सोमवार, अशोज ५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा हो: राष्ट्रपति पौडेल


  • माउन्टेन खबर
  • शनिबार, अशोज ३, २०८३
  • 49
    SHARES

काठमाडौँ–    राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कागजमा लेखिएका शब्दहरूको सङ्ग्रह मात्र नभई नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा भएको बताउनुभएको छ ।

 

 

 

संविधान दिवसका अवसरमा शीतल निवासमा शनिवार आयोजित चियापान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले विपत्तिले विकासको अर्थ सडक, पुल र भवन निर्माणमा मात्र सीमित नभएको स्मरण गराएको बताउनु भयो । उहाँले मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि विकासको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो ।

उहाँले विपत्तिपछिको पुनर्निर्माण गर्दा भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि पुनः स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । जलवायु परिवर्तनका चुनौतीबिच नेपालको विकासको ढाँचा अझ मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री बनाउनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रपति पौडेलले संविधानले लोकतन्त्र, सङ्घीयता र बहुल वादमा आधारित समावेशी नेपाल निर्माणको अवसर प्रदान गरेको बताउनु भयो । एकात्मक र केन्द्रीकृत शासन प्रणालीको स्थानमा सङ्घीयता प्राप्त हुनु संविधानको महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उहाँले सङ्घीयतालाई देश विकासको अनिवार्य तहका रूपमा अघि बढाउनुपर्ने बताउनु भयो ।

उहाँका अनुसार संविधानले राज्यको शासकीय संरचनालाई नयाँ ढङ्गले स्थापित गर्दै नागरिकलाई इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान प्राप्त गर्ने आधार दिएको छ ।

पौडेलले भन्नुभयो, ‘विपत्तिले हामीलाई सम्झाएको छ । विकास केवल सडक, पुल र भवन निर्माण होइन, मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि हो । त्यसैले पुनर्निर्माण गर्दा भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि पुनर्स्थापित गर्नुपर्छ ।

हाम्रो संविधानले लोकतन्त्र, सङ्घीयता, बहुल वाद र समावेशितामार्फत नागरिकका अधिकार, आशा र आकाङ्क्षालाई संस्थागत गरेको छ । एकात्मक र केन्द्रीकृत शासन प्रणालीको विकल्पका रूपमा प्राप्त सङ्घीयतालाई देश विकासको महत्त्वपूर्ण आधारका रूपमा उपयोग गर्न आवश्यक छ । जलवायु परिवर्तनका चुनौतीबिच हाम्रो विकासको ढाँचा अझ मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री हुनुपर्छ ।

संविधान कागजमा लेखिएका शब्दहरूको सङ्ग्रह मात्र होइन; यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा हो । यिनै उपलब्धिको जगमा सुखद र समृद्ध भविष्य निर्माण गर्नुपर्छ ।’

उहाँले संविधानले दिएका उपलब्धिका आधारमा देशको भविष्यको सुखद यात्रा सुनिश्चित गर्न सकिने विश्वाससमेत व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)