रसुवा ,२ वैशाख
रसुवामा कृषि गणनाको तयारी सुरु पुरा भएको छ । बैशाख ६ गतेदेखि सञ्चालन हुन लागेको कृषि गणनाको तयारी पुराभएको जिल्ला कृषिगणना कार्यालय रसुवाका प्रमुख प्रेम नेपालले माउण्टेन खवरलाई बताउनुभयो । तथ्यांक संकलन कार्य जेठ १९ गतेसम्म सञ्चालन हुने छ । जिल्लामा यही चैत १ गते कार्यालयको स्थापना गरिएको थियो ।
यस गणनामा घर परिवारले गरेको कृषि कार्य, संस्थागत कृषि कार्य र वडागत सामुदायिक कृषिसम्बन्धी क्रियाकलाप समावेश गरिने छ । यसका लागि रसुवामा ६ जना सुपरीवेक्षक र २३ गणक खटिने छन् ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नेपालमा रहेका ६८ लाख घरपरिवारमध्ये ४१ लाख घरपरिवार कृषिमा छन् । यही तथ्यांकलाई आधार मानेर ३ लाख ५० हजार कृषक परिवार छनोट गरेर गणना गर्न लागिएको छ । नेपालका ७५३ स्थानीय तहका १३ हजार ५७८ गणना क्षेत्रहरूबाट ३ लाख ५० हजार कृषक परिवार छनोट गरिएको हो ।
नेपालमा २०१८ सालदेखि कृषि गणना हुँदै आएको छ । कृषि गणना हरेक १०÷१० वर्षमा हुँदै आएको छ ।
