बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली सङ्गीत क्षेत्रमा स्थापित नाम वीरेन्द्र सिंह भाट’बिपिन’


  • माउन्टेन खबर
  • बिहिबार, असार २६, २०८२
  • 295
    SHARES

फोटोग्राफरलाई सबैले घेरेको देख्दा बाल मस्तिष्कमा के छाप पर्‍यो कुन्नि ! वीरेन्द्र सिंह भाट’बिपिन’लाई कलिलो उमेरदेखि नै क्यामेरा म्यान बन्ने रहर लागेको थियो । फोटोग्राफरको मान र सानले गर्दा क्यामेराप्रति जिज्ञासु बनेको र लोभिएको उनको मन त्यो बेला स्टिल क्यामेरामै सीमित भए पनि त्यो बाल रहरको परिणाम स्वरूप आज उनी नेपाली सङ्गीत क्षेत्रमा स्थापित छायाकार, सम्पादक र निर्देशकका रूपमा चिनिएका छन्। उनलाई सङ्गीत क्षेत्रका ‘त्रिवेणी’ को रूपमा पनि चिनिन्छ । ‘मलाई क्यामेराको यति रहर लागेको थियो कि सानैमा घरमा पनि थाहा नदिई त्यो बेला चल्तीमा रहेको अटोमेटिक यासिका क्यामेरा किनेको थिएँ’ उनले आफ्नो विगत स्मरण गर्दै भने ।

वास्तविक नाम वीरेन्द्र सिंह भाट भए पनि कर्म क्षेत्रमा उनी वीरेन्द्र भाट ‘विपिन’को नामले चिनिने गर्दछन् । बैतडीको साबिक गजुर गाबिस-८ र हालको पाटन नपा-३, सुका बैना निवासी पिता शङ्कर सिंह भाट र माता जानकी भाटको परिवारमा उनी पहिलो सन्तानको रूपमा जन्मिएका थिए भने उनका २ भाइ र २ बहिनी छन् । कक्षा ८ सम्म तत्कालीन गजुर निमाविमा, त्यसपछि कृष्ण मावि, पाटन बाट एसएलसी  पास गरेका हुन् भने पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह पास गरे ।

एसएलसी पास गर्दासम्म क्यामेराप्रतिको उनको मोह र जिज्ञासा झन् झन् बढेको थियो। त्यसैले ०५८ मा रिजल्ट नआउँदै उनी काठमाडौँ आए। मामाका छोरा दाइ दिनेश महराको काठमाडौँमा ‘क्लासिक’ नामको इक्युप्मेन्ट हाउस थियो। उनी ६ महिना जति दाइसँगै बसे र केही अनुभव अनि केही आत्मविश्वास बोकेर घर फर्किए । ०६० सालमा पुनः काठमाडौँ आएका विपिनले भिजन नेपाल नामक संस्थाको रिसेप्सनमा काम गरे । जहाँ उनले वरिष्ठ क्यामेरा म्यान रवीन्द्र बरालसँग मुभी क्यामेरा र निशान घिमिरेसँग सम्पादन सिक्ने मौका पाए। एक दशकसम्म भिजन नेपालमा आबद्ध रहेका विपिनले ०६४ मै पहिलो पटक कुमार के.सी.को निर्देशनमा निर्माण भएको म्युजिक भिडिओ छायाङ्कन गरेका थिए भने सो १० बर्से अवधिमा ८ वटा भिडिओको छायाङ्कन र एउटा निर्देशन समेत गरी उनले केही हदसम्म आफूलाई परिपक्व बनाएका थिए। विविध कारणले भिजन नेपाल बन्द भएपछि उनी बागबजारस्थित कमल विष्टको मुनामदन फिल्म्समा क्यामेरा म्यान र भिडिओ सम्पादकका रूपमा आबद्ध भए । सम्पादन गर्दै जाँदा सो विधाप्रति पनि रुचि बढ्दै गएपछि उनले त्यसलाई समानान्तर रूपमा निरन्तरता दिए ।

मेजर अङ्ग्रेजीमा स्नातक गरेका विपिनले त्यसपछिको पढाई लाई भने निरन्तरता दिएनन्। वीरेन्द्रले विभिन्न समयमा सम्पादक तथा छायाकारका रूपमा माउन्टेन टिभी, माउन्टेन म्युजिक, च्यानल नेपाल,भिजन नेपाल फिल्म एन्ड इन्भेस्टमेन्ट, फोटो भिजन नेपाल, सुनकोसी टेलिभिजन, स्टार कल्चर, पञ्चामृत मिडिया एन्ड फिल्म लगायतका संस्थामा आबद्ध भई काम गरेका छन् । ०६९ सालमा कालिकोटका अर्का उत्साही युवा गायक, म्युजिक ए रेन्जर तथा आर. जे. सुरेश शाही र वीरेन्द्रले संयुक्त स्वामित्वको कम्पनी ‘वर्ल्डकभर मिडिया’ खोले। जहाँबाट म्युजिक भिडिओ निर्देशन, छायाङ्कन, सम्पादन, वृत्तचित्र निर्माण लगायतका कामहरू हुन थाले र हालसम्म पनि भई रहेका छन् । यी दुई उत्साही युवाको यो सहकार्य आजसम्म पनि निरन्तर चलिरहेको छ ।

