काठमाडौँ – नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले बाढीपहिरोका कारण घरबारविहीन भएका नागरिकहरूको अवस्था अत्यन्तै दयनीय रहेको भन्दै उनीहरूको पुनःस्थापनाका लागि विशेष पहल हुनुपर्नेमा जोड दिनुभएको छ ।
बिहीवार रसुवा बाढी पीडितका लागि पार्टीको विपद् व्यवस्थापन कोषमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का १२ वटा इकाइहरूबाट संकलन गरिएको रकम बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । विपद्पछिको वस्तुस्थितिबारे चर्चा गर्दै सभापति थापाले बाढीको विनाश भूकम्पको तुलनामा झनै भयावह रहेको बताउनु भयो । बाढीले जायजेथा सबै सखाप पारेपछि पीडितहरू हाल विद्यालय र सार्वजनिक भवनहरूमा आश्रय लिन बाध्य भएको र उनीहरूसँग जीविकोपार्जनको कुनै उपाय बाँकी नरहेको उहाँले उल्लेख गर्नुभयो । सभापति थापाले बाढीले भौतिक पूर्वाधार (बाटो, पुल, विद्यालय) मा पु¥याएको क्षतिसँगै व्यक्तिगत सम्पतीको क्षति अपूरणीय रहेको बताउनु भयो । विशेषगरी खोला किनारका साना बजारहरू, जहाँ मानिसहरूले आफ्नो जीवनभरको कमाइ खर्चिएर सानो टुक्रा घडेरी किनेर बसेका थिए, ती बस्तीहरू पूर्ण रूपमा सखाप भएको उहाँको भनाइ छ ।
सभापति थापाले भन्नुभयो, ‘भूकम्पले घर भत्काए पनि जमिन बाँकी रहन्थ्यो, तर बाढीले त घरसँगै आश्रय दिने जमिन र गरिखाने खेतबारी समेत बाँकी नराखी बगाएर लैजाने रहेछ । कतिपयको ८–९ रोपनी खेत त कतिपयको उठिबास हुने गरी घरजमिन सबै बाढीले बगाएको छ। यस्तो अवस्थामा पीडितहरू पूर्ण रूपमा रित्तिएका छन् ।’
भूकम्पका बेला घर निर्माणका लागि सहुलियत ऋणको व्यवस्था गरिए पनि अहिले बाढीपीडितका हकमा घर बनाउने जमिन नै बाँकी नरहेकाले पुनःस्थापनाको चुनौती अझ जटिल बनेको थापाले बताउनु भयो । काठमाडौं क्षेत्र नम्बर ४ बाट संकलित उक्त रकम बाढीपहिरो प्रभावितहरूको राहत र सहयोगका लागि पार्टीको केन्द्रिय कोषमार्फत परिचालन गरिने बताइएको छ । –न्युज एजेन्सी नेपाल
