मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उपप्रधानमन्त्री लामिछानेले सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनीरुपमा दुई करोड रुपैयाँ लिएको पुष्टि


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ४, २०८१
  • 45
    SHARES

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनीरुपमा दुई करोड रुपैयाँ लिएको पुष्टि भएको छ ।

रुपन्देही जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनमा लामिछानेले २ करोड रुपैयाँ ऋण लिएको उल्लेख छ । यो सहकारी ठगी प्रकरणमा १८ जनालाई प्रतिवादी बनाएर रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । तर लामिछानेले उन्मुक्ति पाएका छन् ।

जितेन्द्रबाबु (जीबी) राई नेतृत्वमा बुटवलमा खुलेको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनी रुपमा लामिछानेको नाममा ऋण प्रवाह भएको अभियोगपत्रमा उल्लेख छ । जिल्ला अदालतमा पेश गरिएको अभियोगपत्रमा ‘लामिछानेका नाममा ऋण खडा गरी २०७७ चैत १८ गते गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा सेवा शुल्क ४ लाख कट्टी गरी १ करोड ९६ लाख रुपैयाँ जम्मा गरिएको’ उल्लेख छ ।

प्रहरी र सरकारी वकिल कार्यालयले गरेको अनुसन्धानको मिसिलमै रविले सहकारीबाट गैरकानूनी रुपमा रकम लगेको प्रमाणहरु उल्लेख गरे पनि प्रहरीले लामिछानेसँग सामान्य सोधपुछसमेत पनि गरेको छैन । उनलाई प्रहरीले अभियुक्त बनाएन भने सरकारी वकिलको कार्यालयले पनि त्यसमा कुनै पनि प्रतिक्रिया नदिई मुद्दा दायर गरेको छ ।

सहकारी ठगी मुद्दामा प्रहरीले अनुसन्धान गरी दायर गरेको मुद्दाको अभियोगपत्रमा गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीबाट १४ करोड २९ लाख रुपैयाँ लगानी भएको देखिएको छ । गोरखा मिडिया नेटवर्क त्यही संस्था हो, जसले ग्यालेक्सी टिभी सञ्चालनमा ल्याएको थियो । जसमा रवि लामिछानेको नाममा १५ प्रतिशत शेयर थियो ।

सहकारीमा रकम बचत गरेका १८ सय २८ जना बचतकर्ताहरुको उजुरीपछि सहकारीको रकम हिनामिना, अपचलन र ठगीमा इलाका प्रहरी बुटवलले अनुसन्धान गरेको थियो ।

सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जीबी राई, दीपेश पुन, सागर केसीलगायत २८ जनालाई प्रतिवादी बनाएर अभियोगपत्र दर्ता गरेको हो ।

अभियोगपत्रमा २८ जनाबाट ८६ करोड १८ लाख २३ हजार सात सय ५४ रुपैयाँ बिगो माग दाबी गरिएको छ । सहकारी ऐन २०७४ को दफा १२२ को कसुरमा, दफा १२४ को उपदफा १ अन्तर्गत सजाय गर्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले अदालतसमक्ष अभियोगपत्र पेस गरेको हो । उनीहरुलाई आठ वर्षसम्म कैद तथा दाबी गरिएअनुसारको बिगो भराउन माग गरिएको छ ।

प्रतिवादीमा सहकारीका पदाधिकारी, पूर्वपदाधिकारी, कर्मचारी तथा रकम हिनामिना गरेका ऋणीहरु रहेको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता मुक्तिराम सुवेदीले बताए ।

प्रतिवादी बनाइएकामध्ये आठजना पक्राउ परिसकेका छन् । सहकारीका पूर्वसचिव रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशले तीन लाख रुपैयाँ पेस्की लिएको अभियोगपत्रमा उल्लेख छ । एक हजार आठ सय २८ जना सहकारी पीडितको जाहेरीपछि प्रहरीले सहकारी ठगीको संगठित अपराधमा ५८ दिन लामो अनुसन्धानपछि गत शुक्रबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }