मङ्लबार, बैशाख ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मिथिलामा तीज र चौरचन एकै दिन


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १४, २०७९
  • 283
    SHARES

भदौ १४, काठमाडौं । हिन्दू परम्पराका दुई पर्व आज एकै दिन मनाइँदैछन् । नेपाली नारीको महान् पर्व तीज र मधेसको प्राचीन मिथिला क्षेत्रमा मनाइने चौरचन (चौठी चाँन) पर्व आज एकैदिन परेको हो । भाद्र शुक्ल त्रितीयाका दिन गरिने तीज व्रत र चौथीका दिनको चन्द्र दर्शनको चौरचन पर्व आज एकै दिन परेको छ । त्रितीया तिथिमा एक अहोरात्र गरिने तीज पर्व र चौथी तिथिको चन्द्रदर्शन तिथिको भोग घटबढले आज एकै दिन परेको कर्मकाण्डका ज्ञाताले बताएका छन् ।

तीज पर्व मनाउने नारी सोमबार गए राति ‘दर’ खाएपछि व्रतमा छन् । आज दिनभरिजसो त्रितीया तिथिको भोग रहे पनि चौथी तिथिको चन्द्र उदय भने आजै साँझ चौथी लागेसँगै आजै चौरचन मनाइने भइएको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित महेशकुमार झाले बताउनुभयो । “चौरचन पर्वमा चौथीकै चन्द्रदर्शन र आराधनाको व्रत विधान छ, चौथी तिथिको चन्द्रोदय आजै हुने हुँदा यसपालि तीज व्रत र चौरचन एकै दिन परेका हुन्”, झाले भन्नुभयो ।

चौरचन पर्वमा गाईको गोबरले लिपेर बनाइएको आँगनमाझको चामलको पिठोले बनाइएको अरिपन (चतुष्कोण) यज्ञस्थलमा दीप प्रज्वलित गर्दै बर्तालुले फलपूmल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर पर्व समापन गर्ने मैथिल परम्परा छ । खासगरी खिर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलपूmल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण यज्ञस्थलमै बसाएर प्रसाद खुवाएपछि चौरचन पर्व सम्पन्न गरिन्छ ।

हिन्दू मैथिल परम्परामा भाद्र शुक्ल चौथीका दिनको चन्द्र दर्शन दोषपूर्ण हुने भएकाले सो दोष मेटाउन दिनभरि निराहार व्रत बसी साँझ चन्द्रमालाई मिष्टान्न परिकार र फलपूmल देखाएर दोष मेट्ने प्रचलन छ । यो व्रत पुरुष महिला जसले गरे पनि हुने भए पनि मिथिलामा सामान्यतया घरमूली महिला व्रत बस्ने गर्छन् । मिथिलाको महत्वपूर्ण पर्वमध्ये पर्ने यो पर्व भदौ शुक्ल चौथीको चन्द्रदर्शन गरेर मनाइने चलन रहेको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिले बताउनुभयो ।

भाद्र शुक्ल चौथीको चन्द्रदर्शनले झुठो अवगाल कहिल्यै नलाग्ने, मित्रहरु बढ्ने र चन्द्रमाको कृपाले कान्ति बढ्ने तथा जीवनमा शीतलता प्राप्त हुने जनविश्वास छ । अघि द्वापर युगमा राजा सत्राजितले उपहारमा प्राप्त गरेका श्यमन्तक मणि हराउँदा श्रीकृष्णलाई ‘बात’ लागेको र श्रीकृष्णले अवगाल मेट्न चन्द्रव्रत गरेलगत्तै मणि जाम्ववानकी छोरीसँग भेटिएको प्रसङ्ग श्रीमदभागवत महापुराण र कृष्णलिला काव्यमा वर्णित छ । त्यसै बेलादेखि चोरचन पर्व परम्परा चलेको विश्वास गरिन्छ ।

मैथिल परम्परामा चन्द्र दोष मेटाउने यो पर्व अब मधेसमा बस्ने अन्यले पनि मनाउन थालेका छन् । त्यसैगरी तीज व्रत लिने मिथिलानी (मिथिलाका नारी) को सङ्ख्या पनि उल्लेख्य देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }