काठमाडौँ – तिहार तथा छठ पर्वमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणले विशेष तयारी गरेको छ । पर्वका समयमा विद्युत माग बढ्ने भएपनि आन्तरिक उत्पादनले नै माग धान्ने प्रक्षेपणसहित प्राधिकरणले नियमित र गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था मिलाएको जनाएको छ । प्राधिकरणले विद्युत उत्पादन, प्रशारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था गरेको छ । विद्युत आपूर्ति व्यवस्थापन तथा प्रणाली सञ्चालनबारे प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको थियो ।
बैठकले पर्व अवधिमा विद्युत आपूर्ति सहज बनाउन गरिएका तयारी, प्रणाली सञ्चालन र सम्भावित चुनौती व्यवस्थापनबारे समीक्षा गरेको थियो । त्यसैगरी, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक र प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी विद्युत आपूर्ति व्यवस्थापन, प्रणालीको निगरानी र आवश्यक जनशक्ति परिचालनबारे समन्वय गरिएको छ ।
कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सबै तयारी पूरा गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । आपूर्तिमा समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्नसमेत उहाँले निर्देशन दिनुभएको छ । प्रशारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारका बाँकी काम तत्काल सम्पन्न गर्न तथा विद्युत आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न पनि निर्देशन दिइएको छ । नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाउने र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउने व्यवस्था मिलाउन प्राधिकरणले सम्बन्धित कार्यालयहरूलाई भनेको छ ।
प्राधिकरणका अनुसार तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७०० मेगावाट पुग्ने अनुमान छ । उक्त समयमा विद्युत् उत्पादन भने करिव दुई हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको छ । कार्यकारी निर्देशक श्रेष्ठले आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत आपूर्ति सहज बनाउन पर्याप्त विद्युत उपलब्ध हुने बताउनुभएको छ । पर्व अवधिभर विद्युतको माग र आपूर्तिको अवस्थाबारे एलडीसी, ग्रिड सञ्चालन विभाग तथा वितरण केन्द्रहरूबीच निरन्तर समन्वय र अनुगमन गरिने प्राधिकरणले जनाएको छ । प्रणालीमा आउन सक्ने सम्भावित समस्या समयमै पहिचान गरी तत्काल समाधान गर्न प्राविधिक तथा व्यवस्थापकीय तयारीसमेत गरिएको छ ।
यसैबीच, प्राधिकरणले तिहार तथा छठका अवसरमा विद्युत्को सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न र विद्युत चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ ।
विद्युत आपूर्तिसम्बन्धी समस्या वा गुनासो भए नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । –न्युज एजेन्सी नेपाल
