मङ्लबार, साउन २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

५० जना माउन्टेन गाइडलाई कन्टेन्ट क्रिएटर तालिम प्रदान


  • माउन्टेन खबर
  • मङ्लबार, साउन २६, २०८३
  • 33
    SHARES

काठमाडौं – नेपालका पर्यटकीय गन्तव्य र पर्वतीय अनुभवलाई डिजिटल माध्यममार्फत विश्व बजारमा पुर्‍याउने उद्देश्यले पर्वतीय गाइडहरूलाई लक्षित गरी तीनदिने कन्टेन्ट क्रिएसन तालिम प्रदान गरिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा संचालित दिगो पर्यटन परियोजना (एसटीपी) ले माउन्टेन गाइड एसोसिएसन अफ नेपालको समन्वयमा आयोजना गरेको प्रशिक्षणमा ५० पर्वतीय गाइडको सहभागिता थियो ।

पहिलो चरणमा जुलाई २९-३१ र दोस्रो चरणमा अगस्ट ५ देखि ७ सम्म सञ्चालन भएको प्रशिक्षणको मंगलबार नेपाल पर्यटन बोर्डको हलमा समापन गरिएको हो । प्रशिक्षार्थीहरुलाई कथा निर्माण, कन्टेन्टको संरचना, दृश्य प्रस्तुति तथा अभ्यासमार्फत सिर्जनात्मक क्षमता अभिवृद्धिमा जोड दिइएको थियो ।

 

 

 

प्रशिक्षण समापन समारोहमा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले पर्यटन क्षेत्रमा भइरहेको डिजिटल रूपान्तरणको पृष्ठभूमिमा यस्ता तालिमको महत्व अझ बढेको बताए । उनले सरकार, पर्यटन बोर्ड तथा निजी क्षेत्र क्रमशः डिजिटल प्लेटफर्ममा केन्द्रित भइरहेकाले पर्यटनका हरेक पक्षलाई डिजिटल माध्यमबाट विश्व बजारसम्म पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताए ।

“जहाँ पुग्नुहुन्छ, त्यहाँबाट नेपालका गन्तव्यको कन्टेन्ट सिर्जना गर्नुहोस् र नेपालको सुन्दरता विश्वसामु प्रस्तुत गर्नुहोस्,” ऐरले थपे, “सरकारले मात्रै नेपालका सबै पर्यटकीय गन्तव्यमा प्रत्यक्ष रूपमा पुगेर प्रचार गर्न सम्भव नहुने भएकोले गाइडहरूलाई डिजिटल माध्यमबाट हरेक गन्तव्य विश्वसम्म पुर्‍याउने माध्यमका रूपमा विकास गर्न सकिन्छ ।” उनले पर्यटन प्रवर्द्धनमा अब गन्तव्यको माग सिर्जना गर्ने र त्यसको प्रभावकारी प्रचार गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै सकारात्मक र तथ्यमा आधारित सामग्री निर्माण गर्न सहभागीलाई आग्रह गरे ।
प्रशिक्षण समापन समारोहमा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धकसमेत रहेका एसटीपीका राष्ट्रिय परियोजना संयोजक केबी शाहले प्रशिक्षणबाट प्राप्त सीपलाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । उनले गाइडहरूले आफू पुग्ने हरेक गन्तव्यका पर्यटन उत्पादनलाई आफ्नो क्यामेराको लेन्समा कैद गरी विश्वका पर्यटकसम्म पुर्‍याउनुपर्ने बताए ।

त्यसैगरी परियोजना प्रबन्धक धर्मराज दवाडीले पर्वतीय गाइडहरू नेपालका पर्यटनका प्रत्यक्ष प्रतिनिधि तथा ‘एम्बेसडर’का रूपमा रहेको उल्लेख गर्दै उनीहरूले पर्यटकलाई प्रदान गर्ने प्रामाणिक अनुभवलाई विश्व बजारसम्म पुर्‍याउन डिजिटल कन्टेन्ट महत्वपूर्ण माध्यम बन्न सक्ने बताए । उनले गाइडहरूले नेपालको वास्तविक पर्यटन अनुभव, स्थानीय जीवनशैली, संस्कृति र गन्तव्यको मौलिकतालाई सामग्रीमार्फत प्रस्तुत गर्न सके नेपालको पर्यटन प्रवर्द्धन थप प्रभावकारी हुने धारणा राखे ।

प्रशिक्षक सम्राट अधिकारीले प्रशिक्षणमा कन्टेन्ट निर्माणको आधारभूत ढाँचा सिकाउनुका साथै अभ्यासमार्फत सहभागीको सीप विकासमा जोड दिइएको बताए । उनका अनुसार सहभागीलाई कथा कसरी निर्माण गर्ने, त्यसलाई कसरी संरचना गर्ने र आफ्नै अनुभवलाई प्रभावकारी सामग्रीमा कसरी रूपान्तरण गर्ने भन्ने विषयमा अभ्यास गराइएको थियो ।

प्रशिक्षणमा सहभागी पर्वतीय गाइड मिङ्मा डोल्मा शेर्पा, फुर्देन शेर्पा र अमृतकुमार आर्यालले यस प्रशिक्षणले आफूहरूलाई पर्यटनसम्बन्धी सामग्रीलाई व्यवस्थित, सिर्जनात्मक र प्रभावकारी रूपमा प्रस्तुत गर्न नयाँ सीप प्रदान गरेको अनुभव सुनाए ।

माउन्टेन गाइड एसोसिएसन अफ नेपालका महासचिव रामकाजी तिवारीले प्रशिक्षण कार्यक्रमको समन्वय गरेका थिए । प्रशिक्षणमा सहभागी ५० जनालाई डिजिटल माध्यममा पर्यटनसम्बन्धी सामग्री सिर्जना तथा प्रस्तुति गर्ने व्यावहारिक सीपमा केन्द्रित गराइएको थियो । उनीहरुलाई मंगलबार प्रमाणपत्रसमेत प्रदान गरिएको छ । यस्ता कार्यक्रमले नेपालको मौलिक पर्यटन अनुभवलाई विश्व बजारसम्म पुर्‍याउन थप आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)