सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काभ्रेमा एकल महिला र विधुरलाई मासिक भत्ता वितरण


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २८, २०७८
  • 548
    SHARES

२८ चैत, काठमाडौं । यहाँका दुई स्थानीय तहले एकल महिला तथा विधुर (एकल पुरुष)लाई समाजिक सुरक्षा भत्ता वितरण थालेका छन् । दुवै तहले चैतदेखि लक्षित वर्गलाई रु दुई हजारका दरले मासिक भत्ता दिइने जनाएका छन् ।

पनौती नगरपालिकाले मासिक भत्तास्वरुप एकल महिलालाई दिइसकेको छ । पैंतीस वर्ष नाघेका अविवाहित, सम्बन्ध विच्छेद भएका र पति बेपत्ता भएका महिलालाई मासिक रु दुई हजारका दरले भत्ता प्रदान गर्न थालिएको नगर कार्यालयले जनाएको हो ।

नगरबाट मासिकरुपमा विशेष सामाजिक सुरक्षा भत्ता व्यवस्थापन गरी एकल महिलालाई चैतदेखि भत्ता दिन थालिएको उपप्रमुख गीता बञ्जाराले बताउनुभयो । उहाँका अनुसार विभिन्न कारण एकल महिलाका रुपमा रहेका नगरका १९३ महिलालाई वडास्तरबाटै भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको हो । “दैनिक गुजारा गर्न अप्ठ्यारोमा परेका एकल महिलालाई भत्ता दिन थालेका हौँ”, बञ्जाराले भन्नुभयो ।

पनौतीमा अविवाहित महिला १४९ हुनुहुन्छ भने सम्बन्ध विच्छेद भएका २० र पति बेपत्ता भएका २४ महिला हुनुहुन्छ । वितरित रु दुई हजारले दैनिक गुजारा गर्न सहयोगी बन्ने अपेक्षा गरिएको बञ्जाराले बताउनुभयो । नगर उपप्रमुख बञ्जारा आफैँ अविवाहिता महिला हुनुहुन्छ ।

यस्तै तेमाल गाउँपालिकाले विधुर (एकल पुरुष)लाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । पालिकाको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेटअनुसार विधुर भत्ता कार्यक्रम कार्यान्वयन गर्न लागिएको गाउँपालिकाको सामाजिक शाखाले जनाएको छ ।

यस कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा ११० पुरुषले मासिक रु दुई हजार सामाजिक सुरक्षा भत्ता पाउने भएका हुन् । “एकल पुरुषलाई पनि सहायता आवश्यक रहेको देखिएपछि यस्तो निर्णय गरेका थियौँ”, पालिका प्रमुख सलामसिंह तामाङले भन्नुभयो । उहाँका अनुसार चैतदेखि भत्ता वितरण गर्ने योजनाअनुसार यही हप्ता भत्ता दिने कार्यक्रम गरिनेछ ।

उक्त गाउँपालिकाका एकल पुरुषले सामाजिक सुरक्षाभत्ता वितरणसम्बन्धी बनेको कार्यविधि–२०७८ को दफा ३ बमोजिम भत्ता पाउने भएका हुन् । पत्नी बितेका तथा अविवाहित ६० देखि ७० वर्षसम्मका पुरुषले विधुर एवं एकल पुरुष सामाजिक सुरक्षा भत्ता पाउने कार्यविधिमा उल्लेख गरिएको छ ।

कार्यविधिअनुसार यसअघि सम्पूर्ण वडा कार्यालयमार्फत विधुरमा सूचीकृत पुरुषलाई भत्ता वितरण गर्न लागिएको हो । सङ्घीय सरकारले दलित बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ६५ वर्ष नाघेका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)