मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘एभरेष्ट समिटियर्स समिट’को दोस्रो सम्मेलन मे २७ मा


  • माउन्टेन खबर
  • आइतवार, पुस १३, २०८२
  • 166
    SHARES

काठमाडौँ-  विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका स्वदेशी तथा विदेशी आरोहीको दोस्रो सम्मेलन ‘एभरेष्ट समिटियर्स समिट–२०२६’ आगामी मे २७ मा हुने भएको छ ।

हिमाल संरक्षण र नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा लामो समयदेखि क्रियाशील एभरेष्ट एलायन्स नेपालले आज पत्रकार सम्मेलन गरी सम्मेलन मे २७ मा गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा एलायन्सका अध्यक्ष सुदर्शन नेपालले अन्तरराष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर स्वदेशी तथा विदेशी सगरमाथा आरोहीलाई दोस्रोपटक एउटै मञ्चमा ल्याउन समिट आयोजना गर्न लागिएको जानकारी दिनुभयो । “नेपालको पर्यटन क्षेत्रलाई अन्तरराष्ट्रियस्तरमा प्रचार गर्न र हिमाल संरक्षण गर्नका लागि गत वर्षदेखि उक्त सम्मेलन सुरु गरेका हौँ ।

आगामी वर्ष पनि त्यसलाई निरन्तरता दिने निर्णय भएको छ । जसअनुसार समिटमा भाग लिन इच्छुक स्वदेशी तथा विदेशी आरोहीका लागि दर्ता खुला गरेका छौँ”, उहाँले भन्नुभयो ।

सोही संस्थाका प्रमुख सल्लाहकार एवम् नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष अच्युत गुरागार्इंले नेपालमा रहेका सेता हिमालको संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने सन्देश प्रवाह गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । हिमालयको दिगो भविष्यका लागि उक्त समिट महत्त्वपूर्ण कोसेढुङ्गा बन्ने उहाँको भनाइ थियो ।

संस्थाका रणनीतिक प्रमुख श्रद्धा क्षेत्रीले सरकार र विभिन्न पर्यटन सङ्घसंस्थाको सहकार्यमा दोस्रोपटक ‘एभरेष्ट समिटियर्स समिट–२०२६’ आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

एकदिने अन्तरराष्ट्रिय सम्मेलनमा हिमनदी पग्लिने समस्या, हिमालको फोहोर व्यवस्थापन, आरोहीको समृद्धिलगायत विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

हालसम्म विश्वभरका सात हजारभन्दा बढीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन् । तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)