आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकामा रमाउन नसकेको नेपाली मन ( संस्मरण )


  • माउन्टेन खबर
  • सोमवार, पुस १६, २०८०
  • 363
    SHARES

अमेरिकामा रमाउन नसकेको नेपाली मन

नोभेम्बर १९, बिहान उठेर फोन खोलेको मात्र के थिएँ केनी पाण्डे दाईको एउटा म्यासेज देखेँ । “हाम्रो सँस्था आइ एन सि (International Nepalese Community) फेरि चालु गर्नुपर्यो, अली सक्षम नयाँ डाइरेक्टर खोज्नु पर्यो” भनेर लेख्नु भएको रहेछ । मैले म्यासेज लेख्नुभन्दा फोन नै गर्न उचित ठानेँ र फोन लगाएँ ।

दाई नमस्कार !

दाईले पनि कुरा गर्न थाल्नुभो – नमस्कार रामजी ।

आराम हुनुहुन्छ दाई ?

म ठीक छु ।

धेरै भयो दाई हाम्रो कुराकानी नभएको । कता हुनुहुन्छ आजकाल  ?

“आजकाल नेपालमा छु”।

कहिले जानु भएको दाई ?

“६ महिना भईसक्यो” ।

कहिले फर्किनु हुन्छ ?

“अब यतै बस्ने सोच बनाएर त्यही अनुसारको ब्यबस्था गरिसकेँ । काठमाडौंको हेपलीहाइटमा बस्छु” भन्दै बाहिर निस्केर भिडियो खोलेर घर गाडी सबै देखाउँनु भयो ।

सुन्दर बगैँचा सहितको दुईतले सेतो रङ्गको चिटिक्क परेको घर, सेतै रङ्गको आई २० मोडेलको नयाँ मारुती गाडी रहेछ । मर्सेडिज, बिएम डब्लुसम्मका आरामदायी गाडी चडने रहर त प्राय: सबै अमेरिकाबासी सक्षम नेपालीहरूले पुरा गरिसकेका हुन्छन् । उहाँले पनि त्यो रहर पुरा गरिसक्नु भएको होला । त्यसैले नेपालको बाटो सुहाउँदो सानो गाडी किन्नु भएको होला जस्तो लाग्यो । हुनत; मर्मत तथा इन्धन खर्च पनि बचाउन खोज्नु भएको हुन सक्छ । दाइ भन्दै हुनुहुन्थ्यो – “घरमा दुईजना कामदार पनि राखेको छु । मलाई यहीँ आनन्द छ , त्यसैले अब म अमेरिका आउँदिन” ।

आम्दानीको श्रोत के छ दाइ ?

“पहिलादेखिनै केही रकम मुद्धतिमा राखेको थिएँ । त्यस्को ब्याज र अमेरिकि सरकारले दिने महिनावारी भत्ता मिलाउँदा मलाई छेलोखेलो हुन्छ” भनी दङग पर्नु भयो । “यहीबाट त्यो सँस्था सुचारु गर्नुपर्यो । त्यसैले राम्रा समाज सेवा गर्ने इच्छाशक्ति भएकाहरूलाई यस सँस्थामा जौडौं है!”  भन्नुभयो ।

मैले ‘हुन्छ दाइ म कोशीस गर्छु’ भनेँ र हामी बिदा भयौँ ।

उहाँ अमेरिकाको फ्लोरिडामा लामो समयदेखि बस्दै आउनु भएको थियो । उक्त सँस्थाको सँस्थापक अध्यक्ष हुनुहुन्थ्यो । क्यालिफोर्निया निवासी प्रो. डा. दीपक सिम्खडा, मेरिल्याण्ड निवासी डा. श्याम कार्की, ह्युस्टन निवासी पत्रकार तथा गजलकार बिटु के सी, क्यानडा निवास मित्र काफ्ले लगायत सानो छरितो कार्य समिति थियो । म पनि बोर्ड मेम्बरमा थिएँ । तर, केही समयदेखी सँस्था निस्क्रिय जस्तै थियो । त्यसैले हाम्रो कुराकानी नभएको धेरै समय भईसकेको थियो । उहाँले “अदरसाईड अफ द पाराडाइज” पुस्तक निकालेपछि केही समय त्यसैको चर्चा हामीबीच चलेको थियो ।

आफूभित्र मात्रै रमाउन चाहने अमेरिकाका आदिवासी “अनिस” समुदायका बारेमा लेखिएको उक्त किताव निकै चाख लाग्दो छ । अङ्ग्रेजी भाषामा लेखिएको सो पुस्तकमा सो समुदायको जनजीवन भित्रको यथार्थता खुलासा गरिएको छ । मानवको जन्म धनदौलत कमाउनको लागि मात्र नभएर शान्तिपूर्ण जीवन यापन गर्न हो भन्ने सोच भगवान बुद्धका आदर्शसँग मिल्छ भन्ने बारे उल्लेख गरिएको छ । आधुनिकताले सुख त दिएको छ तर मानव खुशी लुटेको छ ।  त्यसैले बिकासले लादेका कुनै पनि सेवा सुबिधा तथा बस्तुहरू प्रयोग गर्न रुचाउँदैन् उनिहरू । विश्वकै सबैभन्दा विकसित देश अमेरिकामा पनि यस्ता नागरिकहरू भएको थाहा पाएर अचम्म लागेको थियो मलाई ।

त्यसपछि, निकै दिनसम्म हामीबीच कुराकानी भएको थिएन ।

केही गरौँ भन्ने सोच भएका विद्वान एक्कासी किन नेपाल फर्किनु भएको होला भन्ने कुरा मेरो दिमागमा खेली रह्यो । सो कुरा जान्ने उत्सुकताले मलाई सताउँदै आयो । अर्काको ब्यक्तिगत जिन्दगी कोट्याउन त मलाई मन थिएन तर अमेरिका जस्तो अवसरको पौल मानिने विकसित र सुबिधा सम्पन्न देश छोडेर आफ्नो जन्मभूमि फर्किन चाहनुको कारण भने थाहा पाउँने जिज्ञासाले सताइ रह्यो । त्यो पाटो कोट्याउन खोज्दा उहाँले नमीठो मान्नुहुन्न होला भन्ने विश्वाश थियो मलाई । सबै पक्षमा उहाँ धेरै बरिष्ठ भए पनि साथीको दर्जामा राखेर मलाई व्यबहार गर्नु हुन्थ्यो । त्यसैले पनि होला हिम्मत आयो र नोभेम्वर २५को बिहान ८ बजेतिर फोन लागाएँ । उहाँले २-३ घण्टिमै फोन उठाउँनु भयो ।

नमस्कार दाई !

उहाँले “नमस्कार रामजी” भन्नासाथ आज हजुरको जीवनीको बारेमा केही जानकारी लिन चाहन्छु भनेर पहिला नै अनुरोध गरेँ ।

“के जान्न चाहनु हुन्छ ? भन्नुस न” भन्नु भयो ।

उहाँले सहज रुपमा मेरो आग्रहलाई स्वीकर गरिदिनु भएकोमा म खुसी भए । हाम्रो वार्तालाप सुरू भयो । बि.सं. १९४४ मा काठमाण्डौको ताहचलको भिम्सेन स्थानमा जन्मिनु भएको उहाँ जै पी हाइस्कुलबाट सेकेन्ड डिभिजनमा प्रवेशिका पास गर्नु भएछ । त्यसपछी ताहचलकै दरवार कलेजमा २ बर्ष अध्ययन गरेर त्रिचन्द्र कलेजमा ६ महिना र पाटन कालेजमा गएर स्नातक पुरा भएपछि जागिर खान थाल्नुभएछ । त्यो अवधिमा एयरलाइन्स क्षेत्रमा काम गरेर धेरथोर अनुभव पनि बटुल्नु भएको रहेछ  ।

तत्पाश्चात, सन १९८२ मा ३८ बर्षको उमेरमा स-साना २ छोरा र एक छोरी छोडेर अमेरिका आउनु भएको रहेछ । अमेरिकामा आएर अमेरिकन  एक्सप्रेसमा काम पाउँनु भएछ । नेपालमा एयरलाइन्स क्षेत्रमा काम गरिसकेको अनुभव, ग्राहकसँगको सम्बन्ध बिकास गर्न र स्थायित्व दिन सक्ने खुवीका कारण अमेरिकन एक्सप्रेसको मन जित्नु भएछ । राम्रो काम देखेपछि संस्थाले लेवर सर्टिफिकेसनमार्फत उहाँलाई ग्रीनकार्ड पनि दिलाएछ । त्यतिमात्र होइन विद्याबारिधि सम्मको पढाई खर्च पनि बेहोरी दिएछ ।

धेरैलाई अमेरिकाको ग्रीन कार्ड हातमा परेको दिन यो सँसार जिते जस्तो लाग्छ । मान्छेका पनि प्वाख हुन्थे भने मयुरले जस्तै प्वाख फिँजाएर नाच्थे होलान् । परिवारसँग बस्नै मन कसलाई हुदैन र ! त्यसपछि परिवारलाई पनि अमेरिका ल्याउनु भएछ । यो अवसरको भूमि अमेरिकामा छोराछोरीहरूले पनि राम्रोसँग आआफ्नो पढाई सुचारु गरे । उहाँकी श्रीमतीले पनि आफ्नो योग्यता अनुसार पैसा कमाउन चाल्नु भएछ ।

अमेरिकाको स्वतन्त्र समाजमा स्वधिनतामा बाँच्न सक्ने बातावरण हुन्छ । यस्को उपयोग जो कोहिले पनि गर्न सक्छन् । यस्को प्रभाव उहाँको परिवारमा पनि पर्दै गएछ । जस्ले गर्दा नेपाली समाजको सँस्कारमा अभिभावकलाई गरिने आदर सम्मान र सन्तानलाई गरिने मायाको शैली अली फरक पर्दै जान थाल्यो । नेपालमा जसरी म बुवा हुँ, घरमुली हुँ, मैले भनेको श्रीमती र छोरा छोरीले मान्नुपर्छ भन्ने सँस्कार अमेरिकामा बस्ने नेपाली परिवारमा प्राय भेट्न मुस्किल छ, आजकाल । तर, बिल्कुलै नभएको चाहीँ होइन । नेपालमा बस्दाभन्दा पनि बढी सँस्कारी र अनुशासित परिवार पनि मैले भेटेको छु ।  तर, अधिकाँस अमेरिका छिरेको केही बर्षसम्म नेपाल कै चलन अनुसार चले पनि बिस्तारै ठाउँ संगै बदलिएर आफ्ना परिवार आफ्नो नियन्त्रणमा रहँदैनन् । हुनत, रहन जरुरी पनि छैन । अमेरिकाले हरेक व्यक्तिको सुरक्षा र सुबिधाको ग्यारेण्टि गरेको छ ।  सिङ्गो सरकार नै हरेक नागरिकको अभिभावक हुन्छ ।

समस्या त हामी बुवाहरूको सोचमा छ । जव  धेरै दु:ख कष्ट गरी नेपालमा हुर्काएका, पढाएका आफ्ना मुटुका टुक्राजस्ता छोराछोरीहरूबाट गरिएका अपेक्षाहरू तुहिन्छन् तव सार्है चित्त दुख्छ । नेपालमा जसरी समाजको मुखमा बुजो लगाउँनलाई पनि संस्कारभित्र बाँधिनु पर्छ । सकिनसकी खर्चिलो चाडबाड मनाउँनु पर्ने हुन्छ । बिहे ब्रतबन्ध जस्ता सँस्कारहरूमा पनि दाईजो र भोज भतेरले ढाड सेकिन्छ । त्यो कुरा बुझेर नै त सन्तानले पनि आफ्ना अभिभावकको बुढेसकालमा स्याहार सुसार गर्नु आफ्नो कर्तब्य हो भन्ने ठान्दछन् । यी सबै कुराहरुले अविभावकहरू कष्टभित्र पनि आनन्दको अनुभूति गर्छन् । यही मिठो सँस्कार त हामी नेपालीको पहिचान् हो नी । जुन अमेरिकाको नेपाली समाजमा गुम्दै गईरहेको छ ।

