आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रमेश विकलको राजनीतिक संलग्नता (“समालोचनात्मक अन्वेशण” पुस्तकबाट)


  • गोपी मैनाली
  • शनिबार, अशोज ६, २०८०
  • 201
    SHARES

रमेश विकलको राजनीतिक संलग्नता (“समालोचनात्मक अन्वेशण” पुस्तकबाट)

चेतनशील मानिस सामाजिक–राजनीतिक रूपमा जागरुक नभै रहन सक्दैन । विकलको परिवार त चेतनशील परिवारमा गनिन्थ्यो । उनको परिवार पहिल्यैदेखि नै राणाहरूसंँग आउजाउमा थियो । बुबा सरकारी जागिरमा रहेकाले शासन–प्रशासनका विषयमा जानकारी हुनै नै भयो । घरायसी अवस्था मध्यमवर्गीय खानदानी थियो । घरमा नोकर चाकर थिए भने जमिनमा काम गर्ने मानिसहरू थिए । यी सबै पृष्ठभूमिमा समाजका पीडित–शोषित र गरिब दुखीको अवस्थालाई नियाल्न सजिलो थियो ।

विकलको बाल्यावस्थाको समयमा तत्कालीन अधिनायकवादी राणाशासनका विरुद्ध समाजमा विस्तारै चेतना फैलिरहेको थियो, आर्य समाजले आन्दोलन गरिरहको थियो । यस अवस्थामा राजनैतिक चेतना विस्तारका साथ विकल पनि प्रतिक्रियात्मक बन्दै गएका थिए । १९९७ सालको सहिद काण्डले विकलको बाल मनोविज्ञानमा नराम्रो प्रभाव पारेको थियो । २००३ मा विकल कलकत्ता पुुगेका बेला भारतीय स्वतन्त्रता आन्दोलनलाई महात्मा गान्धी लगायतका नेताले सम्बोधन गरेको भाषण उनले नजिकैबाट सुुनेका थिए ।

२००४ सालमा तीनधारा संस्कृत पाठशालामा राणा शासनको विरोधमा विद्यार्थीहरूबाट ‘जयतु संस्कृतम्’ आन्दोलन र यसलाई दमन गर्न राणाहरूबाट चालिएका कदमलाई पनि विकलले नियालिरहेका थिए । राणाहरूमध्ये अलिक उदार मानिएका पद्यशमशेरलाई कठोर मानिने रोलक्रमवाला मोहन शमशेरले राजीनामा दिन बाध्य बनाएका थिए । पद्यशमशेरले राजीनामा दिएपछि भोटाहिटीमा निस्किएको सिँदूर जात्रा हेर्ने क्रममा भएको भिडन्तमा विकल पनि पक्राउ परे । जयतुु संस्कृतम् आन्दोलनका नायकमध्ये एक बलराम श्रमजीवीको सम्पर्कमा पुुगेका विकलले उनीसँग आन्दोलनको पर्चा, पोस्टर पनि निकालेका थिए ।

राणाविरोधी गतिविधिमा राजनैतिक बन्दीका रूपमा जेल परेका माक्र्सवादी चिन्तक श्यामप्रसादशर्मालाई २००५ मा काठमाडौं जेल सरुवा गरेपछि विकल उनको सम्पर्कमा पुुगे । श्यामप्रसादसँगको चिनजान र सम्पर्कले विकलको जीवनले राजनैतिक मोड लिनपुुग्यो । त्यतिखेर श्यामप्रसादसँंग मिलेर सन्देश नामक हस्तलिखित मासिक पत्रिका प्रकाशन सुरु गरे । विकलको चार पङ्क्तिको कविता (उनको पहिलो सिर्जना) यही पत्रिकामा छापिएको थियो । कविताले चेतनाको डाँक अघि सारेको थियो ।

२००५ मा नै श्यामप्रसादकोनेतृत्वमा गठन भएको गोप्य सङ्गठन ‘पाँच भाइ’ मध्ये विकल पनि एक भाइ (सदस्य) थिए । सङ्गठनले नजरबन्दमा रहेका राजबन्दीसँग सम्पर्क गर्ने र खबरहरू आदान प्रदान गर्ने काम गर्दथ्यो । यसै सङ्गठनमा आबद्ध भएको कारण विकल पक्राउ परेका थिए, उनको भंसार अड्डाको जागिर पनि खोसिएको थियो । हेमनाथ पौडेलले रमेश विकलको जीवनवृत्तमा उल्लेख गर्नु भए अनुसार ‘२००६ सालपछि विकल भूमिगत नेपाल कम्युनिष्ट पार्टीको मोर्चामा रही काम गर्न थाले’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, पृ १२) ।

सन्देश र पाँचभाइ प्रकरणले राजनीतिक क्षेत्रमा एकप्रकारले भिजिसकेका विकल २००७ सालको जनआन्दोलनमा संलग्न नहुुने संभावना थिएन । राणाविरोधी प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलन, जुलुस, नारा र सभा÷भेलाहरूमा विकलको बाक्लो सहभागिता हुन्थ्यो ।

