आइतवार, अशोज ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘सङ्घीयता कार्यान्वयनका ९ वर्षसम्म कार्यशैलीमा सुधार आएन, अझै कति पर्खिनुपर्ने हो ?’


  • माउन्टेन खबर
  • आइतवार, अशोज ११, २०८३
  • 16
    SHARES

काठमाडौँ – बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले सङ्घीयता कार्यान्वयन भएको ९ वर्ष बित्न लाग्दासमेत तीन तहका सरकारबिचको कार्यशैली र समन्वयमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ ।

 

आइतबार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री प्रजापतिले यस्तो बताउनुभएको हो ।  उहाँले उद्योग, पर्यटन तथा यातायात क्षेत्रका काममा संघ, प्रदेश र स्थानीय सरकारबिच द्वन्द्वजस्तो अवस्था देखिएको टिप्पणी गर्नुभयो । उहाँले तीन तहको सरकारबिच पर्याप्त समन्वय हुन नसक्दा सेवा प्रवाह र पूर्वाधार विकासका काम समेत प्रभावित हुने गरेको बताउनु भयो । सङ्घीय शासन प्रणालीमा यसरी तीन तहको सरकारबिच समन्वय नहुँदा ठिक ढङ्गले राज्य सञ्चालन गर्न कठिन हुने उहाँको भनाइ छ । उहाँले जिम्मेवारीमा रहेका व्यक्तिले प्रभावकारी राज्य सञ्चालनप्रति जिम्मेवार र गम्भीर हुन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले बागमती प्रदेशको यातायात क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेश सरकार क्रियाशील रहेको बताउनु भयो । सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी तथा नवीकरण र सवारीसाधनको ब्लु बुक नवीकरण गर्ने सफ्टवेयरमा समस्या आउँदा सेवाग्राहीले सहज रूपमा सेवा पाउन नसकेको कुरामा समेत आफू गम्भीर रहेको उहाँको भनाइ छ । मन्त्री प्रजापतिले उद्योग तथा पर्यटन क्षेत्रमा समेत सङ्घीय सरकारसँग पर्याप्त समन्वय हुन नसकेको उहाँले बताउनुभयो । उहाँले १० भदौको रसुवाको भोटेकोसी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन तथ्याङ्क समेत प्रदेश सरकार नरहेको  उल्लेख गर्नुभयो । कानुनी जटिलता र सङ्घीय सरकारसँगको समन्वय अभावका कारण तथ्याङ्क सङ्कलनमा समस्या उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले खास गरी संघ, प्रदेश र स्थानीय सरकारबिच पर्याप्त मात्रामा समन्वय हुन सकेको छैन भन्ने आभास हुन्छ । मैले काम गर्दाखेरि उद्योग, पर्यटन र यातायातको क्षेत्रमा कतै संघ सरकारसँग द्वन्द्व, कतै प्रदेश र कतै स्थानीय सरकारसँग द्वन्द्व भएको जस्तो लाग्छ । यसरी राष्ट्र चल्दैन जस्तो लाग्छ । किनभने अहिले सङ्घीयता लागू भएको ९ वर्ष पुग्न लागिसक्यो । यदि ९ वर्षसम्म पनि हामीले काम गर्ने तरिकालाई सुधार्न सक्दैनौँ भने अब अरु कति वर्ष लिने ? मलाई यो विषयमा पीडा हुन्छ । यसको जिम्मेवारी म आफैंले लिनुपर्छ जस्तो पनि लाग्छ । किनभने अहिले मैले जिम्मेवारी लिएको छुँ, मैले गर्न सक्दिनँ भनेर मैले सुख पाउने पाउँदिन । त्यसकारण हामी बागमती प्रदेशको यातायात क्षेत्रलाई व्यवस्थित गर्नको लागि खटेका छौँ । यातायात मन्त्रालयका सचिवज्यूले पनि धेरै गर्नुभएको छ । सवारीको लाइसेन्स बनाउने तथा नवीकरण गर्ने, ब्लुबुकहरु नवीकरण गर्ने सफ्टवेयरमा केही समस्या आएको छ । त्यसकारण सेवाग्राहीलाई सेवा दिनसक्ने अवस्थामा छैनौँ । यसको समाधानको लागि हामी खटिरहनुभएको छ । उद्योग क्षेत्रमा पनि समन्वय छैन । अस्ति बाढीमा कति जनाको मृत्यु भयो ? पर्यटक तथा व्यवसायी  कतिको मृत्यु भएको  भन्ने कुराको तथ्याङ्क हामीसँग छैन । कानुनी अड्चन रसंघीय सरकारसँगको समन्वयको अभावले अहिले हामी त्यो तथ्याङ्क संकलन गर्ने अवस्थामा छैनौँ ।’

उहाँले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारबिच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)