सोमवार, भदौ २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती


  • माउन्टेन खबर
  • सोमवार, भदौ २२, २०८३
  • 35
    SHARES

काठमाडौं –  राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढीप्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दाबी गर्नुभएको छ ।

 

 

 

प्राधिकरणमा सोमवार आयोजित कार्यक्रममा उहाँले हेलिकप्टरले लैजानुपर्ने ठाउँ बाहेक अन्य स्थानमा राहत पुगिसकेको बताउनुभएको हो । हाल हेलिकप्टरको प्रयोग उद्धार र खोजी कार्यमा प्राथमिकता दिएकोले हेलिकप्टरमार्फत राहत लैजानुपर्ने ठाउँमा भने राहत लैजान नसकिएको उहाँले बताउनु भयो । त्यस्ता क्षेत्रमा त्रिशूली वा रसुवालगायत हेलिकोप्टर पुग्ने नजिकका स्थानबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले स्थानीय सरकारसँग निरन्तर समन्वय गरेर राहत वितरणको काम अगाडी बढाएको पनि जानकारी दिनुभयो । उहाँले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम निरन्तर भइरहेको बताउनु भयो । तीन वटै सुरक्षा निकायले विपद्को पहिलो दिनदेखि नै उद्धार तथा राहतमा सक्रियतापूर्वक काम गरिरहेको उहाँको भनाई छ । उहाँले सामाजिक सञ्जालमा कुनै किसिमका फेक भिडियो नफैलाईदिन पनि आग्रह गर्नुभयो । हाल सामाजिक सञ्जालमा राहत तथा उद्धारको सन्र्दभमा धेरै फेक भिडियोहरु फैलिएको पाईएको उहाँको भनाई छ । सामाजिक सञ्जालमा फैलिएका फेक भिडियोले जनमानसमा नकरात्मक प्रभाव पार्ने भएकोले त्यसतर्फ सर्तक हुन उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपय हाम्रो फिल्डमा नभएका, घटनास्थलमै नभएका केही फेक भिडियोहरू सामाजिक सञ्जालमा एकदमै फैलिइरहेको अवस्था हामीले पायौँ । त्यसले जनमानसमा एकखालको नकारात्मक प्रभाव पनि पारेको देखियो । फेक भिडियोहरूले दिने मिसइन्फर्मेसन पार्ने प्रभावका बारेमा हामीले हेर्नुपर्ने हुन्छ । उद्धार र राहतमा कुनै पनि कसर बाँकी नरहोस् भनेर राज्यको तर्फबाट गर्नुपर्ने कुरामा हामी एकदमै संवेदनशील छौँ । हामीले ‘डे वान’को बिहान, साँझ र रात कुनै समय पनि नभनी निरन्तर काम गरिरहेका छौँ । केही गुनासाहरू छन्, ती गुनासाहरूलाई हामी सम्बोधन गर्दैछौँ । केही बेपत्ता भएका व्यक्तिहरूका नामहरू आइरहेका छन्, त्यसलाई पनि हामी हेरिरहेका छौँ । सूचना आउनेबित्तिकै हामीले तीनटै सुरक्षा निकायलाई पठाएर चेक गर्ने र आवश्यक परे फिल्डमा खटिएको हाम्रो टिमलाई पठाउने काम गरिरहेका छौँ । त्यसकारण प्रयास जारी छ र यो प्रयास हाम्रो खोज तथा उद्धारको अवस्था टुङ्गिएसम्म जारी रहन्छ । कतिपयले हामीलाई निजी हेलिकप्टर चाहियो, त्यहाँ सामान वितरण गर्न चाहन्छौँ, राहत पाएनौँ भन्ने खालका अनुरोधहरू पनि गरिरहनुभएको छ । त्यसैले स्थानीय सरकारसँग हामी निरन्तर सम्पर्कमा छौँ । धेरै ठाउँमा राहत सामग्री पुगिसकेको छ । केही ठाउँमा हेलिकप्टर अपरेसन एकदमै अप्ठ्यारो भएको छ । त्यस्ता ठाउँमा अहिले खोज तथा उद्धारका लागि मात्रै महत्वपूर्ण सामग्री पठाउनुपर्ने भएकाले राहत सामग्री पठाउन गाह्रो भइरहेको छ । त्यसलाई पनि कसरी सम्बोधन गर्ने भनेर हामी काम गरिरहेका छौँ । जब हाम्रो अपरेसनको हेलिकप्टर त्यहाँ गएको हुँदैन, त्यतिबेला हामी काठमाडौँबाट मात्रै होइन, चाहे त्रिशूलीबाट होस् वा रसुवाबाटै जहाँसम्म हेलिकप्टर जान सक्छ, त्यहाँबाट खाद्य सामग्री पठाउने कोसिस गरिरहेका छौँ ।’

छिमेकी मुलुकसँग समन्वय गर्दै उद्धार तथा राहतमा आवश्यक सहयोग लिइरहेको पनि उहाँले बताउनु भयो । राज्यका तर्फबाट खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराखी सुरक्षा निकायलाई चौबीसै घण्टा परिचालन गरिएको उहाँको भनाई छ । बेपत्ता व्यक्तिका नाम प्राप्त हुनेबित्तिकै तीनवटै सुरक्षा निकायमार्फत विवरणको जाँच गर्ने र फिल्डमा खटिएका टोलीलाई परिचालन गरेर खोजी गर्ने गरिएको उहाँले बताउनु भयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)