सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जीवनयात्रा ( घाउ आँफैँलाई दुख्छ बाट )


  • गोपी मैनाली
  • शुक्रबार, बैशाख २३, २०७९
  • 654
    SHARES

जीवनयात्रा

यात्रा तय गरिँदैन, जारी गरिन्छ । जीवनरुपी यात्रा विनातालिका र तयारी कुद्छ । यात्रा लेखिएजस्तो र देखिएजस्तो हुँदैन । स्वाधीन र मौलिक सङ्घर्षका रूपमा रहन्छ ।

अविरल यात्रामा कुदिरहेछ जीवन । पाइतालाका रेखा चट्टानका संसर्गमा कतिपटक रगताम्मे र खस्रा भए र अब त मेटिइसके । हातले छाम्दा पनि आना हो कि होइन भन्ने भेउ पाउन सकिँदैन । तिनै पाइताला सबैभन्दा दुख गर्ने अङ्ग न हुन जीवनयात्राका । सबैभन्दा पुछारमा छ पाइताला । पुछारमा हुनुको अर्थ आधार हुनु हो– सुरु हुनु पनि हो । पुछारमा हुनुको अर्थ कर्मशील हुनु पनि हो । पाइताला छन् र पो जीवन छ ।

पाइतालाले यात्रा मार्ग तय गरेको हो । सङ्घर्षका पाइला अगि बढाउँछ, हिउ, मरुभूमि, जङ्गल, पहरा, समथर जहाँ होस्– अगि बढ्नुको नाम पाइताला हो । पाइताला अगि बढेर न जीवन गतिवान् भएको हो । उसका चोट, भोगेका पीडा मस्तिष्कसम्म नपुगेको होइनन् तर पनि हिँड्नु र जीवनलाई गति दिनुको विकल्प छैन । उसका एकएक पाइलाले नै लक्ष्यको सगरमाथा चुमाउने, शिखर पु¥याउने हो ।

यात्रा सङ्घर्ष हो । सुखका यात्रा भविष्यका लागि इतिहास बनेका छैनन् । सङ्घर्षमय अविराम यात्रा आउँदा दिन, आउँदा पुस्ता अनि सबै जातिप्रजातिका ऊर्जा अनि उत्साह हुन् । सङ्घर्षको यात्रा मौलिक हुन्छ । मौलिक हुनु सङ्घर्षको विशेषता हो । कसैकोजस्तो हिँडाइ यात्रा होइन । कसैकोजस्तो सिकाइ यात्रा होइन । अरूकोजस्तो भोगाइ पनि यात्रा होइन । आनै शैलीको यात्रामा मानिस अविराम दौडिरहेको छ । बाधा, विरोध र अवरोध पन्छ्याउँदै दौडिरहेको छ । अगि बढ्नुको अर्को नाम यात्रा हो । यात्रा टुङ्गिँदैन, जीवन्त हुन्छ । जीवन टुङ्ग्यो त यात्रा टुङ्गिन्छ । अझ भनौं, यात्रा टुङ्गिएपछि जीवन टुङ्गिन्छ ।

पाइतालाहरूले दर्शनढुङ्गाका चुच्चे धारसँग मितेरी लगाइसके । अब नाङ्गा पाइताला दुख्दैनन् । रोशी खोलाको वर्षे भेलले कति लडायो, रातमाटे र धारेको ठाडे उकालोले जेठ–असारको गर्मीमा कति पोल्यो । निधारबाट पसिनाका तप्केनी कति तप्के । खाली पेटमा कुन उत्साहले भन्ज्याङ चौतारीमा पीपलका पात बजाउँदै आएको हावामा एकपटक खुइय्य गर्दा स्वर्गीय आनन्द लिँदै अविराम पाइला पहाड उक्लिन्छ, उक्लिँदै जान्छ । नथाक्नु उसको कर्म हो ।

