बिहिबार, अशोज १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हिमालय क्षेत्रमा तापक्रम दुई गुणाले बढिरहेको छः हिमनदी विज्ञ खड्का


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १, २०८३
  • 25
    SHARES

काठमाडौं ।  हिमनदी विज्ञ नितेश खड्काले पछिल्लो समय हिमालय क्षेत्रमा दुई गणाले तापक्रम बृद्धि भईरहेको बताउनुभएको छ ।

 

 

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा कार्यपत्र पस्तुत गर्दै उहाँले हिमालया क्षेत्रमा तापक्रम वृद्धिको दर विश्वव्यापी औसतभन्दा उच्च रहेको बताउनुभएको हो । यसको प्रत्यक्ष असर हिमनदी तथा हिमतालमा देखिन थालेको उहाँले बताउनु भयो । उहाँले हिन्दुकुश–हिमालय क्षेत्र जलबायू परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्नुभयो ।

नेपाल हिन्दुकुश–हिमालय क्षेत्रको महत्वपूर्ण भूभागमा पर्ने भएकाले जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा प्रभावित हुने उहाँको भनाई छ । उहाँका अनुसार हिन्दुकुश–हिमालय तथा तिब्बती पठार क्षेत्रमा विश्वव्यापी तापक्रम वृद्धिको तुलनामा करिब दोब्बर दरमा तापक्रम बढिरहेको अध्ययनहरूले देखाएका छन् । यो क्षेत्रमा प्रतिवर्ष शुन्य दशमलव ४२ डिग्री सेल्सियसले तापक्रम वृद्धि भईरहेको उहाँको भनाई छ ।

नेपालभित्र पनि औसत तापक्रम निरन्तर बढिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार देशभरको औसत तापक्रम प्रतिवर्ष करिव शुन्य दशमलव ०४ डिग्री सेल्सियसले वृद्धि भइरहेको छ । तापक्रम वृद्धिको प्रत्यक्ष असर हिमाल र हिमनदीमा परेको उहाँको भनाई छ । तापक्रम वृद्धिले हिमनदी संकुचित हुँदै गएको र अर्कोतर्फ हिउ पग्लिएर हिमतालको संख्या र क्षेत्रफल बढ्दै गएको उहाँको भनाई छ । उहाँले सगरमाथा क्षेत्रमा रहेको इम्जा हिमतालको उदाहरण प्रश्तुत गर्दै सन् १९५० आसपाससम्म त्यो क्षेत्रमा ताल नै रहेको बताउनु भयो । तर बढ्दो तापक्रमले साना–साना पोखरीहरू बन्न थालेको र ती क्रमशः जोडिँदै ठूलो हिमतालमा परिणत भएको उहाँको भनाई छ । हिमताल बन्न थालेपछि हिमनदीहरु विस्तारै साँघुरिँदै गएको उहाँको भनाई छ । उहाँले हिमनदीमा परेको असरले नेपालका नदी प्रणालीमा समेत प्रभाव पार्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको पूरै भूभाग हिमालय क्षेत्रभित्र पर्छ । अफगानिस्तानदेखि पाकिस्तान, भारत, नेपाल, भुटान र म्यानमारसम्म फैलिएको हिन्दुकुश–हिमालय क्षेत्रमा हाम्रो देश पर्छ । हिमाली क्षेत्र र तिब्बती पठारमा विश्वव्यापी औसत तापक्रम वृद्धिको तुलनामा करिव दुई गुणाले तापक्रम बढिरहेको अध्ययनहरूले देखाएका छन् । त्यो वृद्धि प्रतिवर्ष करिब ०.४२ डिग्री सेल्सियस रहेको अध्ययनहरूले देखाएका छन् । सन् १९८० देखि २०१८ सम्मको अध्ययनमा पनि यस्तो तापक्रम वृद्धिको तथ्य देखिन्छ । तिब्बती पठारसम्बन्धी सन् २०२२ को याओ एट अल.को अध्ययनमा पनि यो विषय उल्लेख गरिएको छ ।

नेपालभरि पनि तापक्रम वृद्धि भइरहेको छ । नेपालको औसत तापक्रम प्रतिवर्ष करिब ०.०४ डिग्री सेल्सियसले बढिरहेको छ । जाडो होस् वा गर्मी, सबै मौसमलाई समेटेर हेर्दा देशको औसत तापक्रम निरन्तर बढिरहेको छ । यसले विभिन्न परिवर्तन ल्याउँछ, हिमाली क्षेत्रमा हुने प्रमुख परिवर्तनहरु हिमनदीहरू संकुचित हुँदै जानु, पग्लिनु हो भने अर्कोतर्फ हिमतालहरू बन्ने र तिनको क्षेत्रफल बढ्दै जाने क्रम देखिन्छ । हिमनदीहरूको आफ्नै गति हुन्छ । हामी एक ठाउँबाट हिँडेर अर्को ठाउँमा पुग्छौँ, तर हिमनदी त्यहीँ रहेको जस्तो देखिएपनि वास्तवमा निरन्तर बगिरहेको हुन्छ । माथिल्लो भागबाट बरफ बग्दै आउँछ र तल टर्मिनसमा पुग्दा त्यसको गति शुन्य हुन्छ । अर्थात हिमनदी आफैँभित्र निरन्तर गतिशील हुन्छ । हिमनदीको गतिमा पनि जलवायु परिवर्तनले असर गर्छ ।

हिमनदीको गति कति छ भन्ने मापन त्यसको स्वास्थ्य अवस्था कस्तो छ भन्ने बुझ्ने एउटा महत्वपूर्ण सूचक हो । हिमनदीको गति नहुने हो भने नदी प्रणालीमा पनि असर पर्छ । चापका कारण हिमनदी बग्छ र चट्टान तथा बरफबीचको घर्षणबाट हिउँ पग्लिने प्रक्रियाले नदी बन्ने हुन् ।’

उहाँले जलवायु परिवर्तनका कारण नेपालमा चरम मौसमी तथा जलवायुजन्य घटनाको जोखिम पनि बढिरहेको बताउनुभयो । उहाँले चट्याङको घटनासमेत जलवायु परिवर्तनसँग जोडिएको उल्लेख गर्दै चट्याङका घटनामा पनि २० प्रतिशत वृद्धि देखिएको बताउनु भयो ।

नेपालले हिमनदी, हिमताल र चरम मौसमी घटनाबाट उत्पन्न जोखिमलाई समग्र रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ । जलवायू परिवर्तनका लगायतका हुने कुनैपनि विपद्ले सबैभन्दा बढी प्रभावका कमजोर वर्गलाई पार्ने गरेको उहाँले बताउनु भयो ।

–न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)