बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गणेश नेपालीको घटनापछि सभापति थापाको आग्रह: दोषारोपण होइन, सामूहिक आत्मचिन्तन गरौँ


  • माउन्टेन खबर
  • शुक्रबार, असार २६, २०८३
  • 57
    SHARES

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाई राज्य, समाज र नागरिक सबैका लागि आत्मचिन्तनको अवसरका रूपमा लिन आग्रह गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै थापाले गणेश नेपालीको घटनाले आफू स्तब्ध भएको उल्लेख गरेका छन्। उनले यो घटना समाज, राज्य र सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण भएको बताएका छन्।

थापाले दिवंगत गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, परिवारलाई यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भन्ने कामनासमेत गरेका छन्।

उनले यो घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाउन आग्रह गर्दै यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र मानवीय संवेदनासँग जोडिएको विषय भएको बताएका छन्।

थापाले गणेश नेपालीका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ र उनीहरूको दुःखमा कसरी मल्हम लगाउन सकिन्छ भन्नेबारे सबैले आ–आफ्नो ठाउँबाट सोचेर सक्दो सहयोग गर्न आग्रह गरेका छन्।

उनले विगत वा वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्नेमा जोड दिएका छन्।

थापाले एउटा युवा किन यस्तो निराशाको अवस्थासम्म पुग्छ, आफ्ना पीडा सुनाउन किन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था सिर्जना हुन्छ, राज्यका सेवा र संयन्त्रले नागरिकलाई किन भरोसाको अनुभूति गराउन सकेनन् र समाज, परिवार, राज्य तथा नागरिकका रूपमा कहाँ कमजोरी रह्यो भन्ने प्रश्नहरूको इमानदार उत्तर खोज्न आवश्यक रहेको बताएका छन्।

भविष्यमा कुनै पनि नागरिकले यस्तो पीडादायी बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने थापाको भनाइ छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)