काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन आज आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन् । मन्त्री खनालसहितको एक टोली आज न्युयोर्क प्रस्थान गर्न लागेको मन्त्रालयले जनाएको छ । मन्त्री खनालको टोली आइतबार साँझ ६ बजे न्युयोर्क प्रस्थान गर्ने र महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ । नेपालले हाल नेपालमा जलावायु परिवर्तनले पारेको असरको अवस्थालाई दर्शाउँदै जलवायु न्याय माग्ने रणनीति पत्रसहितको सम्बोधन महासभामा गर्ने भएको परराष्ट्रका अधिकारीहरुले जनाएका छन् ।
मन्त्री खनालको यो भ्रमण १० दिनको हुनेछ । उनी सेप्टेम्बर ३० मा मात्र स्वदेश फर्कने कार्यक्रम रहेको छ । यसबीचमा उनले नेपालले आयोजना गरेको हाइलेभल इभेन्टको पनि अध्यक्षता र सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उता नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन शाह भने १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ६ असोजमा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ । उनी ७ असोजमा न्युयोर्क पुग्नेछन् । उनको भ्रमण ५ दिनको रहेको छ ।
उनी ६ असोजमा नेपालबाट प्रस्थान गर्ने र ७ मा पुग्ने कार्यक्रम छ । त्यसैगरी उनले ८ असोजमा नेपालका तर्फबाट महासभाललाई सम्बोधन गर्ने र ९ असोजमा नेपाल प्रस्थान गरेर १० मा यहाँ आइपुग्ने भ्रमण सूची रहेको छ ।
तर, प्रधानमन्त्रीको यो भ्रमणलाई भने उनले सदुपयोग गर्न नसकेको टिप्पणी भइरहेको छ । किनभने १४ जनाको टोली लगेर अमेरिका हिँडेका प्रधानमन्त्री महासभालाई सम्बोधन मात्र गरेर फर्किनु शोभनीय नरहेको कूटनीतिक क्षेत्रका जानकारहरु बताउँछन् ।
अहिले नेपाल भोटेकोशी बाढीका कारण पीडित छ । बाढीका कारण हजार भन्दा बढीको ज्यान गएको छ भने ६ हजारभन्दा बढी बेपत्ता छन् । भौतिक क्षतिको त आँकलन नै छैन, खोजी भइरहेको छ ।
यस्तो बेलामा हामी जलवायु परिवर्तनको असरको शिकार दिनप्रतिदिन कसरी भइरहेका छौँ भन्ने तथ्य मुलुकको कार्यकारी प्रमुखले विश्व समुदायलाई बुझाउनुपर्दछ । यो महासभा एक विशेष र महत्वपूर्ण अन्तर्राष्ट्रिय फोरम हो ।
यसपटक यो फोरममा विश्वका ८१ देशका राष्ट्रप्रमुख, ५० देशका सरकार प्रमुखहरु उपस्थित हुने कार्यक्रम छ । साथै यस पटक जलवायु परिवर्तनका एजेण्डालाई प्रमुखताका साथ उठाइने प्रण विश्व र नेपालले पनि गरेको छ । त्यसैले यो महासभा महत्वपूर्ण छ ।
तर पनि हाम्रो देशका प्रधानमन्त्रीले जलवायु परिवर्तनको असरको एजेण्डालाई स्थापित गर्न विश्व समुदायसँग लबिङ गर्ने र कूटनीतिक माध्यमबाट हाम्रा कुरा माथि पार्ने अवसर हो । भोटेकोशी बाढीको हाम्रो पीडा तात्तातै रहेको र यसपटक हामी माथि विश्व समुदायको सहानुभूति पनि रहेकाले यस अवसरको सदुपयोग गरेर भोटेकोशी बाढीको क्षति र पुनर्निमाणका लागि सहयोग जुटाउने यो अवसर पनि हो ।
यस्तो बेलामा प्रधानमन्त्री भाषण पढेर फर्किहाल्नु, राष्ट्रसंघका महासचिव बाहेक अरु कसैसँग पनि द्धिपक्षीय भेटवार्ता नगर्ने कार्यक्रम बनाउनु कूटनीतिक कमजोरी रहेको टिप्पणी भइआएको छ ।
अर्काे कुरा गत बर्षको नेपालको जेनजी आन्दोलन विश्व चर्चित नै भएकाले संसारले नै नेपालको परिवर्तनबारे थाहा पाएका छन् । त्यही आन्दोलनका बलमा प्रधानमन्त्री बनेका बालेनले भेट्न चाहँदा द्धिपक्षीय भेटवार्ता पनि धेरै नै मिल्थ्यो होला ।
फेरि प्रधानमन्त्रीको यो पहिलो विदेश भ्रमण पनि भएकाले न्युयोर्कमा उपस्थित भएका विश्वका नेताहरुसँग उनले भेटघाट र कुराकानी गरेको भए त्यसले मुलुकका लागि पनि फाइदै हुनेथियो । तर यो अवसर भने प्रधानमन्त्रीले गुमाउन पुगेका छन् ।
पहिले उनी नगएर परराष्ट्र मन्त्री मात्र न्युयोर्क जाने कार्यक्रम रहेको थियो । तर
प्रधानमन्त्री नै न्युयोर्क जानुपर्ने भन्ने आवाज देशव्यापी रुपमा उठेपछि भोटेकोशी बाढीका कारण उत्पन्न परिस्थितिलाई विश्व समुदायसमक्ष राख्नकै लागि उनको यो भ्रमण पछि तय भएको थियो ।
तर पनि यति महत्वपूर्ण विश्व जमघटमा जाने नै भएपछि भाषण मात्र पढेर फर्किनुु प्रधानमन्त्री आफ्नै एवं मुलुकका लागि पनि हितकर विषय भएन । यसलाई प्रधानमन्त्रीले एक महत्वपूर्ण अवसरको बेवास्ता गरेको या अवसर गुमाएको रुपमा लिइएको छ ।
यसबाट उनको व्यक्तित्व र मुलुकको पछिल्लो अवस्थालाई कूटनीतिक रुपमा विश्वमा फैलाउन सकिने अवसर राम्रैसँग गुमेको छ । यसलाई मुलुकको कमजोर कूटनीतिको परिणामका रुपमा पनि लिन सकिन्छ ।