झट्ट हेर्दा अमेरिकाको पारिवारिक जीवन सुन्दर देखिन्छ । हो , सुन्दर त छ तर पलासको फूल जस्तो सुन्दर । हेर्दा राम्रो देखिन्छ तर न नेपाली जीवनको वासना छ नत स्वाद नै । नेपाली पहिरण, भाषा र खानाको स्वाद बाहेक पनि नेपालीपनको आभाष गराउँने अन्य धेरै कुराहरू हुन्छन् । त्यो अमेरिकामा कहाँ पाउनु?

श्रीमती र छोरा छोरी सबैका बदलिने तर बाबु भने नेपालकै जस्तो हैकमी बनी रहन मन गर्ने चलनले अचेल ठुलो समस्या बनाएको छ, अमेरिकामा । मुखले हामी सबै आदर्शका कुरा गर्छौँ तर भित्री आत्माले त्यही नेपालको सँस्कार खोजी रहेको हुन्छौँ । उहाँले मसँग यस्तो कुरा खुलेर नभने पनि यस्तै आभास हुन्थ्यो ।

अमेरिकाको ग्रीनकार्ड पाउना साथ बुर्कुसी मार्दै नेपाल पुगेर आफ्नो परिवारसँग खुसी बाढेको क्षण र आफ्नो प्यारो परिवारको गुण नै लिएर अमेरिका छिरेको दिनको खुसीले सगरमाथाको उचाईलाई पनि नाघेको भाँन हुन्छ । उहाँलाई पनि भयो होला । तर, उहाँको त्यो खुसी धेरै टिक्न सकेन । अन्तत: १९८८ मा डिभोर्स कै सामना गर्नु परेछ ।

अमेरिकामा डेन्टिस्ट डाँक्टर जेठी बुहारी र मेडिकल डाक्टर कान्छी बुहारी सहित व्यवस्थापकीय स्तरमा कार्यरत दुई छोराहरू र नाती नातिनासँग  बिछोडिनु पर्दा मन थाम्न गार्हो त भयो नै होला नी । त्यो भन्दापनि सात जन्मसँगै जिउँने सँगै मर्ने बाचा गर्दै जग्गेको सात फेरो घुमेर सिन्दुर हालेर ल्याएकी श्रीमतीलाई अमेरिका मै छोडेर आफु एक्लै नेपाल जानु पर्दा कस्तो भयो होला ? लट्टाई बाट धागो चुँडिएर चेट भएको चङ्गा जस्तो हालतमा नेपाल पुगेर बस्न थाल्नु भएछ ।

परिवारमा रमाएको मानिस एक्लै कहाँ बस्न सक्नु र ? नेपाल गएर दुई बर्ष बसेपछी एक्लोपनले सताउँन थालेछ । पछि फेरि २००६ मा अर्को बिहे गर्नु भएछ । बैँसमा “आमा” नामक नेपाली चलचित्रमा खेलिसक्नु भएको झिल्के मान्छेलाई बुढेसकाल स्वीकार्न सहज के हुन्थ्यो र ! ज्यान बुढो भए पनि मन बुढो हुँदैन भन्छन् । नयाँ दाम्पत्य जीवनको रसपान गर्न फेरि २००८ मा अमेरिका आउनु भएछ र फ्लोरिडामा घर किनेर बस्न थाल्नु भएछ । अमेरिका बस्ने जती बढी उमेरको बुढो भए पनि फिलिपिन्स, इण्डोनेसिया तिरका २०-२२ बर्षका युबतीहरू पनि बिहे गर्न तयार हुन्छन् । कारण दुईटा छन् ।

१, अमेरिकाको ग्रिनकार्ड पाईने ।

२, श्रीमानको बाँकी छोटो आयु सिद्धिएपछि उनको जीवनभर कमाएर जोडेको सम्पत्तिको मालिक आफु हुन पाईने ।

तर उहाँले त्यसो नगरेर अली पाको उमेरकै एउटा छोराको आमालाई बिहे गर्नु भएछ । ‘छोरी जस्तो उमेरकोलाई बिहे गर्यो !’ भनेर कुरा काट्लान भन्ने डर पनि लाग्यो होला । उमेरको धेरै फरक भएका पुरुषसँग बिहे गर्न नेपाली महिलाहरूले पनि सँकोच मानेको देखिन्छ । जे होस उहाँ एउटा छोरा च्यापेर आफ्नो श्रीमानको सहारामा अमेरिका छिर्नु भयो। बिस्तारै एक एक गरी आफ्ना बुवाआमा, भाइ बोलाउनु भएछ । त्यो बहुमतका बिच आफू एक्लिएको भान भएको पनि हुनसक्छ दाईलाई ।

“खाली दिमागमा सैतानको बास” भनेझैँ पाण्डे दाइको रिटायर्ड लाइफले पनि नयाँ परिवारमा असर पारेको हुनसक्छ । नेपालमा भए पो सबै बेरोजगारहरू मिलेर कहिले तास खेल्ने, कहिले सोमरस पिएर लट्ठिने, कहिले प्रधानमन्त्रिका कुरा काट्ने, कहिले राष्ट्रपतीका कुरा, कहिले छिमेकीको छोरी उत्ताउली हुँदै गई, कहिले छिमेकिले बुहारीलाई धेरै दु:ख दिएकी छ भन्ने जस्ता बिषयमा कुरा काटेर पनि समय बिताईरहेका हुन्छौँ । कामको नाममा सिन्को पनि भाँच्नु पर्दैन । घरमुलि हुनुको मजा छ नि नेपालमा त । तर, अमेरिकामा त्यस्तो सान कहाँ पाउँनु र ! समय बिताउन पनि अनेक गफहरू गर्नु पर्ने हुन्छ । जुन, श्रीमती लगायत अन्य सदश्यहरूलाई मन नपर्न पनि सक्छ । मन नपर्ने  मात्र होइन । झर्को नै लाग्न सक्छ ।

अब त, पाण्डे दाईको घरमा उहाँ, उहाँकी श्रीमती र झट्केलो छोरा मात्र थिएनन्, उहाँकी श्रीमतीले आफ्ना बुवा आमा र दाजुभाई समेत बोलाई सक्नु भएको थियो र त्यही घरमा सँगै बस्नुहुन्थ्यो । अब विस्तारै पाण्डै दाई आफ्नै घरमा अल्पमतमा पर्नु भएको थियो । अब त्यो घरको निर्णयकर्ता उहाँ हुनुभएन । आफ्नो जिन्दगी भरको पसिनाले किनेको घरनै उहाँलाई आफ्नो जस्तो लाग्न छोड्यो । आफु नै त्यो परिवारमा अनपेक्षित पाहुना भएर बस्नु परेको जस्तो लाग्न लागेछ । त्यसैले झगडा गरेर दिनरात गुजार्नु भन्दा नेपाल गएर बस्नु उचित ठान्नु भएछ ।

नेपाल जाने निर्णय गरेपछि श्रीमतीलाई पनि सँगै जाने प्रस्ताव राख्नु भएछ । “हजुर बिना म बाँच्न सक्दिन अहिले नै हजुरसँगै अमेरिका जान्छु” भनेर सँगै अमेरिका आएकी प्रियसीले नेपाल फर्किन भने मान्नु भएनछ । पाण्डे दाईले बल्ल बुझ्नुभएछ आफ्नी श्रीमतीको मनोशाय  । मनमुटाव बढ्दै गएर अमिलो मन पार्दै २०२२ मा कान्छी श्रीमतीसँग पनि डिभोर्स गर्नु भएछ । २०२३ को मे महिनादेखी उहाँ एक्लै नेपाल गएर आफु जन्मेको माटोको सुगन्धको रसपान गरिरहनु भएको छ । बुढेशकालमा अमेरिका छोडेर जाने उहाँमात्र भने होइन । मैले चिनेकै धेरै व्यक्तिमध्ये केनी पाण्डे दाई एकजना हुनुहुन्छ ।

विश्वभरका मान्छेहरूको सपनाको देश अमेरिका । विद्यार्थीलाई अमेरिकन डिग्री चाहिएको छ, ब्यापारीलाई अमेरिका सामान निर्यात गरेर डलर भित्र्याउँनु परेको छ, धनाढ्यलाई अमेरिकामा लगानि गर्ने चहाना छ, कलाकारलाई हलिउडमा रोल चाहिएको छ, कामदारलाई अमेरिकामा रोजगार चाहिएको छ । त्यसैले हरेक क्षेत्रका मान्छेहरूको सपनाको देश हो -अमेरिका । त्यसैले अमेरिकन दुतावासले भिजा नदिएकाहरू महिनौँ लगाएर मेक्सिको हुँदै ज्यानको बाजी लगाएर पनि अमेरिका छिरेका छन् । उक्त क्रममा कतिपयले बाटोमै ज्यान गुमाए । महिनौँ लगाएर अमेरिका छिरेर बर्षौँपछी घर, गाडी, ब्यवसाय मालिक भएर मनज्ञ पैसा कमाएर बसेकाहरूले पनि ती दिनहरू सम्झिँदा गहभरी आँसु पारेको देखेको छु ।

अमेरिका छिराउँदा दलालले ५०/६० लाख लियो भनेर सत्तोसराप हाल्नेहरू छन् भने कोही भगवान ठान्नेहरू पनि छन् । दलालहरूलाई फेला पार्यो भने सरकारले जेल हालिदिन्छ । तर, सरकारमा पटक पटक ओहोदामा बसिसकेका ठुला राजनैतिक नेताहरूले ती दलालहरूले भन्दाबढी पैसा लिएर नक्कली भुटानि सरणार्थि बनाएर अमेरिका पठाएछन् । तर ती नेताहरूलाई भने केही दिन पछी जेल मुक्त गरियो । दलाललाई दिएको ५० -६० लाख रुपैयाँ नेपाल सरकारलाई दिएको ८-१० बर्षमा अमेरिकामा जती कमाउन पाउँने ब्यबस्था नेपालमै सरकारले गरी दियोस त कोही पनि रुँदै नेपाल छोड्दैनन् ।

अमेरिका छिरेको केही महिनासम्म कसरी खुट्टा टेक्ने भन्ने चिन्ता, त्यसपछी कसरी कागज बनाउँने भन्ने चिन्ता, कागज बनाउँन अमेरिकी वकिलको घुमाईमा घुम्नु पर्दाको सकस, त्यसपछी परिवार ल्याउने चिन्ता । परिवार आएको केही बर्षसम्म नयाँ माहोल हुन्छ । छोरा छोरीहरूको उत्सुकता, चाहना, उत्साहका देख्दा मक्ख परिन्छ । त्यतिमात्र कहाँ हो र ! धर्म पत्नीको साडी ब्न्लाउज र कुर्था सुर्वाल बदलेर जिन्स पाइन्ट, टि सर्ट र हाइ हिलजुत्तामा सजायर टिलिक्क परेको सपिङ्ग मल तिर हात समाएर घुम्दा कम्ता खुशी लाग्छ र !

यो खुशी पनि क्षणिक हुन्छ । यस्ता ति आनन्दका क्षणहरू पनि बिस्तारै बिस्तारै बिगत बन्दै जान्छन् । बिस्तारै मनमुटाउ हुँदै जान्छ ।  श्रीमान श्रीमती बिच पनि सम्बन्ध फिका हुँदै जान्छ । फिका हुने मात्र होइन झर्को मान्ने अवस्था आउंछ । त्यसैले अरू समाजका जोडीले डिभोर्स गरी हाल्छन् । तर नेपालीहरूलाई भने सँस्कारले बाँधेको छ ।  सकेसम्म डिभोर्स नै चाहीँ गरी हाल्दैनन् ।  अतिनै भयो भने त के गर्नु र !

