शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौँ, तर सरकार पनि सहकार्यका लागि तयार हुनुपर्छ’–ओली


  • माउन्टेन खबर
  • शनिबार, भदौ २७, २०८३
  • 29
    SHARES

काठमाडौँ –  नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला राज्य शक्तिको दुरुपयोग नगर्न सरकारलाई सुझाव दिनुभएको छ ।

 

बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिन लागेको एमालेको सम्पर्क विशेष सङ्गठन कमिटीको टोलीलाई बिदाइ तथा निर्देशन दिँदै ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुधारका लागि सुझाव दिनुभएको हो ।

ओलीले राहत तथा उद्धारमा सहयोग गर्न चाहने सङ्गठित संस्था र स्वयंसेवकलाई काम गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो । राज्यले सबै हेलिकप्टर आफ्नो नियन्त्रणमा राख्ने तर स्वयंसेवामा खटिएका अन्य संस्थालाई आवश्यक साधन प्रयोग गर्न नदिने व्यवहार उचित नभएको उहाँको भनाइ छ । उहाँले विपद् प्रभावित क्षेत्रमा उद्धारमा भइरहेको ढिलाइप्रति पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । ११–१२ दिनपछि मानिसहरू आफैँ सुरुङबाट बाहिरिनुपर्ने अवस्था आउनु गम्भीर लापरबाही भएको भन्दै ओलीले उद्धार कार्यलाई प्रभावकारी र शीघ्र बनाउन सरकारलाई सुझाव दिनुभयो ।

विस्थापित परिवारका सदस्यहरूलाई अलग–अलग शिविरमा राखिएको विषयमा पनि ओलीले सरकार संवेदनशील बन्नुपर्ने बताउनु भयो । बुबा एउटा शिविरमा र छोरी अर्को क्याम्पमा राखिएको उदाहरण दिँदै उहाँले परिवारका सदस्यहरूलाई सँगै बस्ने तथा एक–अर्कालाई भेट्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

राहत तथा उद्धारमा खटिएका स्वयंसेवकहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिनुपर्ने भन्दै उहाँले स्वच्छ खाना, सुरक्षित वातावरण र आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभयो । राहत तथा उद्धारको वास्तविक अवस्था सार्वजनिक गर्न खोज्ने नागरिक तथा स्वयंसेवकलाई प्रहरी परिचालन गरेर रोक्ने काम नगर्न ओलीले सरकारलाई सुझाव दिनुभयो ।

प्रहरीको काम सरकारको कमजोरी लुकाउन मानिसलाई रोक्ने नभई नागरिकको सुरक्षा गर्नु भएको उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘म सेना प्रहरीलाई पनि भन्न चाहन्छु, तपाईँहरू नियम, कानुन र कर्तव्यभित्र रहेर, काम गर्नुस् । अनावश्यक, अनुचित आदेश पालना नगर्नुस्, अनावश्यक आदेश पालना गर्न सकिँदैन, जनताका बिचमा तनाव ल्याउने काम गर्नु हुँदैन भनेर तपाईँहरूले पनि जवाफ दिनुपर्छ । म सरकारमा रहेका मानिसहरूलाई पनि भन्न चाहन्छु, यस प्रकारका राज्य शक्तिको दुरुपयोग जसरी भइरहेको छ, जसरी गरिरहनुभएको छ, यो कुरा रोक्नुस् । दुरुपयोग हुन नदिनुस् । हामीले अलिकति केही सुझाव दियो भने को हो तपाईँहरू सुझाव दिने भन्छन् ।

उनीहरू भन्छन्, हेलिकप्टर पनि अब त हाम्रै हातमा छ, सबै राज्य नै हामीले कब्जा गरेका छौँ । हामीले देखेका छौँ, हामीले जेलनेल पनि देखेका छौँ, अनेक कुरा देखेका छौँ, यत्तिकै पड्केर, चिट्ठा परेर, आगो लागेर आएका होइनौँ । कुनै आगजनी, तोडफोड, लुटपाटबाट मान्छे कुटेर, मारेर, आगो लगाएर आएका थिएनौँ । उहाँहरू कसरी आउनु भयो, चुनावबाट आएका हौँ भन्नुहोला, त्यसबारे पछि छलफल गरौँला । चुनाव के भएको थियो, कसरी भएको थियो, कस्तो वातावरण, परिस्थितिमा । यो दुःखका बेला सबै मिल्नुपर्छ । हामी भनिरहेका छौँ, हामी सरकारलाई साथ दिन, सरकारसँग मिलेर काम गर्न तयार छौँ, तर सरकार संलग्न हुन पनि दिइरहेको छैन, यो बहुतै दुःखद कुरा हो । तर पनि हामी आफ्नो कर्तव्य पूरा गर्नेछौँ ।’

उहाँले सरकारलाई सहयोग गर्न एमाले तयार रहेको स्पष्ट पार्दै सरकार पनि सहकार्यका लागि तयार हुनुपर्ने बताउनु भयो । जनता पीडामा रहेका बेला एमाले मूकदर्शक भएर बस्न नसक्ने भन्दै ओलीले विपद्को समयमा सरकार र राजनीतिक दलहरूबिच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)