बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम


  • माउन्टेन खबर
  • मङ्लबार, असार ९, २०८३
  • 89
    SHARES

काठमाडौं –  अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी तथा भूमिहीनहरूलाई ५ दिनभित्र भवन खाली गर्न निर्देशन दिएको छ । समितिले सोमबार सूचना टाँस गर्दै शुक्रबारभित्र स्व–व्यवस्थापन गरी केन्द्र खाली गर्न अल्टिमेटम दिएको हो ।

नदी किनाराका जोखिमयुक्त बस्तीहरू हटाइएपछि विस्थापित परिवारहरूलाई सरकारले अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखेको थियो । हाल कीर्तिपुरस्थित उक्त केन्द्रमा ६८ परिवारका २०३ जना बसोबास गर्दै आएका छन् ।

समितिले सेन्टर छाड्ने प्रत्येक परिवारलाई तत्काल ‘स्व–व्यवस्थापन’ खर्चस्वरूप एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उक्त रकम प्राप्त गर्न पीडित परिवारले आफ्नो बैंक खाता नम्बर सहित निवेदन दिनुपर्नेछ । रकम खातामा जम्मा भएपछि ५ दिनभित्र अनिवार्य रूपमा सेन्टर खाली गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसका साथै, वास्तविक सुकुम्बासीका रूपमा प्रमाणित भएका परिवारलाई स्थायी व्यवस्थापन नभएसम्म मासिक १५ हजार रुपैयाँका दरले कोठा भाडा उपलब्ध गराइने समितिले जनाएको छ । यो सुविधा भूमि आयोगमार्फत दीर्घकालीन व्यवस्थापन नहुन्जेलसम्म जारी रहने बताइएको छ ।

उपत्यकाभरका ६ वटा होल्डिङ सेन्टरमा हाल ३८८ परिवार आश्रित छन् । समितिले प्रारम्भिक चरणमा कीर्तिपुर केन्द्रबाट व्यवस्थापन प्रक्रिया सुरु गरेको हो ।

सूचना अटेर गरी सेन्टर खाली नगर्ने परिवारका सम्बन्धमा भने थप व्यवस्थापनका विकल्पबारे छलफल गरिने समितिले जनाएको छ ।

नदी किनाराका बस्तीहरू हटाइएपछि हालसम्म २ हजार ६०८ जनाले आफूलाई सुकुम्बासीका रूपमा दर्ता गराएका छन् । उनीहरूको वास्तविक पहिचान तथा वर्गीकरण गर्ने कार्य पनि अघि बढाइएको समितिले जनाएको छ ।

राहत वितरणका लागि समितिले ३ देखि ४ वटा विशेष टोली परिचालन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)