यस अवधिमा विकल भूमिगत नेपाल कम्युनिष्ट पार्टीले स्थापना गरेका अध्ययन मण्डल, पुस्तकालय, वाचनालयमा संलग्न हुने र माक्र्सवादी साहित्यको अध्ययन गर्ने कार्यमा रहेका थिए । यसै समयमा गोविन्दप्रसाद लोहनीले पुतली सडकमा सञ्चालनमा ल्याएको माक्र्सवादी कक्षामा चन्द्रधर उप्रेती, अरविन्द रिमाल, बलराम आचार्य, मथुराप्रसाद श्रेष्ठहरूसंग सहभागी भै प्रशिक्षण लिन थाले ।

राणाविरुद्धको प्रजातान्त्रिक आन्दोलन सफल भै प्रजातन्त्र स्थापना पश्चात् राजनैतिक गतिविधि सञ्चालन हुन थालेपनि कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध अन्त नभएकोले यसका गतिविधि भूमिगत रूपमा नै हुुन्थे । २०१५ सम्म विकल कम्युनिष्ट पार्टीको कार्यकर्ताका रूपमा नै क्रियाशील भए । यस अवधिमा उनी चावहिलकेन्द्रित भूमिगत गतिविधि सञ्चालन गर्दथे । यस समय विकलको शक्ति लम्साल, भक्तबहादुर श्रेष्ठ, शेरबहादुर मित्र, अमिरबहादुर, रामबहादुर लगायतसँग सहकार्य थियो ।

२००९ मा नेपालमा न्यूनवैतनिक कर्मचारीले सरकार समक्ष विभिन्न माग राखी सरकार अवरुद्ध आन्दोलन गरे । नेपालको इतिहासमा सरकारी कार्यालयका कर्मचारीको यो नै पहिलो आन्दोलन थियो । विकल पनि यस आन्दोलनमा सहभागी थिए, आन्दोलनको क्रममा पक्राउ परे ।
विकलले २०११ सालमा कम्युनिष्ट पार्टी काठमार्डौ जिल्ला सचिव आनन्देव भट्टका हातबाट सदस्यता लिएका थिए । (कतै भने निर्मल लामाबाट भन्ने उल्लेख भेटिन्छ) । त्यसपछि पार्टी गतिविधिमा झनै सक्रियरूपमा संलग्न भए ।

२०११ मा कम्युनिष्ट पार्टीले गरेको आन्दोलन जुलुसमा सहभागी भएवापत उनी इन्द्रचोकबाट गिरफ्तार भै जेल परे, जहाँ उनको चिनजान कमल कोइराला, मदन रेग्मी, रूपचन्द्र विष्टसंग भयो । रेग्मी शिक्षा मन्त्री डिल्लीरमण रेग्मीका छोरा थिए भने कोइराला प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा । रेग्मी र कोइराला आफूहरूसँंग जेल परेका सबैलाई मुक्त नगरी रिहा नहने माग राखेपछि विकल लगायत राजबन्दीहरू रिहा भएका थिए । २०१५ सालको आम निर्वाचनमा उनी निकै सक्रिय भएर कम्युनिष्ट पार्टीका उम्मेदवारको पक्षमा खटेका थिए ।

२००६ देखि २०१७÷१८ को बीचमा विकल वामपन्थी विचारकहरूलाई प्रोत्साहन, परिचालन, गोलबन्दी गर्नुको साथै नेपाल कम्युनिष्ट पार्टीको सङ्गठन विस्तारमा निकै क्रियाशील भएको देखिन्छ । वामपन्थी विचारक शक्तिलम्सालले एउटा अन्तरवार्तामा आफूलाई रमेश विकलले कम्युनिष्ट पार्टीको सदस्यता दिएका भन्ने उल्लेख गरेका छन् ।

२०१७ पुस १ गते राजाले संसदीय व्यवस्था कु गरी निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई अपदस्थ गरी पञ्चायती व्यवस्था लागूगरेपछि राजा महेन्द्रको फुटाउ र राजगरको सिद्धान्तमा परी कम्युनिष्ट पार्टी विभाजित हुन पुुग्यो । कतिपय कम्युनिष्ट नेतहरूलाई राजाले उपयोग गरे । यसपछि भने कम्युनिष्ट आन्दोलनबाट निराश भै विकल सक्रिय राजनीतिमा असंलग्न रहे । यसपछिको पाटो साहित्यिक आन्दोलन, विचार, चिन्तन, समाजसेवा एवम् सरकारी जागिरमा संलग्न भै राष्ट्रसेवामा क्रियाशील रहे ।

सबैजसो साहित्यिक अभियानमा सक्रिय भाग लिदै आएका विकल निरङ्कुश पञ्चायत व्यवस्थाको विरुद्ध २०४५ चैत्र ३ गते तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा वरिष्ठ साहित्यकारहरू भेला भै पञ्चायत व्यवस्थाप्रति विरोध जनाउने कार्यक्रममा भने उपस्थित भएनन् (गङ्गाप्रसाद उप्रेती, रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, स्मृति ग्रन्थ, पृ २४८–२४९) । यसरी विकल विचार, चिन्तनमार्फत कहिले सक्रिय र कहिले निस्क्रिय रूपमा कम्युनिष्ट आन्दोलनमा क्रियाशील रहेका थिए । यही आन्दालनको प्रभाव उनको साहित्य सिर्जनामा पनि परेको छ ।

-गोपी मैनली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }