काठमाडौँ – अन्तर्राष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
जुन २१ मा मनाइने १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर नेपालस्थित भारतीय राजदूतावास र त्रिभुवन विश्वविद्यालय, आयुर्वेद क्याम्पसको संयुक्त तत्त्वावधानमा विश्वविद्यालयको प्राङ्गणमा योग सत्र सञ्चालन गरिएको हो ।
उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा सुशील बहादुर बज्राचार्य प्रमुख अतिथिको रूपमा सहभागी थिए । कार्यक्रममा विभिन्न सन्काएका प्राध्यापक, विद्यार्थी तथा योग प्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो, जहाँ सबैले स्वास्थ्य, सद्भाव र समग्र कल्याणका लागि योगको शाश्वत महत्वलाई आत्मसात् गर्दै सामूहिक रूपमा योगाभ्यास गरे ।
योग सत्रको समापन लगत्तै एक विशेष आयुर्वेद एक्स्पोको समेत आयोजना गरियो । सो एक्स्पोको उद्घाटन त्रिभुवन विश्वविद्यालयका उपकुलपति बज्राचार्य, आयुर्वेद क्याम्पसका प्रमुख डा । शिव मङ्गल प्रसाद र भारतीय राजदूतावासका प्रथम सचिवले संयुक्त रूपमा गरे ।
एक्स्पोमा विभिन्न किसिमका आयुर्वेदिक उत्पादनहरूका साथै आयुर्वेदिक औषधि निर्माणमा प्रयोग हुने बहुमूल्य जडीबुटी तथा वनस्पतिहरू प्रदर्शनमा राखिएको थियो । यस प्रदर्शनीमा काठमाडौँका विभिन्न विद्यालयका विद्यार्थी, आयुर्वेद चिकित्सक तथा यस क्षेत्रमा चासो राख्ने सर्वसाधारणको उत्साहजनक सहभागिता देखियो ।
सोही अवसरमा मानसिक स्वास्थ्यका लागि आयुर्वेद विषयक एक सार्वजनिक व्याख्यानको पनि आयोजना गरियो । उक्त व्याख्यानमा मानसिक स्वास्थ्य, भावनात्मक दृढता र समग्र पर्यावरण अनुकूल जीवनशैली प्रवर्द्धन गर्न आयुर्वेदिक सिद्धान्त र अभ्यासहरूले खेल्ने महत्त्वपूर्ण भूमिकाका बारेमा विस्तृत चर्चा गरियो ।
आधुनिक समयमा देखिने मानसिक चुनौतीहरूलाई सम्बोधन गर्न र सन्तुलित एवं स्वस्थ जीवनयापनका लागि आयुर्वेद कसरी सान्दर्भिक छ भन्ने कुरामा व्याख्यानले विशेष जोड दिएको थियो ।
