काठमाडौँ । नेपाली काँग्रेसले होल्डिङ सेन्टरबाट सुकुमबासीलाई हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गरेको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुमबासी परिवारलाई अस्थायी आश्रय स्थलबाट समेत हटाउने सरकारको निर्णय संविधान प्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्म विपरीत रहेको ठहर गरेको हो ।
काँग्रेसले सरकारले सुकुमबासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएको तर महिनौँसम्म अनिश्चिततामा राखेको भन्दै अस्थायी आश्रयसमेत खोस्न खोज्नु गलत भएको जनाएको छ ।
राज्य नागरिकको अभिभावक भएको उल्लेख गर्दै काँग्रेसले घरबारविहीन नागरिकलाई आश्रय दिनु राज्यको दायित्व भएको जनाएको छ । उसले होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित, सम्मानजनक एवं दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गर्नुपर्ने काँग्रेसको भनाइ छ ।
यसै गरी, होल्डिङ सेन्टरको समन्वय र सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य छन् ।
मङ्सिर ८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा बिहीबारसम्म ७० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । धारणा राख्ने क्रम जारी रहेकाले बैठक शुक्रवार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने काँग्रेसले जनाएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरू, प्रदेश सभापतिहरू तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले विभिन्न विषयमा धारणा राखेका थिए । केन्द्रीय सदस्य बाला अधिकारीसहित केही सदस्यले लिखित रूपमा आफ्नो धारणा पठाएका थिए ।
