धनुषा, ५ भदौ । धनुषासहित तराई–मधेशका जिल्लामा पानी नपर्दा किसान चिन्तित बनेका छन् । सिँचाइको अभावमा किसानले लगाएको धानबाली सुक्न थालेको छ । भर्खरै रोपिएको धान खेतमा धाँजा फाटेको छ । खडेरीको मार मै जेनतेन रोपाइँ गरेका किसानको खेतमा धानका बोट हुर्कन पाएका छैनन् ।
पर्याप्त वर्षा नभएपछि भदौ पहिलो सातासम्म पनि केही ठाउँमा रोपाइँ गर्न नपाउँदा ब्याड सुकिसकेको छ । रोपाइँ गरेका धान खेतमा पनि धाँजा फाटेर बोट पहेँलिन थालेका छन् । बोट हलक्क बढ्नुपर्ने बेला सुक्न थालेपछि किसान आकाशतिर हेर्दै दिन काटिरहेका छन् ।
वर्षा हुन नसक्दा किसानले पम्पसेटमा महँगो डिजेल खर्चेर पानी लगाइरहेका छन् । प्रतिलिटर १७३ रुपियाँ ५० पैसाको डिजेल खर्चेर धानमा पानी लगाउनुपरेको क्षीरेश्वरनाथ नगरपालिका–४, हरैयाका किसान दिपो यादवले गुनासो गर्नुभयो । यस वर्ष पर्याप्त वर्षा नहुँदा धान रोप्न र रोपिसकेपछि सिँचाइ गर्न पम्पसेट चलाउनुपरेको यादवले बताउनुभयो ।
“असार र साउन पानी नपरेरै बित्यो, भदौ लागेपछि पनि उही अवस्था छ, बाहिर हेर्दा चैतमा जस्तो खण्डहर देखिन्छ”, यादवले भन्नुभयो, “हामी किसानलाई न वर्षाले साथ दियो न सरकारले, पम्पसेट चलाएर जसोतसो पानी लगाएपछि पनि खेतमा हाल्ने रासायनिक मल छैन् ।”
धनुषामा अहिले क्षीरेश्वरनाथ, बटेश्वर, मिथिला, धनुषाधाम, लक्ष्मिनिया, सबैल, शहीदनगरलगायत पालिकाका किसानले पम्पसेट चलाएर धान बालीमा सिँचाइ गरिरहेका छन् । पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फका अधिकांश किसानले लगाएको धानबाली भने सुकेर गइरहेको छ । पानीको सतह निकै तल रहेकाले उत्तरी भेगमा पम्पसेट चल्दैन । उत्तरी भेगमा केही किसानको खेतमा कुलोको पानी लागे पनि खोलामा पानी सुकेपछि पानी लगाउन किसानबीच हानाथाप छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख शङ्रप्रसाद साहले तत्काल वर्षा नभए धानखेतीमा ठूलो क्षति पुग्ने र उत्पादनमै ह्रास आउनसक्ने बताउनुभयो । मधेस प्रदेशका आठ जिल्लामा केही समयदेखि वर्षा हुन नसक्दा धान खेतमा चिरा पर्नाका साथै बोट पहेँलिँदै गएको किसान बताउँछन ।
यसरी लामो समयदेखि मधेस–तराई क्षेत्रमा वर्षा नहुँदा लहलहाउँदो धान अहिले सुक्न थालेको हो । वर्षात्का बेला बाढीपसेको मौकामा रोपाइँ गरेका किसान लामो समय पानी नपरेर धान सुक्न थालेपछि चिन्तित बनेका छन् । बाढीको बेला भल छोपेर रोपेको धान खेत चिरा–चिरा परेको स्थानीय किसान बताउँछन् । बटेश्वर गाउँपालिका–५, शान्तिपुरका किसान महेश यादवले पानी नपर्दा एक बिघामा लगाएको धान सुक्न थालेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “लामो समयदेखि पानी नपर्दा मोटरबाट पानी लगाउने गरेका छौँ, सिँचाइको व्यवस्था नहुँदा कल (ट््युबेल) बाट खेतमा पानी लगाउँदै आएका छौँ, तर त्यसले कतिञ्जेल धान्नु ?” क्षीरेश्वरनाथ नगरपालिका–४ का जगदीश यादवले समयमा पानी नपरेर किसानले खेतमा लगाएको धानबाली सखाप हुने अवस्थामा पुगेको गुनासो गर्नुभयोे ।
मधेस प्रदेशको कृषि निर्देशनालयका अनुसार यस प्रदेशमा पाँच लाख ४७ हजार दुई सय २६ हेक्टर जग्गा खेतीयोग्य रहेको तर पछिल्लो केही वर्षयता खेती गर्ने क्रम घट्दै छ । अहिले पाँच लाख २६ हजार ६५ हेक्टर जग्गामा मात्रै खेती हुँदै आएको छ । खेतीयोग्य जग्गा पाँच लाख २६ हजार हेक्टर भए पनि प्रदेशको सिञ्चित क्षेत्रफल एक लाख १५ हजार पाँच सय १५ हेक्टर मात्रै छ ।
कृषि अधिकृत बद्रीनारायण झाले जेनतेन गरेर खेतमा धान रोपाइँ भए पनि पानी नपर्दा खेत चिराचिरा परेर धान बाली नै सुक्न थालेको बताउनुभयो । “पानी नपर्दा किसान निराश छन्, धान खेत हेर्न गयो सबै चिराचिरा परेर सुक्न थालेको देखिन्छ”, झाले भन्नुभयो, “तत्काल वर्षा नभए धान खेतीमा ठूलो क्षति पुग्ने देखिन्छ, उत्पादनमै ह्रास आउन सक्छ ।”