सङ्घर्ष भएकाले यात्रामा साथ भएन । अक्सर यात्रामा साथी नहुनु सत्य हो । यात्रामा कसैलाई दिन केही हुँदैन , त्यसैले साथ हुने कुरा भएन । छिमेकी, सम्बन्धी, साथी कोही भएनन् । सफलता प्राप्तिपछि न साथ हुने हो । मनको एक कुनामा फगत आमाका आशीर्वाद यात्राका ऊर्जा थिए । न यात्राको गन्तव्य थियो, न यात्रा रोकिएको नै थियो ।

यात्रा रमाइलो थिएन, सङ्घर्ष रमाइलो हुने कुरै भएन तर आत्मिक रुपमा गौरवपूर्ण थियो । उत्सर्ग, उत्साह र दुखीसुखको अनुभूति थियो– जसले यात्रालाई अनन्त ऊर्जा दिइरह्यो । जसले लर्खरिएका पाइला, थरर्र कामेका पिँडुला, थाकेको मन र थङ्थिलिएको शरीरलाई रोशी, रुम्टी, रातमाटे, भन्ज्याङ, भुमेडाँडा, कानपुर, फूलपातीभन्ज्याङ, देवीथान हुँदै सपनाको सगरमाथा ज्ञानेश्वरसम्म अविराम तान्दै ल्यायो ।

प्रत्येक पल अनि पाइला कति जोखिमपूर्ण र खतरनाक थिए ! (मोन्टाज पल्टाउँदा पनि आङ सिरिङ्ग हुन्छ) । तैपनि यात्राको धिपधिपे निभेन, र यात्रा अगि बढिरह्यो । लाग्छ– धेरैपटक पहिल्यै जीवन गुमिसकेको हुनुपर्ने । कति जोखिम र कहालीलाग्दो यात्रा । पातलको बाटोमा चितुवाले चिथोरेको भए पनि सकिन्थ्यो, रोशीले बगाएको भए पनि सकिन्थ्यो, रूखको टुप्पाबाट लडेको भए पनि सकिन्थ्यो, भीरबाट ढुन्मुनिएको भए पनि सकिन्थ्यो, द्वन्द्वकारीले नछाडेको भए पनि सकिन्थ्यो, अरू धेरै जोखिम र विपद्बाट सकिन्थ्यो । लाग्छ बाँकी जीवन अनि यात्रा सबै नाफाको हो । यसले भावी यात्रालाई झनै ऊर्जा दिएको छ ।

जीवन यात्रा कुनै सरल रेखा रहेनछ । प्रत्येक मोड र घुम्तीमा यात्राका अव्यक्त गन्तव्य बदलिएर जिक्ज्याग बने । रेखाहरू जिक्ज्याक मात्र होइन– धुमिल र अस्पष्ट पनि देखिए । दुखको यात्रा कुनै सूत्र र संरचनामा हिँडेन । न सूत्र र संरचना खोज्ने फुर्सद नै भेटियो । न त्यसको चेत नै थियो । यात्राका परिणाम पनि सूत्रका योगफलजस्ता भएनन् । त्यसो नहुनु नै जीवन यात्राका ऊर्जा अनि आत्मिक शक्ति थिए । गन्तव्य पहिल्यै निर्धारण हुँदो हो– यात्राको तिथिमिति तोकिएको हुँदो हो त यात्रा कति यान्त्रिक र बेस्वादिलो हुने थियो ? न जीवनले सङ्घर्ष गथ्र्यो, न थप स्वाद नै लिन पाउँथ्यो । न उत्सर्ग न सङ्घर्ष, न जीवनको महङ्खव नै हुने थियो ।

यात्रामा सफलताको आरिस अनि ईष्र्या हुन्छ । आफन्त र साथीसँगातीहरू ईष्र्यामा छन्, चिनेका व्यक्ति अमिला मनमा छन् । प्रत्येक मनहरू ईष्र्यालु छन् । चिनिएका मन झनै ईष्र्यालु छन् । सफलतामा बधाइ दिने धेरै मन अमिला थिए । उन्मुक्त थिएनन्, खुम्चिएका थिए । आमा र गुरुकोजस्तो निःस्वार्थ थिएनन् । खुम्चिएका अमिला मन स्वयम् उनीहरूका यात्राका अवरोधक हुन् भन्ने चेतना ती मनलाई हुँदो हो त समाज कति सपाट हुने थियो । ‘किन चाउरिस् मरिच आनै पिरले’ भनेझैँ अरूको सफलतामा ईष्र्या गर्नेहरू चाउरिन्छन् तर असफलतामा तिनै मन दयाका भीख दिन पछि पर्दैनन् । नखुलेका मन यात्रालाई साँचो शुभकामना भन्न सक्तैनन् ।