कुनै समय मुम्बईका गिनेचुनेको राम्रा फिल्म सम्पादक मध्येका एक तुलसी घिमिरे पछि गएर नेपालका एक विशिष्ट कोटीका निर्देशक बने। त्यो बेलाको प्रविधि फरक थियो। चलचित्र ‘क्यान’ मा खिचिन्थ्यो भने सम्पादनका धेरैजसो काम कैँचीले रिल काटेर गरिन्थ्यो। चलचित्र निर्देशनको पढाई या अनुभव दुवै नभए पनि तुलसी घिमिरे सम्पादनको ‘आईडोलोजी’ प्रयोग गर्दै निर्देशक बनेका थिए र उनको यो ‘म्याथड’ सही अर्थमा पनि थियो। एउटा कुशल सम्पादक सम्पादनकै ‘म्याथड’ प्रयोग गरी स्वतः निर्देशक बन्न सक्छ भन्ने उदाहरणको लागि यो प्रसङ्ग उल्लेख गरिएको हो। जुन कुरा अहिले पनि लागू हुन्छ। वीरेन्द्र पनि बिना गुरुका म्युजिक भिडिओ निर्देशक हुन् । उनी पनि तुलसी घिमिरे झैँ सम्पादनकै अनुभवलाई आधार बनाएर स्वयं निर्देशक बनेका प्रतिभाशाली सर्जक हुन् । अतः एउटा कुशल सम्पादक बिना गुरु पनि निर्देशक बन्न सक्छ, तर कोही पनि निर्देशक, बिना प्रशिक्षण कदापि सम्पादक बन्न सक्दैन ।

नेपाली म्युजिक भिडिओको क्षेत्रमा उत्कृष्ट कहलिएका छायाकार/सम्पादकहरू मध्येका एक वीरेन्द्र भाट विपिन पछिल्ला केही वर्ष यता भिडिओ निर्देशकका रूपमा समेत चर्चामा छन्। उनको मुख्य विधा छायाङ्कन र सम्पादन भए पनि लामो समय अघिदेखि उनी म्युजिक भिडिओ निर्देशनमा पनि सक्रिय रहँदै आएका छन्। पहिलो पटक ०६८ सालमा सन्तोष श्रेष्ठको सङ्गीत र वाङ छिरिङ शेर्पाको स्वर रहेको आधुनिक गीत ‘विरहको वेदना’ को भिडिओ निर्देशन गरी निर्देशनमा पाइला बढाएका वीरेन्द्रले त्यसपछि निर्देशन कर्मलाई पनि निरन्तरता दिई रहेका छन् । भिडिओ निर्देशन, छायाङ्कन र सम्पादन गरी तीनै विधामा उत्तिकै कुशल वीरेन्द्र ग्राफिक र एनिमेसनका पनि कुशल प्राविधिक हुन् । म्युजिक भिडिओ,  वृत्तचित्र लगायतका श्रव्य दृश्य सामग्रीहरूको प्रोडक्सन हाउस ‘वर्ल्डकभर मिडिया’ का प्रबन्ध निर्देशक समेत रहेका बहु आयामिक वीरेन्द्रलाई गीत दिएपछि चारतिर नडुली एकै थलोबाट कलाकारहरूले ‘कम्प्लिट’ भिडिओ पाउने गरेका छन्।

भिडिओ निर्देशनका लागि कसैलाई गुरु नबनाएका वीरेन्द्र अरूलाई सहयोग गर्न र आफूले जानेको कुरा अरूलाई सिकाउन सधैँ तत्पर रहने गर्दछन् यसै गरी उनले म्युजिक भिडिओ निर्देशनको विधामा पनि पावर न्युज अवार्ड २०७५ र बुस्टर म्युजिक अवार्ड २०७५ प्राप्त गरिसकेका छन् । त्यसैले त उनी आफ्नो क्षेत्रमा सबैका प्रिय समेत छन् ।

बैतडी जस्तो दुर्गम जिल्लाको एउटा विकट गाउँबाट राजधानी आएर आफ्नै इच्छा शक्ति र निरन्तरको मेहनतले सफलताको यो उचाइमा आई पुगेका वीरेन्द्र भाट ‘विपिन’ले हालसम्म ५ दर्जन जति म्युजिक भिडिओ निर्देशन गरिसकेका छन् भने ४ हजार २ सय भन्दा बढी म्युजिक भिडिओ, वन झाँक्री, हजारी, हरेरामकी आमा, मेरो कथा, बहिनीको माया, नेटवर्क, मेरो स्कुल, मधु मालतीको कथा, छिमेकी, शत्रु आदि लगायत १ दर्जन कथानक चलचित्र, लगभग ३ सय वृत्तचित्र र १ दर्जन बढी छोटा चलचित्र (सर्ट मुभी) को सम्पादन गरिसकेका छन् । उनले १० वटा सरकारी वृत्तचित्र तथा ‘नेटवर्क, मेरो स्कुल र शरदका पातहरू’ नामका तीन वटा चलचित्र छायाङ्कन समेत गरेका छन् । ग्राफिक्स र एनिमेसनमा समेत पारङ्गत विपिनले दर्जनौँ टिभीसीहरु पनि बनाएका छन्। जिनियश वर्ल्ड रेकर्ड भिडिओ सम्पादक अवार्ड २०२१ प्राप्त गरेका वीरेन्द्रले सम्पादन विधाबाट नै जन दृष्टिकोण अवार्ड-०६९, नेशनल क्यापिटल अवार्ड ०७३, छाया छवि तीज म्युजिक अवार्ड-०७३,फाल्गुनन्द फिल्म अवार्ड ०७५, छाया छवि तीज म्युजिक अवार्ड-०७५, सुन्दरादेवी म्युजिक अवार्ड २०७५, म्युजिक खबर म्युजिक अवार्ड २०७५, मनास्लु नेशनल अवार्ड २०७५, अमिन नेशनल म्युजिक अवार्ड २०७५, सगरमाथा म्युजिक अवार्ड २०७६, म्युजिक खबर म्युजिक अवार्ड २०७६, छाया छवि तीज म्युजिक अवार्ड २०७७, हिमालयन इन्टरनेट अवार्ड २०२२, ११ औं नेपाल अफ्रिका फिल्म फेस्टिभल वेस्ट सम्पादक अवार्ड, सगरमाथा म्युजिक अवार्ड २०८१ लगायतका राष्ट्रिय स्तरका अवार्डहरू प्राप्त गरिसकेका छन्।  म्युजिक भिडिओ निर्देशनको विधामा पनि पावर न्युज अवार्ड २०७५ र बुस्टर म्युजिक अवार्ड २०७५ प्राप्त गरिसकेका वीरेन्द्रले पीम नेपाल म्युजिक अवार्ड, सुदूरपश्चिम इन्भेस्टमेन्ट अवार्ड र नेपाल म्युजिक एन्ड फेशन अवार्डमा निर्णायकको जिम्मेवारी समेत पूरा गरिसकेका छन् ।

नेपाली सङ्गीत क्षेत्रमा कुशल सम्पादक मात्र नभई असल व्यक्तिका रूपमा समेत परिचित वीरेन्द्र भाट विपिनलाई ‘जिरो लेभल’बाट सङ्घर्षका विभिन्न चरणहरू पार गर्दै कर्म क्षेत्रमा सफलताको सुखद विन्दु चुमेका एक प्रेरक पात्रका रूपमा मूल्याङ्कन गर्न सकिन्छ । परिवारका समेत एक आदर्श अभिभावक वीरेन्द्र श्रीमती नारु भाट, भाइ लोकेश भाट , छोरी बिनिशा भाट र छोराहरू ब्रायन र बेन्शन भाट सहित राजधानीमा बसोबास गरिरहेका छन् । दुई दशक भन्दा लामो सङ्गीत यात्रामा कथानक चलचित्र, म्युजिक भिडिओ, वृत्तचित्र, धारावाहिक चलचित्र, टेलिभिजन विज्ञापन लगायतका श्रव्य दृश्य सम्बन्धी छायाङ्कन/सम्पादन गरिसकेका वीरेन्द्रले नयाँ पुस्ताका सङ्घर्षरत कलाकारदेखि शक्ति वल्लभ, डा. भोला रिजाल, गोपाल प्रसाद थपलिया, शिशिर योगी, टङ्क के.सी., लिलुमाया गुरुङ, मीन के.सी., आनन्द कार्की, दीपेन्द्र अधिकारी, हरि बहादुर राउत, गोविन्द दुलाल, सन्तोष श्रेष्ठ, मिठा राम के. सी. , दीपक समीर , नरहरि प्रेमी , डी आर राई  आदि जस्ता विशिष्ट एवं लोकप्रिय सर्जक-कलाकारहरुसँग सहकार्य गरिसकेका छन् । सानैमा स्टिल क्यामेराप्रतिको मोह नजागेको भए सायद उनी अहिले बैतडी तिरै कुनै व्यापार गरिरहेका या स्कुलतिर पढाई रहेका हुन्थे कि !

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)