आइतवार, मंसिर १७, २०८०

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम भरतपुर महानगर र बागमती प्रदेश सरकारले अघि बढाउने


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक २१, २०८०
  • 45
    SHARES

चितवन । गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो । अलपत्र अवस्थामा रहेको रङ्गशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज बागमति प्रदेशको मुख्यमन्त्री कार्यालयमा सहमति भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रङ्गशालाको काम अघि बढाउने निर्णय गरेको छ । बैठकले भरतपुर महानगरपालिकाले पहिलो चरणमा गर्नुपर्ने कामका लागि तयार गरेको लागत अनुमान रु ७५ करोड बराबरको काम लागत साझेदारीमा महानगरपालिकाले अघि बढाउने गरी निर्णय गरिएको हो ।

बैठकमा प्रदेश सरकारका अर्थमन्त्री बहादुरसिंह लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख सचिव घनश्याम उपाध्याय महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानालगायतको उपस्थिति थियो ।

भरतपुर महानगरपालिकाका इञ्जिनियर सन्तोष आचार्यका अनुसार अहिले भइरहेको तल्लो तहको प्याराफिटको एक तहमाथि प्याराफिट निर्माण गरिने छ । मैदानको आकार मात्रै बनेको भन्दै उहाँले दुबो लगाउने र पिचको काम गरिने जानकारी दिनुभयो । खेलाडी बस्ने ठाउँ, पार्किङ व्यवस्थापन, भित्री सडकको व्यवस्थापनलगायतका काम यसै चरणमा हुने उहाँले बताउनुभयो ।

यसअघि बनेका संरचनालाई संरक्षण गर्दै खेल खेल्न मिल्ने गरी काम अघि बढाउन लागिएको उहाँले जानकारी दिनुभयो । आचार्यले दुई वर्षभित्रमा काम सम्पन्न हुने गरी ठेक्का सम्झौतामार्फत् काम अघि बढाइने बताउनुभयो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रदेश सरकारसँग सहमतिसँगै काम अघि बढ्ने बताउनुभयो ।

यसअघि धुर्मुस–सुन्तली फाउण्डेशनले काम गर्दाको बाँकी भुक्तानी लगायतका विषयमा सङ्घीय सरकारले निर्णय गर्ने उहाँले बताउनुभयो । उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिकाभित्र रहेको महत्वपूर्ण आयोजना भएकाले यसलाई सहजरुपमा सम्पन्न गर्न रोकिएको काम अघि बढाउने गरी प्रदेश सरकारसँग सहमति गरिएको बताउनुभयो । तत्काल बोलपत्र आह्वान गरी काम अघि बढ्ने उहाँको भनाइ छ ।

भरतपुर महानगरपालिका–१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम रोकिएको दुई वर्षभन्दा बढी भएको छ । धर्मुस (सीताराम कट्टेल) सुन्तली (कुञ्जना घिमिरे) फाउण्डेसनले २० बिघा छ कठ्ठा जग्गामा निर्माण थालेको क्रिकेट रङ्गशालाको काम रकम अभावमा २०७८ साउन २० गते रोकिएको थियो । फाउण्डेसनले रङ्गशालाको स्वामित्व लिइदिन अनुरोध गर्दै भरतपुर महानगरलाई पत्र पठाए पनि हालसम्म निर्माणमा लागेको रु १८ करोड ४३ लाख ऋण कसले तिर्ने भन्ने टुङ्गो लाग्न सकेको छैन ।

रङ्गशाला निर्माणमा हालसम्म फाउण्डेशनले रु ५७ करोड ९२ लाख ८५ हजार सात सय ३८ खर्च भएको जनाएको छ । त्यसमध्ये रु १८ करोड ४३ लाख ऋण छ । फाउण्डेशनले वक्यौता तिर्न बाँकी राखेर काम छाडेकाले यसलाई अघि बढाउन अप्ठ्यारो परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }