काठमाडौँ – हङकङका प्रथम महिला सगरमाथा आरोही ५० वर्षीय साङ यिङ हङ (यदा) ले ८१६३ मिटर अग्लो मनास्लु हिमालको आधार शिविरदेखि चुचुरोसम्म केवल १८ घण्टा ५३ मिनेटमा आरोहण गरी महिलातर्फ स्पिड रेकर्ड कायम गरेका छन् । “उहाँहरु सेप्टेम्बर २२, सोमबार साँझको ६ः०३ बजे आधार शिविरबाट हिँड्नुभएको हो र मङ्गलवार दिउँसो १२ः५६ मा चुचुरोमा पुग्नुभयो”, आधार शिविरबाट पायोनिर एडभेन्चरका आरोही डुक्पा शेर्पाले जानकारी दिनुभयो ।

“हामीले रेकर्डको लागि आरोहण गरेको होइन । फुर्वा र निमा मलाई असाध्यै मन पर्ने आरोही भाइहरू हुन् । उनीहरूसँग केही चुनौतीपूर्ण काम गरौँ भन्ने थियो । स्पिड आरोहणले मलाई आफ्नो सिमाना फराकिलो बनाउन मद्दत गर्छ र यो यस्तो चुनौती हो जहाँ मैले आफ्नो क्षमता बुझ्न, बढाउन र अझै निखार्न सक्छु ।” भर्खरै आधार शिविर झरेका यदाले बताउनुभयो । सन् २०१७ मा सगरमाथा आरोहण गर्ने पहिलो हङकङेली बनेकी यदाले सन् २०२१ मा मात्र २५ घण्टा ५० मिनेटमा सगरमाथाको आरोहण गरी महिलातर्फको स्पिड रेकर्ड राखेकी थिइन् ।

उनले त्यति बेला नेपालकी फुन्जो जाङ्बो लामाको सन् २०१८ को रेकर्ड तोडेकी थिइन् । जुन रेकर्ड सन् २०२४ मा फेरि लामाले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी तोडेकी थिइन् । “पहिलो क्याम्पदेखि नै मलाई वाकवाकी लाग्यो । न केही खान सकेँ, न केही पिउन । मलाई सगरमाथामा पनि यसरी नै पेट दुखेको थियो । मैले भाइहरूलाई पिर नमान्नु, म सक्छु भनेँ अनि आफूलाई यदा तँ हरेक एक पाइलामा अझै बलियो हुन्छस् भन्दै चुचुरो पुगें ।” यदाले आफ्नो अनुभव साट्नुभयो । ड्रिमर्स डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन र पायोनिर एण्डभेन्चर्सको सहकार्यमा आयोजित उक्त आरोहणमा नेपाल दुई प्रख्यात गिजिन रेकर्डधारी आरोही दाजुभाइ निमा ग्याल्जेन शेर्पा, फुर्वा तेन्जिङ शेर्पा र तेन्जी शेर्पा यदाका सारथि थिए ।
यदासँगै आधार शिविरबाट यात्रा आरम्भ गरेका फुर्वा तेन्जिङ शेर्पाले बिना कुनै कृत्रिम अक्सिजन प्रयोग गरी उक्त मनास्लु स्पिड आरोहण पूरा गरेका थिए । अघिल्लो वसन्त ऋतुमा १७ पटक सगरमाथा आरोहण गरेको फुर्वा तेन्जिङ शेर्पा र ८ हजारमाथिका १४ ओटै हिमाल आरोहण गर्ने रोल्वालिङका पहिलो आरोही निमा ग्याल्जेन शेर्पा एकै परिवारका ८ सदस्य सगरमाथा आरोहण गरी गिजिन रेकर्ड राखेका रोल्वालिङका आरोहीहरू हुन् । उक्त टोलीलाई दाभिदे पेलुज्जी (इटाली) र रोजिता बुद्धाचार्य (युके) ले अनुकूल मौसम विवरण सङ्कलन गर्न मद्दत गरेका थिए ।
यसअघि सन् २०२२ मा ताइवानका ग्रेस चेङले मनास्लुको मात्र १३ घण्टामा आरोहण गरेको दाबी गरे पनि पर्याप्त प्रमाण जुटाउन नसकेका कारण आलोचना खेप्नुपरेको थियो ।
