बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नीतिगत स्थायित्व प्राथमिकतामा: गभर्नर पौडेल

लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक : महासंघ अध्यक्ष ढकाल


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ८, २०८२
  • 318
    SHARES

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरुसंगको छलफलका आधारमा मौद्रिक लगायत केन्द्रीय बैङ्कका नीति तय गरिने बताउनु भएको छ ।

निजी क्षेत्रको प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसङ बुधवार राष्ट्र बैङ्कमा भएको भेटमा गभर्नर डा. पौडेलले केन्द्रीय बैङ्कका निर्णयहरू पूर्वानुमानयोग्य हुने बताउनु भयो । “निजी क्षेत्र अर्थतन्त्रको संवाहक हो । अर्थतन्त्र चलायमान हुन स्थायित्व आवश्यक छ । निर्णयहरू पूर्वानुमानयोग्य हुनु पर्दछ । बैङ्किङ क्षेत्रमा आकस्मिक कुनै निर्णय गर्नु भन्दा सरोकारवालाहरुसंग बसेर छलफल गरेर अगाडि बढ्दा नै नीतिगत स्थायित्व कायम गर्न सकिन्छ भन्ने मेरो धारणा हो ।” उहाँले भन्नु भयो । गभर्नर पौडेलले राष्ट्र बैङ्कले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताउनु भयो ।

नवनियुक्त गभर्नरलाई बधाई तथा शुभकामना दिँदै महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले केन्द्रीय बैङ्कलाई लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउन सुझाव दिनु भयो । उहाँले राष्ट्र बैङ्कले लगानीमैत्री वातावरण निर्माण गर्दै देशको आर्थिक समृद्धिका लागि भूमिका खेल्नु पर्ने बताउनु भयो । “चालु आ.व. मा कर्जाको ब्याजदर न्यून हुँदा समेत कर्जा विस्तार हुन नसकेको सन्दर्भमा निजी क्षेत्रको मनोबल बढाउन मौद्रिक र गैर मौद्रिक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ । नीतिगत अस्थिरता लगानीको मुख्य बाधक रहेको सन्दर्भमा हामीले लगानी दशक घोषणा गर्दै एकीकृत नीति र १० वर्षसम्म स्थिर नीतिको माग गरिरहेका छौँ । केन्द्रीय बैङ्कका नीतिहरू पनि स्थिर हुन आवश्यक छ । ” अध्यक्ष ढकालले भन्नु भयो ।

उहाँले देशको समग्र अर्थतन्त्र चलायमान हुन ग्रामीण अर्थतन्त्र चलायमान हुनु पर्ने उल्लेख गर्दै विप्रेषण आ प्रवाह खुला र सहज बनाउनु पर्ने सुझाव दिनुभयो । अध्यक्ष ढकालले बजार चलायमान हुन नसक्नुको अर्को मुख्य कारण चालु पूजी कर्जा सम्बन्धी मार्ग दर्शन रहेको हुँदा यसलाई क्षेत्र हेरि सहज बनाउनु पर्ने बताउनु भयो ।

महासङ्घले विगत वर्षहरूमा उच्च व्याज दरका कारण व्यवसायी एवं सर्वसाधारण समेतले कर्जाको किस्ता तिर्न नसक्दा चालु आ.व.मा खराब कर्जा बढ्दै गएको उल्लेख गर्दै कर्जाको पुनर्तालिकीकरण तथा पुन संरचना गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव गर्भनरलाई दिएको छ ।

सो अवसरमा महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हुँदा पनि देशको समग्र अर्थतन्त्र चलायमान हुन नसकेको उल्लेख गर्दै समग्र अर्थतन्त्र चलायमान हुनेगरि केन्द्रीय बैङ्कले भूमिका खेल्नु पर्ने बताउनु भयो ।

यस्तै वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बैङ्कमा रहेको तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तथा उद्योग र व्यापारलाई दिइने कर्जाको व्याजमा अन्तर गर्नु पर्ने सुझाव दिनु भयो ।

सो अवसरमा महासङ्घका उपाध्यक्षहरू हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र कोषाध्यक्ष भरतराज आचार्यले केन्द्रीय बैङ्कले अवलम्बन गर्ने मौद्रिक उपकरणहरू बजारमा माग सिर्जना गर्न लक्षित हुनुपर्ने सुझाव दिनु भयो ।

यस्तै महासङ्घको प्रतिनिधिमण्डलले गभर्नर पौडेललाई सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसाय भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाइ तत्काल लागु गर्नुपर्ने, साना तथा मझौला उद्यमीलाई पुर्न कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने तथा परियोजनाको सम्भाव्यताको आधारमा परियोजना कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था हुनुपर्ने लगायतका सुझाव दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)