हठात
छोरीले बाबालाई भनि–“बाबा ,बाबा मलाई नयाँ जुत्ता चाहियो ।” उसले छोरीको कपाल मुसार्दै भन्यो–“म नानुलाई भोलि ल्याइदिन्छु ,हवस् !” छोरी बाबाको तिघ्रामा बेरिएर भनि–“नाइँ नाइँ मलाई आजै चाहिन्छ । मिक्की, सानु, बुनु,लता सबैको नयाँ जुत्ता छ, मेरो मात्रै पुरानो नाईँर !”
उसले खल्ति छाम्यो । बटुवा खोल्याे। पैसा थिएन । गरेको कामको पैसा नपाउँदा काम छोडेको महिना बितिसकेको थियो । नयाँ काम कतै भेटेको थिएन । घरबेटीको भाडा नतिरेको तीन महिना भएको थियो । आफन्तले पैसा सापटी देउ न भन्दा, छैन छैन भन्दै टकटकिन्थे । पैसाको अभावमा आफुले नियमित सेवन गरेको छारे रोगको औषधी समेत खान सकेको थिएन । उसले आफ्नो समस्या न त नाबालक छोरीलाई बुझाउन सक्थ्यो न त छोरीले बुझ्न सक्थि । उसले छोरी उचाल्दै गर्दा आफ्नै हातको औँठी देख्यो । लामो स्वास तान्यो । विवाहको चिनो मास्ने मन नभएपनि ऊ संग कुनै बिकल्प थिएन । ओैँठी बेचेर गर्जो टार्ने निधो गर्याे।
छोरीलाई उचालेर बजार पस्यो । सुन पसलमा बिवाहको अमुल्य औँठी कौडिको भाउमा बेच्यो । उसले छोरीले रोजेको जुत्ता किनिदियो । बाँकि पैसाले घरखर्च चलाउने सोँच्दै छोरी उचालेर पसलबाट निक्लियो । संगैको पसलमा खेलौना देखेर छोरीले यो पनि चाहियो त्यो पनि चाहियो भन्न थाली । उसले नसुनेजस्तै गरी हिँड्यो । छोरी रुन कराउन र कोपर्न थाली । उसलाई अप्ठेरो महशुस भयो । छोरीलाई टुसुक्क भुँईमा राख्यो । छोरी दौडेर अलि अगाडि छोडेको पसलमा पसि । उसले खेलौना छानी । आफुले छानेका खेलौना संग रमाउँदै बाबालाई खोजी । बाबालाई नभेटे पछि ऊ रुन थाली । ऊ रोएको देखेर पसलेले उसले छानेका सबै खेलौना दियो तर उसले लिइन । मिठाई भन्दा हुरुक्क हुने उसले दिएको मिठाई पनि फ्याली ।
बाबाले किनिदिएको जुत्तापनि भुँइमा फालेर रुँदै रुँदै मान्छेको भिडभित्र गइ । भिडको बीचमा नाकबाट सिगान र मुखबाट र्याल चुहाउँदै काँपीरहेको बाबालाई देखी । ऊ हठात लडेकै ठाँउमा थियो । हठात हुने घटनाक्रम र जीवन चक्रको संगतिहिन अवस्थामा मान्छेले ब्यर्थ भविष्यको चिन्ता गर्दो रहेछ । काखमा खै कस्का दुर्गन्धित मोजा थिए । ऊ तत्काल उठ्न सक्ने अवस्थामा थिएन । छोेरीले गर्ल्याम्म अंगालो हालेर बाबाको सिगान र र्याल साना साना हातले पुछ्दै भनी –“बाबा मलाई जुत्ता , खेलौना केही पनि चाहीदैन, हजुर भए पुग्छ ।” उसले छोरीलाई सुमसुमाई रह्यो ।
-गोपीराम भण्डारी