काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा टाटाका दुई नयाँ विद्युतीय मोडल ‘पञ्च ईभी’ (Punch.ev) र ‘टियागो ईभी’ (Tiago.ev) सार्वजनिक गरेको छ।
नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै पञ्च ईभी खरिद गर्न सक्नेछन्। त्यस्तै, नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ।
एक्स्पोमा यी दुवै विद्युतीय गाडी बुकिङ गर्ने ग्राहकका लागि सिप्रदीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विशेष विस्तारित वारेन्टी उपलब्ध गराएको जनाएको छ।
गाडी सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा पछिल्लो प्रविधिसहितका विद्युतीय सवारीसाधन भित्र्याउन कम्पनी प्रतिबद्ध रहेको बताउनुभयो। नयाँ पञ्च ईभी र टियागो ईभीको सार्वजनिकरणले विद्युतीय सवारीप्रतिको कम्पनीको प्रतिबद्धतालाई थप पुष्टि गरेको उहाँको भनाइ छ।
सिप्रदीका अनुसार कम्पनीले विद्युतीय सवारीको बिक्रीसँगै आवश्यक पूर्वाधार विस्तारमा समेत जोड दिँदै आएको छ। हाल २१ भन्दा बढी ईभी सर्भिस सेन्टर, ४० वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।
यस्तो छ नयाँ पञ्च ईभी
अत्याधुनिक ‘एक्ट.इभी’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ kWh र ४० kWh क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्। नेपालका सडकमा गरिएको परीक्षणअनुसार यसले एकपटक फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ।
पञ्च ईभीमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, BNCAP ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ CDC फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ लगायतका सुविधा छन्। यसमा २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समेत उपलब्ध छ।
टियागो ईभीमा पनि आधुनिक सुविधा
दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले ल्याइएको नयाँ टियागो ईभीमा नयाँ लुक्स र आकर्षक रङका साथै ३६० डिग्री एचडी क्यामेरा, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली र ६ वटा एयरब्याग जस्ता सुरक्षा तथा प्रविधियुक्त सुविधा समावेश गरिएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ मोडल सार्वजनिक भएसँगै टाटाले नेपाली विद्युतीय सवारी बजारमा आफ्नो ईभी पोर्टफोलियो थप विस्तार गरेको छ।