क्षमतावान्लाई ईष्र्या र निर्धालाई घृणा गर्नु मानव मूल्य होइन । इतिहास साछी छ– सफलतामा ईष्र्या र असफलतामा हेय गर्दा मानव सभ्यता साँघुरिएको छ तर सङ्घर्षशील यात्री साँघुरा मन र देखावटी शुभकामनाको पर्वाह गर्दैन । फगत ऊ यात्री हो । नोजी हुनु, अरूजस्तो बन्नु उसलाई फुर्सद पनि छैन । अविराम ऊ हिँडिरहन्छ । अनन्त क्षितिज अनि फराकिलो आकाश हेरेर । यात्रा यसरी नै फराकिनुपर्छ । सकेजति फराकिनु यात्राको वैशिष्ट्य हो ।

स्वैरकल्पनाको स्वाद पिएर यात्रा अगि बढ्दैन । कोठामा एक्लै रमाउने, स्वच्छन्दतामा बयेलिने मानचित्र पनि यात्रा होइन । यात्रा अनन्त साहसले हुन्छ । जर्जर बाटोमा झन्डै ढुङ्गा बनिसकेका खस्रा पाइताला टेक्दै, दूषित वायुमण्डलमा आँसु झार्दै दृष्टि गर्ने आँखाबाट यात्रा अगि बढ्छ, रगत र पसिनाले यात्रा अगि बढ्छ । अभाव र आवश्यकता पूरा गर्न पहिला पसिनाले धर्ती भिजाउने शक्तिले यात्रा भर्छ । कठाङ्ग्रिने जाडोमा साहसको रापले यात्रा अगि बढ्छ । चाँदीका थालमा सुनको चम्चाले खानेहरू यात्रामा अगि बढ्दैनन् । यात्राले उत्पादन गरेका खोज, विचार र उपलब्धिको भोग गर्नु उनीहरूको चाख अनि चर्या हो । उनीहरू जीवनको स्वाद नै भुलिरहेका हुन्छन् । सङ्घर्षका यात्री उपलब्धिको भोग गर्दैनन्, वितरण गर्दछन् । त्यसैमा यात्रा खुसी हुन्छ । दुखमा पनि खुसी हुन्छ ।

सच्चा यात्रीहरू जीवन सङ्घर्षमै रमाएका हुन्छन् । असल सोच, कर्म र व्यवहारबाट समाजको विवेकशील विनिर्माण गर्नु उनीहरूको कर्म हो । उनीहरू कसैका प्रतियोगी बन्दैनन् । अमिला मनको औपचारिक शुभशब्दमा ध्यान दिँदैनन् । कति मन त प्रतिष्ठाका ईष्र्यामा परिश्रमीको प्राप्तिलाई इग्नोर गर्न पुग्छन् । जसको जति छ– त्यही देखिने हो अनि जति कर्म गर्छ– त्यति व्यवहारमा आउने हो भन्ने चेतले नै कर्म सिद्धि गर्छ ।

पौरखी परिश्रमलाई प्रोत्साहन गरेर नै सिर्जनाको यात्रा अगि बढ्ने हो । त्यसैले फराकिलो मन, उदात्त भावना र सिर्जनाको कर्म यात्राका प्रस्थानबिन्दु हुन् । परिश्रमी यात्रा न जीवनमा प्रतिष्ठा माग्छ, न मृत्युपछिको प्रशंसा । सुख होइन– सिद्धि खोज्छ । फगत कर्म, समर्पण र सङ्घर्ष उसको यात्रा हुन्छ । जति नै जर्जर र सङ्घर्षपूर्ण भए पनि अन्तिम बिन्दुसम्म यात्रा अविराम हुन्छ । यात्रा सकिएको त उसलाई पत्तै हुँदैन ।

-गोपी मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }