शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले नआएपनि समाजवादी मोर्चा अगाडी बढ्छः उपाध्यक्ष भुसाल


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ९, २०८०
  • 47
    SHARES

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ नेकपा(एमाले) नआएपनि मोर्चा कायम रहने बताउनुभएको छ ।

शुक्रवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा सत्तारुढ दल नेकपा(एमाले) सहभागि नभएपनि मोर्चा कायम रहने बताउनुभएको हो । उहाँले वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने बताउनु भयो । उहाँले समाजवादी मोर्चा विगतमै बनेको उल्लेख गर्दै अहिले सत्ता समिकरण फेरिँदा एमाले पनि सरकारमा रहेका कारण समाजवादी मोर्चाप्रति एमाले भ्रमित हुनु नहुने बताउनु भयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले एमालेसँग छलफल गरेपछि समाजवादी मोर्चा अझै वृहत हुनसक्ने बताउनु भयो । उहाँले एमालेसँग सत्ता सहकार्य भइरहेकाले एमाले मोर्चामा नआएपनि आपसी असमझदारी हुनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आज बसेर गरेको के थियो भने हिजो समाजवादी मोर्चा बनाउँदा हामी नेपाली काँग्रेससहितको सत्ता गठबन्धनमा थियौँ । त्यहाँ हामीले सरकारमा भएका र नभएकाहरुको हो समाजवादी मोर्चा, सडकमा भएका पनि, सदनमा र सरकारमा भएकाहरुको पनि । त्यहाँ एउटा छलफल, समझदारी गरेर हामी बनाउँछौँ । चलाउँछौँ । हाम्रो समझदारीमा फरक नपरोस् भनेर बनाएको बेला थियो । अहिले फेरि नयाँ सहकार्य थालनी भयो । अहिलेको सहकार्यमा समाजवादी मोर्चामा नभएकामध्ये नयाँ दलहरु हुनुहुन्छ ।

त्यसैले उहाँहरुसँग पनि समझदारी गरेर यसलाई अगाडी बढाउने कुराको, विद्यमान मोर्चा अगाडी बढाउने कुरा पनि भयो । सम्भव भयो भने अरु पनि सहभागि हुन सक्नुहुन्छ । तर सरकारमा एक ठाउँ हुने, मोर्चा अर्को ठाउँमा हुँदाखेरी आपसमा कुनै त्यस्तो असमझदारी नहोस् भन्नलाई छलफल नभइसकेको बेला रहेछ । हाम्रो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीले एकचोटी नेकपा(एमाले)का अध्यक्षसँग पनि छलफल गर्नुहुन्छ । त्यसपछि हामी संयुक्त मोर्चामा रहन पनि सक्छौँ । अथवा सरकारमा सहकार्य त हाम्रो छदैछँ ।

त्यसले मोर्चाको कामलाई अगाडी बढाउँदा कुनै कन्फ्युजन नहोस् भन्नका लागि वातावरण बनाउनका लागि छलफल भएको हो । मोर्चा छ । यसको औचित्यता छ । आवश्यकता छ । यसमा अहिले सरकारमा भएका र नभएकाहरुको सहभागिता छ । तर एउटा वाम, समाजवादी हुनुको नाताले आउनुभयो भनेपनि(एमाले) ठिकै छ । तर नआएपनि हामी यो मोर्चालाई अगाडी बढाउँछौँ । यसको उद्देश्य यो हो भनेर आपसी असमझदारी सरकारमा एक ठाउँमा हुने मोर्चामा नहुँदाखेरीको कुनै कन्फ्युजन नहोस् भन्नलाई पनि यो बारेमा छलफल भएको हो । एमालेसँग पनि छलफल गरेर एउटा समझदारी बनाएपछि वृहत खालको पनि हुनसक्ने भयो । भएन भनेपनि हामी फेरी यसलाई अगाडी बढाउँछौँ ।’

उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा आवद्ध पार्टीहरुका बीचमा नीति, कार्यक्रमहरुमा सहमती बन्दै गएमा एकताको तहसम्म पुग्ने बताउनु भयो । हाल मोर्चाले समाजवादको आधार तयार पार्ने र सो प्रकारको नीति, कार्यक्रम बनाउने उद्देश्य अनुरुप काम गरिरहेको उहाँले जानकारी दिनुभयो । मोर्चाले सरकारको नीति, कार्यक्रम र बजेटलाई समाजवादी बनाउनका लागि सल्लाह सुझाव पनि दिने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘यसले समाजवादको आधार तयार पार्ने, त्यो प्रकारका नीति, कार्यक्रम बनाउने यसको एउटा उद्देश्य हो । अर्को चाहीँ तलैसम्म मोर्चा बनाएर लिएर गएर धरातलसम्म पु¥याउने र काहीँ एउटा सन्दर्भमा गएर साझा नीति, कार्यक्रममा सहमती हुँदै गए त सहकार्यले फेरी हामीलाई एउटै संगठन बनाउनेमा पनि जानसक्छ । समान धारणा भएका, छरिएर बसेका शक्तिहरु एक ठाउँ, एउटा मोर्चामा आएर समान बुझाइ, समान कार्यबाट अगाडी बढ्ने बनाएर समाजवादलाई प्रचारप्रसार गर्ने र जनतामा जाने । जस्तो अहिले समाजवादी मोर्चामा भएका तीन वटा घटक सरकारमा छौँ हामी । समाजवादको आधार तयार पार्ने कस्ता नीतिहरु तयार हुने ? सरकारको नीति, कार्यक्रम, बजेट आउँदैछ । त्यसकारण त्यतापट्टी लक्षित गरेर फेरि सरकारका नीति, कार्यक्रम बनाउन फिटब्याक दिने कुरा पनि हुनेभयो । आम जनतालाई समाजवादको आन्दोलनमा संगठित गर्ने साझा मोर्चा पनि हो ।’

उपाध्यक्ष भुसालले आम जनतालाई समाजवादको आन्दोलनमा संगठित साझा मोर्चाको रुपमा समाजवादी मोर्चा रहेको पनि बताउनु भयो । उहाँले आगामी दिनमा वाम ध्रुविकरण गर्दै देशमा एउटै कम्युनिस्ट पार्टी बनाउने आधार तयार गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }