काठमाडौँ – पूर्व राष्ट्रपति डा. रामवरण यादवले विश्वव्यापी जलवायु परिवर्तन र वातावरणीय सङ्कटप्रति विश्वका शक्ति राष्ट्रदेखि नेपालका राजनीतिक नेतृत्व गम्भीर नभएको गुनासो गर्नुभएको छ ।
शनिवार काठमाडौँमा नेपाल मधुमेही समाजको ३६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । वैज्ञानिक प्रमाणहरूले बारम्बार चेतावनी दिँदा पनि नीति निर्माण तहमा रहेका नेतृत्वले यसलाई सामान्य रूपमा लिनु वा ‘झुट’ भन्नु दुर्भाग्यपूर्ण भएको उहाँको टिप्पणी छ । पूर्व राष्ट्रपति डा. यादवले आफ्नो कार्यकालमा चुरे संरक्षणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको बताउँदै चुरे क्षेत्रको विनाश रोक्न सके मात्रै हिमालको हिउँ जोगिने, पहाडको पर्यावरण सुरक्षित हुने र तराईको उर्वर भूमि मरुभूमीकरण हुनबाट बच्ने तथ्य बारम्बार औँल्याउँदै आएको दाबी गर्नुभयो । तर सरकार वा कुनै पनि राजनीतिक दलले आफ्नो सुझावलाई गम्भीरतापूर्वक नलिएकोमा उहाँले गुनासो गर्नुभयो । डा. यादवले विश्वव्यापी रूपमा जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिकहरूको संस्थाले दिइरहेको चेतावनी र तथ्यपरक रिपोर्टलाई समेत बेवास्ता गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्नुभयो ।
अमेरिका लगायतका केही मुलुकका शक्तिशाली नेतृत्वले नै जलवायु परिवर्तनको बहसलाई ‘झुट’ भन्नुले पृथ्वीको भविष्य थप सङ्कटमा परेको उहाँको भनाइ छ । वातावरणीय मुद्दामा देखिएको यो राजनीतिक उपेक्षाले मानव अस्तित्व र प्राकृतिक स्रोत–साधनको दोहनलाई थप जटिल बनाउने चेतावनी उहाँले दिनुभयो ।
डा. यादवले भन्नुभयो, ‘विश्वले अहिले वातावरणीय सङ्कट र ग्लोबल वार्मिङको गम्भीर चुनौती भोगिरहेको छ । तर यस विषयमा विश्वका नेतृत्व र हाम्रो देशका राजनीतिक दलहरूमा समेत आवश्यक दूर दृष्टि देखिएको छैन । राष्ट्रपति हुँदा मैले चुरे संरक्षणको आवश्यकता औँल्याउँदै आएको थिएँ । चुरे जोगाउन सके हिमालको हिउँ, पहाडको वातावरण र तराईको उर्वर भूमि संरक्षण गर्न सकिन्छ । तर सरकारले र राजनीतिक दलहरूले यस विषयलाई गम्भीरतापूर्वक लिएनन् । दुःखको कुरा, विश्वका केही नेताहरूले जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक प्रतिवेदनलाई समेत अस्वीकार गर्दै यसलाई झुटो भन्ने गरेका छन् । जबकि संयुक्त राष्ट्रसङ्घका वैज्ञानिकहरूले जलवायु परिवर्तनका जोखिमबारे निरन्तर चेतावनी दिँदै आएका छन् । अब पनि हामीले वातावरण संरक्षणलाई प्राथमिकतामा राखेनौँ भने यसको गम्भीर असर भविष्यका पुस्ताले भोग्नुपर्नेछ ।’
कार्यक्रममा शताब्दी महिला नानिबाबा प्रधानलाई नेवारी संस्कृतिअनुसार कदर पत्रसहित सम्मान गरिएको छ । उहाँले मधुमेही समाजका लागि सबैभन्दा बढी योगदान र अनुदान समेत दिनुभएको आयोजकले बताएको छ । –न्युज एजेन्सी नेपाल
