२२ चैत, काठमाडौं । आगामी चैत २९ देखि वैशाख ४ गतेसम्म खोटाङका ५३ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा ७११ वटा खोप केन्द्र निर्धारण गरेर एकैसाथ १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको हो ।
टाइफाइड रोगको सङ्क्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको नीतिअनुसार जिल्लाका दशवटै स्थानीय तहमा एकैसाथ खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । “टाइफाइड रोगको सङ्क्रमण सबै उमेर समूहमा हुन्छ, तर १५ वर्षमुनिका बालबालिकामा ११ गुणा बढी हुने एक अध्ययनले देखाएको छ”, उहाँले भन्नुभयो, “सरकारको नीतिअनुसार सञ्चालन गर्न लागिएको टाइफाइडविरुद्धको खोप अभियान सफल पार्न जिल्लाका सबै संयन्त्र परिचालन गरिएको छ ।”
टाइफाइड रोगविरुद्धको खोप अभियानअन्तर्गत सोमबार जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षा निकाय तथा पत्रकारसँग स्वास्थ्य कार्यालयले अन्तक्र्रिया गरेको छ । अन्तक्र्रियामा सहभागी जिल्लास्थित सबै सरोकारवाला व्यक्ति तथा निकायले टाइफाइडविरुद्धको खोप अभियान सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