एकजनाको कमाईले छोराछोरिको स्कुलदेखि अन्य खर्चको बोझले थिच्दै जान्छ । नेपाल हुँदा खानपिन गराएर मुसुक्क हाँसेर काममा जानलागेका श्रीमानलाई बिदा गर्ने र बेलुका घर फर्किँदा मायालु हातले एक ग्लास पानी टक्र्याउने श्रीमतीलाई अमेरिकामा बाध्यताबस काममा पठाउँनु पर्ने हुन्छ । दिनभरि काममा थाकेर आएकी श्रीमतीसँग अन्य आश के गर्नु र ? हुनत, आँफै पनि दिनभरि लखत्रान परेर आएकोसँग मर्दत्वको अनुभूति नै कसरी हुनु ? छोरा छोरीलाई स्कुलको समय तालिका अनुसार चल्नु पर्ने, पढ्नु पर्ने, नतिजामा राम्रो अङ्क ल्याउनु पर्ने चिन्ता, अविभावकलाई छोराछोरीको चिन्ता । छोरा र छोरीहरूले आफु खुशी हप्सी, मेक्सिकन, अरबी जस्ता अर्कै समुदायका तथा अन्य देशका जीवन साथी रोज्लान भन्ने चिन्ता ।

श्रीमान श्रीमतीले कमाएर जोरजाम गरेको केही रकम डाउन पेमेन्ट राखेर ३० बर्ष सम्म तिरी रहनु पर्ने गरी घर किनिन्छ । घर मालिक भए पछी सुरुमा किनेको टोयोटा कोरोला फेर्नै पर्यो । कारको पैसा त ३ बर्षमा चुक्ता हुन्छ तर घरको ऋण आफु बाँचुन्जेलसम्म पनि तिर्न गाह्रो हुन्छ । पच्चिस बर्ष लगातार किस्ता तिरिरहे पनि अचानक कारणवस केही किस्ता तिर्न असमर्थ भएमा बैँकले घर लागि दिन्छ । अव त्यस्तो हुने घरलाई आफ्नो कसरीभन्ने ? कि त त्यस्तो हुन नदिनलाई चर्को मुल्यको बिमा किन्नु पर्योत । बिमा पनि कति मात्र किन्नु  ? जीवन बिमा,गाडी बिमा, घर बिमा, टिभी बिमा, फोन बिमा, स्वास्थ्य बिमा आदी कति छन् कति ।

हाडछालाको शरीर न हो । बेलाबेलामा बिरामी हुन्छ नै । स्वास्थ्य बिमा नभएको बिरामीलाई अस्पातलले पनि खासै महत्व दिँदैन । अस्पातल पुगे पनि  साधारण सोधपुछ गरेर झारा टारेर केही सामान्य औषधी मात्र दिएर पठाइ दिन्छ । १५०० डलर भन्दा माथि कमाई हुनेहरूले विमा शुल्क बढी लाग्छ । बिमा भएर पनि सबै पैसा कभर गर्दैन । को पे तिर्नु पर्ने हुन्छ । तै पनि रोगले च्यापी सकेको हुन्छ बिशेषज्ञसँग अपोइण्मेण्ट पाउन महिनौँ कुर्नु पर्ने हुन्छ । कि इमर्जेन्सीमा जाने खालको सिकिस्त बिरामी हुनुपर्यो ।

मोर्गेज तिरिसकेपछी पनि स्वतन्त्र कहाँ भईन्छ र ! घरको सरकारी कर कमाई भए पनि नभए पनि बुढो भएर असक्त भए पनि कर तिर्नै पर्ने हुन्छ । बिजुली पानीको महशुल तिर्नै पर्ने हुन्छ ।  १८ बर्ष उमेर पुगेपछी घर छोडेर छुट्टै बस्ने अमेरिकि सँस्कारले हामी नेपालीलाई अर्को झट्का लाग्छ । सकिनसकी जन्माएर, आफु हरेक दिन काममा पेलिएर हुर्काएका छोरा छोरी घर छोडेर गईदिन्छन् । आफ्ना अभिभावकलाई घ्रिणा गरेर होइन । अमेरिकाको सँस्कार अनुसार चलेका मात्र हुन् ।

अमेरिकामा आफ्ना छोराछोरी प्रति  गरेको त्याग नेपालमा जसरी प्रतिफलमा बदलिँदैन । न त श्रीमतिको मनमा पतिदेवको रूपमा बास पाइरहिन्छ । अनी केका लागि बिहे अनी केका लागि छोरा छोरी जन्माउने हुर्काउने पढाउँने ? त्यसैले बिहे गरेर बन्धनमा बस्ने र छोरा छोरी पाउने जस्ता कामहरू केही बर्ष पछी ईतिहासमा मात्र पढ्न पाईने हुन सक्छ । लिभिङ्ग टुगेदरको चलनले जिउन अली सजिलो हुन थालेको थियो । त्यो पनि आजकल ६ महिना सँगै बसेको जोडीलाई श्रीमान श्रीमतीको दर्जा कानुनले स्वत दिने र सेवा सुबिधा दिनु पर्ने चलन कतिपय ठाउँहरूमा आईसकेको छ ।

त्यसैले, मानव सभ्यताले अर्को मोड लिने दिन आउन सक्ने सम्भावना देखिन्छ । जीवनभर आफ्नो श्रीमती छोराछोरी आफन्तहरूको चिन्ता गर्दा गर्दै अन्तत: आफ्नै जीवन ती सबैबाट एक्लिएर घरमा नोकर तथा सहयोगिको भरमा काल कुर्नु पर्ने बाध्यता अन्य समाजमा भए झैँ नेपाली समाजमा पनि आउन धेर समय लाग्ने छैन । नेपालका सरकारी उच्च ओहोदामा बसेर छोरा छोरीहरूलाई स्तरिय उच्च शिक्षाका लागि बेदेश पठाउनेहरू पनि अहिले त्यती खुशी देखिँदैन । नेपालमा बसुन् भने आफ्ना सन्तान कोही छैनन् । विदेश बस्ने छोरा छोरीकाहाँ आउन् त नाती नातिनाको हेरचाह गर्नु बाहेक अरू केही गर्ने दिनचर्या हुँदैन । जिन्दगीभर गरेको दु:ख यही नाती नातिनाको सुसारे हुनलाई हो त ? अली दिन पो आफ्ना नाती नातिनासँग खेल्न बस्न प्यारो लाग्छ । सँधै त के लाग्ला र ?

बच्चाका हजुर आमा त नारीहरूको त स्वभावनै त्यस्तो गर्न मन लाग्ने खालको हुन्छ । तर पुरुषको नि ? “भन्न नहुने ब्यथा साह्रो” भने झै भएको छ । खुसी हुन नसकेको मनलाई बाँधेर कहिलेसम्म अरूको सामु ङिच्च हाँस्न सकिन्छ र ? जीवनको सुरुवातमा पैसाको अभावले खुसी निमोठ्छ  । उतरार्धमा सम्पन्नताले खुसीलाई निमोठ्छ । अन्तमा पैसाको होइन जन्मेको ठाउँको माटोको सुगन्धमा लुट्पुटिन मन लाग्छ । यो हरेक नेपालीको चाहना हुनसक्छ ।

त्यसैले, आज विद्याबारिधिवाला डा. केनी पाण्डे नेपाल फर्किए । भोली मेडिकल डाक्टर, पर्सी इन्जिनियर, ब्यापारी तथा ब्याबसायी कामदारहरू फर्केर बेलैमा आफ्नो चाहना पुरा गर्ने छौँ । तर, कोही भने आफु जन्मेको माटो सम्झेर गहभरि आँसु टल्पल पार्दै परदेशी भूमिमा एकमुठी प्राण त्याग्न वाध्य हुँनेछौँ ।

-राम लामा अविनाशी 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }