सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

महान् मानिस ( घाउ आँफैँलाई दुख्छ बाट )


  • गोपी मैनाली
  • शुक्रबार, बैशाख ३०, २०७९
  • 876
    SHARES

महान् मानिस

चाहेरमात्र महान् बन्न सकिँदैन । महान् बन्ने सिद्धान्त र सूत्र आविष्कार पनि भएको छैन तर पनि मानिस महान् बन्छ । मानिसहरू महान् बन्न खोज्छन् तर महान् बनाइँदैन, आफैं बन्छ । चाहेर होइन– कर्र्मले महान् बन्छ । न अरू कसैले कोहीलाई चाहेरै महान् बनाउन सक्छ । महान् मानिस कस्तो हुन्छ, उसका विशेषता र कार्य केकस्ता हुन्छन्– यो चासोको विषय हो तर असल व्यक्तिले गरिसकेका काम र त्यसले छाडेका छापका आधारमा मात्र महान् मानिस यस्तो हो वा यस्ता गुण हुन्छन् भन्ने आँकलन गर्न सकिन्छ ।

महानहरू विवेकशील हुन्छन् । अरूको दुख, पीडा र अनुभूतिलाई ।आफ्नो बनाउने सामथ्र्यले कसैलाई महान् बनाउँछ । अरूको दुखपीडा आफ्ना अनुभूतिमा लिने, अन्तर्बोध गर्ने स्वभाव र सामथ्र्य महानमा हुन्छ । विवेकी मानिस सामान्य शब्दबाट पनि अरूमा आघात पुग्ला कि भन्ने सोच विचारमा हुन्छन् । अरूलाई आघात पु¥याउनु हिंसा सम्झिन्छन् । कम बोल्छन्, धेरै गर्छन् । जति गर्छन्– ठीकमात्र गर्छन् । त्यसैले महान् सधैं विवेकी हुन्छ । हरेक कामकुरा गर्नुअगि अन्तरात्माको स्वीकृति वा विवेकको अनुमति लिन्छन् । महान् व्यक्ति हौसिँदैन, हतारिँदैन, दुखमा मातिँदैन अनि सुखमा आत्तिँदैन । आत्मनादको झङ्कारले रमाउँछ । उसका लागि सत्कर्म मनोरञ्जन हो । केही राम्रा काम गर्न पाउँदा ऊ सधैं रमाउने गर्छ र आनन्दको श्वास फेर्छ ।

महान् व्यक्ति विद्वान् हुन्छ । ज्ञान आर्जनको भोकमा हुन्छ । उसलाई थाहा छ, ज्ञान पुस्तकबाट, जीवनबाट र आफ्नै भोगाइबाट प्राप्त हुन्छ । अक्षर नजानोस् तर जीवन जान्दछ । आफूलाई जान्दछ र समाज अनि समस्त चराचरलाई जान्दछ । जीवन र जगत् बुझेको हुनाले नै ऊ महान् बनेको हो । अक्षर त सबैले पढेकै हुन् । अक्षर चित्रहरू हुन् । चित्रलाई बुझ्नेले अनन्त भावमा बुझ्छ, नबुझेकाले आकार पढ्छ । आकारले मन र मस्तिष्कभन्दा आँखालाई (दृश्य) स्वाद दिन्छ । बुझ्नेहरू चित्रमा भाव, प्रतिभाव, जीवन, अनुभूति, आविष्कार, सङ्घर्ष, सौन्दर्य, शक्ति, परोपकार लगायत सबै देख्छन् । त्यसैले बुझ्नेहरू अक्षरमार्फत ब्रह्माण्डमा पस्छन् । अथाह ज्ञानमा डुबुल्की मार्छन् । सिर्जनाका शक्ति कमाउँछन् ।

अक्षरले विद्या दिन्छ, विद्याले विनय दिन्छ । विनय विवेकको आधार हो । महानहरूले अक्षर कम पढे होलान् तर विद्या धेरै लिएर विवेकी बने । लि क्वान यूले विद्यार्थीलाई ‘थोरै पढाउ, धेरै बुझाऊ’ भनेका थिए । राष्ट्रनिर्माणका लागि धेरै पढेका भन्दा बुझेका मानिसको महत्व उनले बुझेका थिए । सीप, सिर्जना र इमानको महङ्खव बुझेका थिए । धेरै पढेर थोरै बुझ्नु महान्ता होइन– थोरै पढेर धेरै गहिरिनु महान्ता हो । अक्षरका महाविद्यावारिधि ज्ञानलाई व्यङ्ग्य गर्न सक्छ । विनयशील विवेकीहरू विनाअक्षर, अझ भनौं व्यवहारका विद्यावारिधि हुन् । महानहरू दम्भी हुँदैनन् । अक्सर दम्भीहरू शक्ति, सम्पत्ति, रुप, उमेर अनि अवसरमा रमाउँछन् ।

