बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्न गएका तीर्थ यात्रु फर्कनेक्रम जारी


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ १५, २०८०
  • 217
    SHARES

रसुवा। जनैपूर्णिमा पर्वको मुख्य दिन बिहीबार गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्न गएका तीर्थ यात्रु फर्कनेक्रम जारी छ ।

गोसाइँकुण्डमा स्नान गरी पूजाआजा गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ गएका करिब चार हजारमध्ये पचास प्रतिशत भक्तजन आआफ्नो गन्तव्यतर्फ फर्किसकेका छन् । अन्य यात्रु आज बिहानैदेखि धुञ्चेबाट फर्किनका लागि गन्तव्यतर्फ अगाडि बढिरहेका छन् ।

डाँडापाखामा अह्रोरात्र कुहिरो लागे पनि मेला अवधिभर पानी नपरेपछि उकालीओराली गर्न अन्यन्तै सहज भएको तीर्थ यात्रामा गएका यात्रुले बताएका छन् ।

यात्रुलाई लेक लाग्ने समस्याको समाधानका लागि नेपाली सेनाले चन्दनबारीदेखि धार्मिक मार्गका ठाउँठाउँमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै चोलाङपार्टीमा सेनाले मेडिकल क्याम्पसमेत राखेको छ ।

रसुवा अस्पताल र गोसाइँकुण्ड गाउँपालिकाले लौरिविनायक क्षेत्रमा शिविर सञ्चालन गर्नुका साथै गोसाइँकुण्डको तलाउ डिलबाट हिमालय उद्धार सङ्घले यात्रुलाई उपचार सेवा दिएको धादिङका तीर्थयात्रु हरि पाठकले बताउनुभयो ।

गोसाइँकुण्ड मेलामा तीर्थ गर्न पुगेका एक जना यात्रुको यही १० गते लेक लागेर निधन भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिनुभयो । उहाँले गोसाइँकुण्डबाट फर्किने क्रममा डिम्सा आसपास क्षेत्रबाट एक जना यात्रु हराइरहेकाले उहाँको खोजी तीव्र पारिएको बताउनुभयो ।

यात्राका क्रममा अन्य जोखिमखाले घटना नभएको प्रहरी प्रमुख बुढाथोकीले बताउनुभयो । सुरक्षा निकायले एक जना यात्रुको उद्धार गरेको जनाउँदै उहाँले बिरामी यात्रुको थप उपचारार्थ काठमाडौँ पठाइएको जानकारी दिनुभयो ।

गोसाइँकुण्ड मेलामा भएका गतिविधिको विस्तृत विवरण शनिबारसाँझसम्म सङ्कलन भइसक्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले जानकारी दिनुभयो । उहाँले मेलामा सहयोग गर्नुहुने सबै निकाय, व्यक्ति, सङ्घसंस्थालाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)