथर ठाउँ छैन । नवराज सुवेदीले शक्ति प्रयोग गरेर सदरमुकाम सारेको भन्दारहेछन् । सदरमुकाम सारेकामा रामेछापबासी अहिलेसम्म पनि उति खुसी रहेनछन् । रामेछापलाई निर्माणकारीभन्दा बढी विनिर्माणकारीको अधिक बसोबास रहेको ठाउँ भनिँदो रहेछ ।

रामेछापको सङ्क्षिप्त अध्ययन भ्रमणपश्चात् हाम्रो यात्रा मन्थलीतिरै मोडियो । रामेछाप उद्योग वाणिज्य सङ्घले मन्थलीमा मेरो विशेष सम्मान र जन्मोत्सव मनाउने कार्यक्रम आयोजना गरेको रहेछ । सङ्घका कार्यकारी अधिकृत नवीन केसी, सङ्घकी कर्मचारी सङ्गीता श्रेष्ठलगायतले रातो टीका, खादा लगाएर सम्मान गरे भने उद्योग वाणिज्य सङ्घका अध्यक्ष केशवप्रसाद घिमिरेले विशेष प्रकारको मायाको चिनोका साथ सम्मान गरे । हामीलाई छिटै काठमाडौँ फर्कनु थियो । ईश्वर चौहान पूर्वतिर लाग्ने भनी त्यहीँ बसे । हामी सबैसँग बिदा भएर पहिले गएको भन्दा अर्कै बाटो मन्थलीदेखि खुर्कोट जाने पुष्पलाल मार्गबाट काठमाडौँतिर लाग्यौँ । त्यतातिरको धेरजसो बाटो पिच रहेछ ।

हामीसँग रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्षका भतिजा सौगात घिमिरे सँगै आए । काठमाडौँमा पढ्दै गरेका उनी निकै भलाद्मी रहेछन् । हामी बेनीमा एकछिन ओर्लिएर बेनीको लामो झोलुङ्गे पुल तरी नदीपारि रहेको नर्मदेश्वर महादेवको मन्दिरतर्फ लाग्यौँ । पुलपारिबाट मन्दिरसम्म जाने सिँढी बनाइएको रहेछ । हामीले नर्मदेश्वर महादेव र त्यहाँ रहेका अन्य देवदेवीको दर्शन ग¥यौँ । मन्दिर परिसरमै ठिङ्ग उभिएर निकै फैलिएको बुढो चोआको रुखमा एउटा पात र पाँचओटा फूल थिए । ती फूल गन्दागन्दै एउटा फूल मेरै टाउकामा खस्यो । त्यसलाई देवताकै प्रसादका रूपमा ग्रहण गरियो । वासनादार फूल फुल्ने त्यो चोआ पूरै फुलेका बेला अवश्य नै निकै सुन्दर देखिने ठानियो ।

त्यहाँबाट सुनकोसी र तामाकोसीको सङ्लो पानी सलल बगेको निकै मनोरम दृश्य, बिपी राजमार्गमा गाडी गुडेको दृश्यलगायत वारिपारिका डाँडाकाँडा सब देखिँदो रहेछ । सुनकोसी र तामाकोसीको सङ्गमस्थललाई दोभान नभनी त्रिवेणी भनिंदो रहेछ । अलि माथिको रोसीलाई समेत जोडेर त्यसो भनिएको हो कि ? यो ठाउँ निकै रमणीय लाग्यो ।

देवदेवीको दर्शन र प्राकृतिक दृश्यावलोकन सकेर हामी झोलुङ्गे पुलतिरै फर्कियौँ । पुलनजिकै उभिएको बुढो तित्रीको रुखमा लटरम्मै तित्री फलेका थिए । रुख ठूलो र अप्ठ्यारा ठाउँमा भएकाले रुख चढेर टिप्ने अवस्था थिएन, झरेका खाने अवस्था मात्र थियो तर त्यतातिर लागिएन ।
हामी पुलबाट नदीको कन्चन पानी र बगर हेर्दै अनि सावधानीपूर्वक फोटा खिच्दै अगि बढ्यौँ । पुलमुनि बगरमा रहेको सिमलको रुख बढेर पुलमाथि पुगिसकेछ । त्यसले दुघर्टना निम्त्याउने हो कि भन्ने चिन्ता लाग्यो । अहिलेका टिकटके ठेउकाठेउकीले टिकटक बनाउँदा लडेर ज्यान जोखिम हुने सम्भावना देखिएकाले यो रुख काट्नु उपयुक्त ठानियो । रुख काट्नु त राम्रो होइन तर त्यो रुख राख्नु झनै नराम्रो देखियो… ।

हामी खुर्काेटबाट काठमाडौँतिर मोडियौँ । बीचबीचमा अनेक ठाउँमा चेकिङ हुँदोरहेछ । हाम्रा चालक भाइ बेलाबेला ‘ट्यामकाट लिनुपर्छ’ भन्दै ओर्लन्थे । काठमाडौँबाट जाँदा पनि त्यसै भन्थे । सुरुसुरुमा त के भनेको भन्ने बुझिएन । निकै पछि मात्र टाइम कार्डलाई उनी ट्यामकाट भन्दा रहेछन् भन्ने थाहा भो । पहिले कुरा नबुझ्दा एकपटक हाँसियो भने पछि कुरा बुझेपछि तीनपटक हाँसियो तर हामी हाँसेको कारण उनले बुझेनन् । चालक भीम लामा निकै रमाइला रहेछन् । हामी ऐनेभिर पार गर्दै अगि बढ्यौँ । बाटो खासै जाम नभएकाले सुस्त गतिमा आउँदा पनि छिटै नै डाँडो काटियो । सौगात भाइ सल्लाघारीमा ओर्लिए । हामी आठ बज्नै लाग्दा गृह प्रवेश ग¥यौँ ।

यसपटकको यात्रा खासै लामो नभए पनि मन्थलीमा देखिएको तीन लालको बेहाल र बिपीको बिरूप अवस्थाका दृश्यबाहेक अन्य सन्दर्भमा निकै रमाइलो अनुभूत गरियो । अनौपचारिक पारिवारिक यात्रा भन्दाभन्दै पनि धार्मिक पर्यटकीय हुँदै औपचारिकसम्म बन्नपुग्यो । कतिपयले जन्मदिन मनाउन त्यता गएको भन्ठानेछन् तर कुरा त्यस्तो थिएन । जन्मदिन त त्यहीँ पुगेपछि अरूले मनाइदिएको मात्र हो । यति सुन्दर भ्रमणको चाँजोपाँजो मिलाउने मेरा प्रिय शिष्य नवीन केसी र घरमै आएर उहीँसम्मको यात्रा गराउने प्रिय शिष्य ईश्वर चौहानलाई हार्दिक धन्यवाद ।

मेरा सम्पत्ति भनेकै विद्यार्थी हुन् । पहिले मन्थलीमा बसेका मेरा शिष्य ईश्वर चौहान र धेरै वर्षअगिदेखि अहिलेसम्म मन्थलीमा बसेका अर्का शिष्य नवीन केसी दुवैले त्यस क्षेत्रमा धेरैलाई रिझाएर राम्रो प्रभाव पारेको देख्दा–सुन्दा मेरो मन हर्षले गदगद भएको छ । सबैको कल्याण होस् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }