काठमाडौं- लगातार छटौँ कारोबारसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुधार आएको छ। साताको पहिलो कारोबार दिन आइतबार झण्डै ४ अंकले गिरावट आएको नेप्से सोमबार २३ अंकले बढेको हो।
लगातार ६ दिन गिरावट हुँदा नेप्सेमा ४८ अंक घटेको थियो। सोमबार बढेसँगै नेप्से २६३२ विन्दुमा पुगेको छ।
नेप्सेमा सोमबार भएको कारोबारमध्ये १८५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। साथै, ६० कम्पनीको मूल्य गिरावट हुँदा दुई कम्पनीको मूल्य स्थिर भएको छ।
कारोबारका आधारमा आज सात अर्ब ३५ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ। यो अघिल्लो दिनको तुलनामा एक अर्ब १५ करोड कम हो।
आज कारोबार भएकामध्ये ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, तेह्राथुम पावर कम्पनी लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको मूल्यमा सकारात्मक सर्किट लागेको हो।
यस्तै, आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले गिरावट आएको हो।
