सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नयाँ वर्षको शुभकामना ( घाउ आँफैँलाई दुख्छ बाट )


  • गोपी मैनाली
  • शनिबार, जेष्ठ १४, २०७९
  • 688
    SHARES

नयाँ वर्षको शुभकामना

फेरि नयाँ वर्ष आएको छ । शुभकामना आदानप्रदानको ओइरो लागेको छ । नयाँ वर्ष मनाउनेहरू भिन्नखाले रमाइलोमा व्यस्त छन् । शुभकामनाका शैली फेरिएका छन् । शुभकामनाका लागि समय, स्थान र लागतका अवरोध पनि भत्किएका छन् । प्रविधिले ल्याएको अकल्पनीय उपलब्धिले गोलाद्र्धका कुनालाई निमेषमा जोडेको छ र अब हत्केलामा विश्व खुम्चिएको छ । शुभकामनाका सन्देशले गोलाद्र्धका कुना घुमिरहेका छन् । स्वाद, शैली र स्वभावअनुरुपका शब्द, भाव, उपहार तथा अभिव्यक्तिले साँच्चै नयाँ वर्ष शुभ बनेको छ । यो ‘शुभ’ बनाउने सञ्चार प्रविधिलाई सबैको ‘शुभकामना’ । अनि यस सहस्राब्दीमा प्रविधिको स्वाद लिन सक्षम पुस्तालाई विशेष शुभकामना ।

कल्पनासम्म गर्न सकिँदैन सूचना प्रविधि नभएको भए….. ? एक साताका लागि प्रविधि प्रणाली रोकिएको कल्पना गरौं । एक दशकअगि आफूलाई पु¥याएर कसैले सोचोस् र अहिलेको आफूमा तुलना गरोस् । प्रविधिले धर्तीलाई स्वर्ग बनाइसक्यो । अहिलेको जीवन अभूतपूर्व स्वाद, ंअवसर र आनन्दको उपलब्धि हो । यो अनुभूति र अवसरलाई हत्केलाहत्केलामा पु¥याउने ती वैज्ञानिक खोज, अनुसन्धान, चिन्तन र प्रयत्नलाई पछि फर्केर धन्यवाद दिनै पर्छ– जसको प्रयास र पसिनाले नै यो सबै सम्भव भएको हो । ती खोजकर्ता, अनुसन्धाता र आन्दोलक आनै प्रयत्नको स्वाद लिन पाएका भए कति खुसी हुने थिए होलान् ! महाकवि देवकोटा, कालिदास र शेली भएका भए स्वच्छन्दताको उडान कति भर्थे होलान् !

अब अखबार पढ्न, कविता सुनाउन, माया बाँड्न, आह्वान गर्न, अवसर लिन, आक्रोश पोख्न, अनुभूति बाँड्न अनि अरू धेरै कुरा गर्न हत्केला नै काफी भइसक्यो । शताब्दीअगिको कसैले वर्तमान विश्वलाई फर्केर विचरण गर्न पाए कति स्वर्गीय अनुभूति लिन्थे होला । हाम्रा पुर्खालाई यस शताब्दीको एक दिन भए पनि यस धर्तीमा ओराल्न सके कति स्वर्गीय आनन्द लिने थिए होलान् ? धेरै असम्भवलाई सम्भव तुल्याएको प्रविधिले यसलाई पनि सम्भव तुल्याउन के बेर !

शुभकामनाका कार्यक्रम पनि सामथ्र्य र स्वादमा बाँडिएका छन् । कसैलाई रोदी प्यारो, कोही रेमिक्समा रमाएका छन् । पप–रक, झ्याउरे, अवधि, भोजपुरी आदि । सवा सय भाषा, सवा सय जातिका आआनै स्वाद, शैली र पहिचानमा सबै रमेका छन् । वनजङ्गल, पार्क, नदी किनारा र चोक सहभोजका स्थल बने । कोही मोटर, कोही कार, साइकल, गाडामा नाचगान र केही पैदलमै रमाएका छन् । कोही महङ्गा र कोही सस्ता परिकार अनि साजसज्जामा तर रमाइलो अनुभूति भने समान लाग्छ । रम्न अनि रमाउन आनै स्वाद तथा सामथ्र्य काफी छ । लाग्छ शुभकामनाका यी शैली दुख भुल्ने सजिला माध्यम हुन् । मानिस आफूलाई भुलेपछि नै सुखको अनुभूति गर्छ । आफू भुल्न पनि नयाँ वर्षको शुभकामना जमेको छ । आफू भुल्नुको मजा नै बेग्लै !न तृष्णा, न लालसा न ईष्र्या !

नयाँ वर्ष आउनुको अर्थ क्यालेन्डरका पाना र रङ्ग फेरिनुमा सीमित छैन । यो नयाँ जीवनको सुरुआत पनि हो । अगिल्लो वर्षभरि गरेका कामको विवेचना गरेर आउने वर्षको कार्ययोजना बुन्ने पनि हो । हो– थुप्रै प्रयत्न बाँकी होलान्, वाचा अपूरा होलान् । विफलताको विवेचना र सफलताको समीक्षा गर्ने अवसर पनि हो नयाँ वर्ष । त्यसैले विफलहरू बिरक्तिनु र सफल व्यक्ति हौसिनु हुँदैन भन्ने सन्देश पनि दिएको छ नयाँ वर्षले । यो विशुद्ध नयाँ थालनी हो । नयाँ उत्साह र उन्मेदका साथको नयाँ थालनी । यस थालनीले हिजोलाई सन्दर्भमा राखेर भोलिको यात्रा रचोस् । वसन्तका कलिला मुना र कलिला शुभम्–सुव्रतहरू लक्ष्यका शिखरतिर अगि बढेका छन् । अगि बढ्नुको अर्थ जीवन हो भन्ने प्रकृतिको सन्देश पनि हो नयाँ वर्ष ।

नयाँ वर्षमा रमाउनेहरू विगतमा आफैंले तय गरेको यात्रा भुलिरहेका छन् । कति कठिन सङ्घर्षको उपज हो उसको यो अवस्था । यहाँसम्मको अवस्था समय, प्रकृति, समाज, परिवार र स्वयम् उसले गरेको प्रयत्नको जोड हो । कतिका लागि यो सिसिफसको कथाजस्तै ठूला सपनाको सानो उपलब्धि हो तर यथार्थ यहीं उभिएर उसले भविष्यको अरू सपना रच्नुपर्छ, लहडमा होइन– यथार्थमा रम्नुपर्छ । डराएर होइन– हिम्मतले पाइला अगि बढ्नुपर्छ । हिँड्नेहरू नै शिखरमा पुग्छन्, फेदीमा बसेर शिखर चुम्न सकिँदैन । संसार हिम्मतको उपज हो । सङ्घर्षको परिणाम हो । पलायन र थकावट वज्र्य बनोस् । कुण्ठा र वैरागहरू रित्तिऊन् । यही नै नयाँ वर्षको शुभकामना ।

सक्ने भए मानिसहरू आनै उमेर घटाएर संसारको नयाँ स्वाद लिने थिए, नयाँ वृत्ति लिने थिए । असफलताबाट सिकेर थुप्रै नयाँ गर्ने थिए तर कसैले आफूलाई विगतमा ओराल्न गरेको कल्पना फगत स्वैरकल्पना हो– स्वैरकल्पना साहित्यको मनोलापमा सम्भव छ, यथार्थ यसले उछिन्न सक्तैन । न कोहीले आनै जीवनको अन्तिम गन्तव्य थाहा पाएको छ, न कसैले आनै प्रारब्ध र अन्त्यबोध गर्न पाएको छ । यही यथार्थ र रहस्यको दोसाँधमा जीवन आस्वाद गर्नुको विकल्प छैन । त्यसैले आउने प्रत्येक दिन सबैका लागि अमूल्य छन्, यसलाई सार्थक उपयोग गरेर नै जीवनयात्राले गन्तव्य पाउने हो । अन्यथा पछि पछुताउनुको कुनै अर्थ छैन र जीवनयात्रा सोचेजस्तो ‘सरल रेखा’ समानान्तर पनि हिँड्दैन ।

जतासुकै ‘जिक्ज्याक’, ‘क्रस एक्रस’ उछिनपाछिन, हाँसो–आँसु यसको भोगाइ हो । एकथोक सोच्यो, अर्कै हात लाग्छ । कर्म एउटा, प्राप्ति अर्कै । प्राप्तिमा पनि चिन्तै चिन्ता तर नभुलौं– यही ‘जिक्ज्याक’ हिँडेर नै गन्तव्य पाइने हो । कर्मका पसिनालाई यही यात्रामा सिँचेर नै सफलता पाइने हो तर यो यात्रा र गन्तव्य सबैका लागि लामो अनि कठिन र भयानक डरलाग्दो छ । यसका सम्भावित परिणामको पूर्वाभासविना नै यो कठिन, डरलाग्दो र रहस्यको यात्रा गर्नु छ तर निराश नबनौं– यहाँसम्मको यात्रा जुन उत्साह, अर्थ र साहसबाट तय भएको हो । कर्मका हात, निरन्तरको पाइला, जिज्ञासाका दृष्टि र कहिल्ये नअघाउने तृष्णाले जीवनलाई ‘जीवन’ बनाएको हो ।

हो– कर्ममा डराउनेहरू सफलताको ईष्र्या गर्छन्् । जीवन ईष्र्याका लागि होइन– सहयोग र सद्भावका लागि हो । ईष्र्यालुहरू आफैंमा खुम्चिन्छन् । मरिचझैँ चाउरिन्छन् र साँघुरिन्छन् । कर्मशीलहरू नै सफलताका भागेदार हुन् । अपेक्षाका थाक त्यत्तिकै पूरा हुँदैनन् । नयाँ वर्षले अरूको सफलताबाट आफूहरू उत्साहित हुन समस्तलाई सोच देओस् । सत्कर्म र सदाचारलाई बढावा देओस् । यो नयाँ वर्षले प्रत्येकको खुसीमा अर्कोलाई खुसी बनाओस् । प्रत्येक प्रत्येकप्रति सहिष्णु, जिम्मेवार, सद्भावी बन्ने आन्तरिक प्रेरणा मिलोस् ।

खुम्चिन र साँघुरिन होइन– गुलाफझैँ फक्रक्क फक्रिन सकौं । फिस्स हासेर संसारको मन जित्न सकौं । सबैका शब्द, वाणी तथा कर्म सबैका मन जित्न र सबैको हृदय छुन सकून् । सबै व्यक्ति सकारात्मक बनून् । सबै सिर्जना र मायाका पात्र बनौं । उत्साह र उन्मेद नयाँ होस् । फराकिलो मनभरि सबैले सबैलाई अटाऔं र हत्केलामा खुम्चिएको विश्वलाई मनभरि सजाऔंं । यही नै सबैका लागि, सधैंका लागि शुभकामना ! नयाँ वर्षको शुभकामना !

-गोपी मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }