सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल


  • माउन्टेन खबर
  • शुक्रबार, असार ५, २०८३
  • 111
    SHARES

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा कुन ढङ्गले अझै थप योगदान पुर्‍याउन सक्छ भन्नेतर्फ पनि सबैको ध्यान जान जरुरी भएको बताउनुभएको छ ।

चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमासमेत योगदान पु¥याउन सक्ने भन्दै सबैले त्यस तर्फ सोच्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले हाम्रो गाउँठाउँ, पाखापखेरा र कुनाकन्दराका कथाव्यथालाई सुक्ष्म ढङग्ले पर्दामा प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित हुने भन्दै यसका लागि प्रविधिसँग परिचित हुँदै अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई रत्तिभर नछोड्न चलचित्रकर्मीलाई आफ्नो सुझाव रहेको बताउनुभयो ।

 

उहाँले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभएर नागरिकमा जागरण, रुपान्तरण, चेतना, राष्ट्रप्रेमको भावना जगाउने र हाम्रो मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्ने माध्यम भएको बताउनुभयो । उहाँले हिमाल–पहाड–तराईको प्रकृति र सामाजिक जीवनलाई चलचित्रले देशभित्र मात्र होइन, विश्व मञ्चसम्म चिनाउन सक्ने भएकाले यो हाम्रो साझा पहिचान निर्माणको आधार पनि भएको स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले अहिलेको बदलिँदो परिवेशअनुरुपको नीति, कानुन, सुविधा र सहुलियतसहित संस्थागत सुधार गरी चलचित्र उद्योगलाई नयाँ उचाईँ दिन कुनै कसर बाँकी राख्न हुँदैन भन्दै यसका लागि कलाकार मात्र नभएर चलचित्र उद्योगसँग सम्बन्धित सबै सरोकारवालाहरूको योगदानको उचित कदर गर्नुपर्दछ र यही क्षेत्रमा आत्मसम्मानसहित आफ्नो भविष्य सुरक्षित छ भन्ने महशुस गराउन सक्नुपर्ने बताउनुभयो ।

प्रविधिको विकासले चलचित्र उद्योगको स्तरोन्नतिमा ठूलो योगदान दिएको भन्दै राष्ट्रपति पौडेलले भन्नुभयो– ‘डिजिटल प्रविधिले चलचित्र निर्माणदेखि वितरणसम्मका काममा सहजता पनि ल्याएको छ । यसको प्रयोग गर्दा हाम्रो मौलिक कथा, मानवीय सृजनशीलता, सांस्कृतिक पहिचान र सर्जकको बौद्धिक अधिकार जोगाउनुपर्दछ भन्नेमा सचेत रहनुपर्दछ ।’

राष्ट्रपति पौडेलले चलचित्रका पर्दामा महिला, बालबालिका, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न भूगोल र समुदायका कथाहरू सम्मानजनक, संवेदनशील र यथार्थपरक रूपमा अटाऊन् भन्ने आफ्नो अपेक्षा रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘किनभने, जब हरेक नेपालीले आफ्नो कथा पर्दामा देख्दछ, तब चलचित्र साँच्चिकै राष्ट्रिय बन्दछ ।’

सो अवसरमा दीर्घ साधना सम्मानबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)