यी कुरा पाउनका लागि कसैको अनुचर बन्ने गर्छन् रमाउँछन् । दम्भले द्वेष जन्माउँछ । दम्भले विवेकलाई भस्म पार्छ र उन्माद, अहम् अनि अट्टहासमा पु¥याउँछ । अभिमानले मानिसलाई उठ्न दिँदैन, स्वाभिमानले ढल्न दिँदैन । दम्भ शमन गर्न नसक्नेहरू उठ्न सक्दैनन्, उठिहाले भने पनि तासको घरझैँ ढल्न बेर लाग्दैन । त्यसैले कहिले महान् बन्दैनन् । मोहनदास दम्भी थिएनन्, शालीनता र अहिंसाका पुजारी थिए, त्यसैले महात्मा बने ।

सिद्धार्थ गौतम विनय र कर्मका हिमायती थिए, त्यसैले बुद्ध बने । स्टिभ्स जभ्स दम्भी थिएनन्, कर्म र पसिनाका पुजारी थिए । सङ्घर्ष र बलिदानीमा ख्याउटे बनेका अब्राहम अनि मन्डेला दम्भी थिएनन् र पो राजनेता बने । युगयुगका राजनेता । दम्भीहरू बल र अनुचरमा रमाउँछन् । महान्हरू अनुयायी कमाउँछन् । अनुचर अस्थायी हुन्छन्– शक्ति, पद, पैसा, रूप आदिका । अनुयायी अनन्त रहन्छन् । अनुचरमा आग्रह हुन्छ, अनुयायी आत्मनादमा रमाउँछन् । संसारको विवेकशील पुनःनिर्माणमा रमाउँछन् ।

महान््हरू पदमा रमाउँदैनन् । पदका भोका हुँदैनन् । महात्मा गान्धी पदविनै महात्मा बनेथे, न पदको राप न शक्तिको ताप । पदका मानिस अक्सर आफूलाई उचो देख्छन् । उचो भएको भ्रममा बाँच्छन् । पदको अहम् र शक्तिको उन्मादले उचाइको भ्रम दिन्छ । महानहरू सधैं धरातलमा उभिन्छन् र अरूको नजरमा उचो हुन्छन् । उचाइको माग आफैं गर्नेहरू उन्मादी कहलाइन्छन्, शक्तिअन्ध कहलाइन्छन् । धर्तीबाट ठडिएको सगरमाथा आनो धरातल होचो धर्तीलाई सम्झन्छ । आनो वास्तविकता आफैं बुझ्छ । धर्तीमा उभिएका व्यक्तिले भने सगरमाथाको उचाइ र शालीनता आफैं बुझ्छन् तर सगरमाथा कहिल्यै भुल्दैन– म त्यहीं उभिएको छु अनि पग्लिएर त्यही पोखिन्छु ।

महान् हुनु क्षमाशीलता पनि हो । कमीकमजोरी हुनु मानवीय स्वभाव हो । कसैको गल्ती कमजोरीप्रति बदलाभाव राख्नु महानहरूको आचरण होइन । प्रतिशोध साध्नु उसको धर्म होइन । महानहरू क्षमा र त्यागका उदहारण हुन् । बदलाभाव, ईष्र्या र कुण्ठाको विष पिउनेले आफूलाई महान् घोषित गर्न सक्छ तर त्यही ईष्र्या र कुण्ठाका सिकार बनेको व्यक्तिले उसलाई क्षमादान दिएर महान्ता प्रदर्शन गर्न सक्छ । गोरा शासकबाट दसौं वर्ष जेल यातना पाएका नेल्सन मन्डेला गोरा शासकलाई माफी दिई महान् बने ।

