मङ्लबार, अशोज १६, २०८०

आजबाट दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ २९, २०८०
  • 46
    SHARES

काठमाडौँ। आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् ।

आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका लक्षित दर्शक फरक छन् ।

नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्कीले चलचित्र ‘एक भागवत् र एक गीता’ (सामाजिक प्रेमकथा)’मा ‘कमलामाई’को भूमिकामार्फत यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गर्नुभएको छ ।

“एउटा कलाकारले यस किसिमको भूमिकामार्फत आफूले फरक जीवन बाँच्नुका साथै दर्शकलाई पनि त्यो महसुस गराउन सक्छ । अभिनयमा विविधता खोजिरहँदा यस्ता भूमिका अवसर र चुनौती दुवै हुन्”, उहाँले भन्नुभयो, “मैले आफ्नो पात्रमार्फत उक्त समुदायको दबिएका कथालाई पर्दामार्फत व्यक्त गर्ने अवसर पाएको छु ।”

चलचित्रमा अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायत कलाकारले अभिनय गर्नुभएको छ ।

सुनिलकुमार थापाले निर्माण गर्नुभएको उक्त चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाँङ्कन, मित्र डी गुरुङले सम्पादन तथा हिमाल केसीले द्वन्द्व निर्देशन गर्नुभएको छ ।

आजैदेखि राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्नुभएको चलचित्र ‘नाङ्गो गाउँ’मा समाजलाई परिवर्तन गर्न राजनीतिको आवश्यकता र गाउँ पातलो हुँदै गएको विषयवस्तु देखाइएको छ ।

“हामीले नेतामात्र नभई छान्ने जनतालाई पनि प्रश्न गर्ने बेला भएको छ, त्यसको सुरुआत यस चलचित्रमा गरिएको छ”, निर्देशक लामाले भन्नुभयो, “यसमा सामाजिक र राजनीतिक परिवेशलाई उजागर गरिएको छ, हाम्रो समाजको राजनीतिक चेत, राजनीतिक प्रभाव र समाजभित्र हामी कस्तो अवस्थामा बसेका छौँ भन्ने यसमा देखाइएको छ ।”

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङलगायत कलाकारले अभिनय गर्नुभएको छ । यसको कथा स्वयं निर्देशक लामाले लेख्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