आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमबाप्पेले लगातार दोस्रो पटक जिते गोल्डेन बुट


  • माउन्टेन खबर
  • सोमवार, साउन ४, २०८३
  • 76
    SHARES

काठमाडौँ-  फ्रान्सका स्टार खेलाडी किलियन एमबाप्पेले फिफा विश्वकप २०२६  गोल्डेन बुट जितेका छन्। उनले प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्दै कतार २०२२ को उपलब्धि दोहोर्‍याएका हुन्।

शनिबार मियामीमा भएको रोमाञ्चक तेस्रो स्थानको खेलमा इंग्ल्यान्डसँग फ्रान्स ६–४ ले पराजित भए पनि एमबाप्पेले दुई गोल गरे। यससँगै उनको विश्वकप गोल संख्या १० पुगेको छ।

एमबाप्पे अहिले फिफा विश्वकप  इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्। २७ वर्षीय एमबाप्पेले फ्रान्सलाई सेमिफाइनलसम्म पुर्‍याउने क्रममा उत्कृष्ट प्रदर्शन गरे। सेमिफाइनलमा फ्रान्स स्पेनसँग २–० ले पराजित भएको थियो।

रुस २०१८ मा फ्रान्सले विश्वकप जित्दा एमबाप्पेले चार गोल गरेका थिए भने कतार २०२२ मा आठ गोल गर्दै गोल्डेन बुट जितेका थिए। यसपटक उनले समूह चरणमा सेनेगल र इराकविरुद्ध, राउन्ड अफ ३२ मा स्विडेनविरुद्ध दुई–दुई गोल गरे।

 

त्यसपछि पराग्वेविरुद्ध निर्णायक पेनाल्टी गोल गरेका एमबाप्पेले मोरक्कोविरुद्ध क्वार्टरफाइनलमा फ्रान्सको २–० को जितमा पहिलो गोल गरेका थिए। स्पेनविरुद्ध गोल गर्न नसके पनि इंग्ल्यान्डविरुद्ध दुई गोल गर्दै उनले गोल संख्या दोहोरो अंकमा पुर्‍याए।

एमबाप्पेले गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछि पारे। मेस्सीले प्रतियोगितामा आठ गोल गरेका छन्।

तर एमबाप्पेले व्यक्तिगत उपलब्धिभन्दा विश्वकप फाइनल खेल्न पाएको भए आफू अझ खुसी हुने बताएका छन्।

“विश्वकपमा यति धेरै गोल गर्दा खेलाडीलाई नयाँ स्तरमा पुर्‍याउँछ। तर म सर्वाधिक गोलकर्ता बन्नुभन्दा फाइनल खेल्न चाहन्थेँ। यो मेरो करियरपछि विरासतका लागि राम्रो हो, तर अहिले मेरो मनमा त्यो कुरा छैन,” उनले भने।

फ्रान्सका प्रशिक्षक दिदिएर डेसाम्पले एमबाप्पेलाई असाधारण खेलाडी र उत्कृष्ट कप्तानको संज्ञा दिए। उनले एमबाप्पेलाई कप्तान बनाउने निर्णयप्रति आफूलाई कुनै पछुतो नभएको बताए।

गोल्डेन बुट कसरी निर्धारण हुन्छ?

प्रतियोगिताको फाइनल चरणमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट प्रदान गरिन्छ। दुई वा बढी खेलाडीको गोल संख्या बराबर भएमा असिस्ट संख्या निर्णायक हुन्छ। असिस्ट पनि बराबर भएमा प्रतियोगितामा खेलेको कुल समय हेरिन्छ र कम मिनेट खेलेको खेलाडीलाई माथिल्लो स्थान दिइन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)