नयाँ दिल्ली। भारतमा पछिल्लो २४ घन्टामा मात्रै ५० हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतमा कुल संक्रमितको संख्या १४ लाख ३६ हजार नाघेको छ ।
कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि भारतमा ३२ हजार ८ सयभन्दा बढी छ । भारतमा पछिल्लो २४ घन्टामा मात्रै ७ सयभन्दा बढीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।
संक्रमण दर उच्च भए पनि पछिल्लो समय मृत्युदरमा भने विश्वमै कमी आएको छ । भारतमा पनि कोरोना संक्रमणपछि निको हुनेको संख्या ९ लाख १८ हजारभन्दा बढी छ । यसै गरी विश्वमै कोरोना जितेर घर फर्कनेको संख्या १ करोड नाघेको छ । विश्वमा १ करोड ३१ हजारभन्दा बढी कोरोना संक्रमणपछि निको भएका छन् ।
विश्वमै कोरोनाबाट बढी प्रभावित मुलुकहरु अमेरिका र ब्राजिलमा विगत केही दिनदेखि कोरोना संक्रमण दर र मृत्युदर दुबैमा कमी आएको छ । विश्वमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ६३ लाखभन्दा बढी छ भने मृत्यु हुनेको संख्या पनि ६ लाख ५१ हजारभन्दा बढी छ ।