मन्डेलालाई थाहा थियो, जेल–जीवनको पीडा कति कष्टप्रद हुन्छ । सादगी किशुनजी चुनाव हार्दा हराउनेप्रति नै उदार थिए । महानहरू दुखको प्रत्यारोपणबाट सुख खोज्दैनन्, क्षमा दिएर खुसी हुन्छन् । दुखको अनुभूति हुनेले दुखको प्रत्यारोपण गर्दैनन् । परपीडकहरू अरूको दुखमा रमाउँछन् । क्षमताहीनहरू क्षणिक तुष्टिका लागि परपीडा दिन्छन् तर भित्रभित्रै छटपटी र पिल्साइमा हुन्छन् । त्यसलाई दमन गर्न नसक्दा अपराधका शृङ्खलामा पुग्छन् । महानहरू अरूको सुखमा खुसी हुन्छन् । शिवि र दधिचि महान् बने भने व्याधाहरू सिकार गरेर परपीडामा रमाए ।

महानहरूको शक्ति निष्ठा, नैतिकता र इमान हो । उनीहरू कर्मको आचरणले मानवताको पूजा गर्छन् । र समस्त जीवप्रति जिम्मेवार बन्छन् । महान्हरू जे गर्छन्– स्वार्थहीन गर्छन् । स्वार्थहीनहरू सदाचारी हुन्छन् । परिश्रम र पसिनाले बाँच्छन् । दुराचारी र इमान नभएका व्यक्ति पनि अरूसामु आदर्शको उपदेश दिन्छन् तर नैतिक शक्ति गुमाएका व्यक्तिमा आदर्श बन्ने साहस हुँदैन । इमानीहरू शक्ति, सम्पत्ति, पद र अवसर गुमे पनि निष्ठा र नीतिसँग सम्झौता गर्दैनन् । नैतिक शक्ति असत्यसँग पराजित होला तर सत्य डग्दैन ।

थोरै महानहरूकै बलिदानी र सत्कर्मबाट मानव समाज आजको स्थानमा आइपुगेको हो । महानहरू असत्यसँग हार्दा पनि संयमित हुन्छन्, निरन्तर कर्म उनीहरूको निष्ठा हो तर प्राप्तिको अपेक्षा कसैबाट गर्दैनन् । उनीहरू लिनभन्दा पनि दिन जन्मिएका हुन् । जित्ने असत्य पनि हार्ने सत्यसँग डराएको हुन्छ, आत्मिक रूपमा असुरक्षित अनि कुण्ठित हुन्छ । अनि षड्यन्त्रको शकुनीजाल रच्ने गर्छ तर निष्ठा र नैतिकताका आत्मिक शक्तिले इमानीहरू महान्ताको यात्रामा अविचलित हुन्छन् ।

महान््हरू अरूको खुसी र प्रगतिमा आनन्द मान्छन् । पद, प्रतिष्ठा र अवसरको चोरी गर्दैनन् । अरूको सफलतामा आनन्दित हुन्छन् । क्षमताले नै जिम्मेवारी पाउने विश्वासमा रहन्छन् । पदलाई अवसर होइन– कर्तव्य र जिम्मेवारीका रूपमा लिन्छन् । जिम्मेवारीका खुट्किला चढ्दै जाँदा वैयक्तिक स्वार्थहरू छाड्दै जान्छन् । जस अरूलाई दिन्छन् र अपजसको भारी आफैं बोक्छन् । सहयोगी बन्नु उनीहरूको स्वभाव हो । र चरित्रार्थ गर्छन्– भन्छन् सबै सुख भनी सुख त्यो कहाँ छ, आफूलाई मिटाई अरूलाई दिनु जहाँ छ ।

हो– मानिस सृष्टिको महान् सिर्जना । मानिस महान् बन्नै जन्मिएको हो । त्यसो गर्न मानिसलाई सृष्टिले विवेक दिएको छ । विवेक र बुद्धिकै कारण मानिस सृष्टिको सर्वश्रेष्ठ जाति हो तर श्रेष्ठता फगत जन्मले प्रस्टिँदैन । कर्मले नै मानिसलाई महान् बनाउने हो । नीतिले बाटो देखाउने हो– विवेकले आत्मिक प्रेरणा लिने हो । बाटो बिराउनेलाई पनि विवेकीहरू सन्मार्गमा ल्याउने गर्छन् र महान् बन्ने गर्छन् । महान््हरू पद, प्रतिष्ठा र पैसालाई क्षणिक सम्झन्छन् । महानहरू जन्मँदा अरूजस्तै एक्लै हुन्छन्, कर्मले सबैका बन्छन् र अमर हुन्छन् ।

-गोपी मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }