काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मिति असोज १६ देखि १९ गतेसम्म नै गर्ने गरी तत्ला तहको निर्वाचन कार्यतालिकामा हेरफेर गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यसअघि प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढिरहेको अवस्थामा विभिन्न तहका अधिवेशनको नयाँ समयतालिका तय गरिएको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि तोकेर अभिमुखीकरण कार्यक्रमसमेत सुरु गरिसकेको जनाएको छ । केन्द्रीय कार्यसमितिको साउन २४ देखि भदौ १ गतेसम्म बसेको बैठकले नेपालको संविधान, प्रचलित कानुन र पार्टी विधानलाई ध्यानमा राख्दै असोज १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको वैशाख ४ गतेको फैसलामा समेत कांग्रेसको १५औँ महाधिवेशनको उक्त मिति उल्लेख गरिएको कांग्रेसले जनाएको छ । सोही मितिमा महाधिवेशन सम्पन्न गर्ने तयारीअनुसार नेपाली जनसम्पर्क समिति अमेरिका, फ्रान्स, नेदरल्याण्ड, माल्टा, जापान, दक्षिण कोरिया लगायत १५ देशमा अधिवेशन सम्पन्न भइसकेका छन् ।
पार्टीभित्र व्यापक सहभागिताका लागि संवाद र सहमतिको वातावरण बनाउन तथा भदौको सुरुवाती वर्षाका कारण वडा, गाउँ, नगर, उपमहानगर, महानगरपालिका र क्षेत्रीय अधिवेशनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै अन्य तहका अधिवेशनको समयतालिका परिमार्जन गरिएको कांग्रेसले जनाएको छ ।
तहगत कार्यसमितिबाट प्राप्त सुझावलाई समेत ध्यानमा राखी पूर्वनिर्धारित मितिमै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी अन्य तहका अधिवेशनको विस्तृत क्यालेन्डर तय गर्न केन्द्रीय निर्वाचन समितिलाई निर्देशन दिइएको थियो ।
सोही निर्णयअनुसार कांग्रेस केन्द्रीय निर्वाचन समितिले विधानको धारा ३५ (२) (च) बमोजिम १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तह तथा निकायका अधिवेशनको परिमार्जित समयतालिका सार्वजनिक गरेको हो ।

