आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रमेश विकलका पात्रहरू ( “समालोचनात्मक अन्वेषण” पुस्तकबाट )


  • गोपी मैनाली
  • शनिबार, पुस २१, २०८०
  • 175
    SHARES

रमेश विकलका पात्रहरू 
-गोपी मैनाली

विषय प्रवेश
सिर्जना (विशेषतः आख्यान) मा पात्रको महत्व अधिक हुन्छ । आख्यानका प्रमुख तत्वहरू विषय, कथानक, घटना सबै नै पात्रको वरिपरि घुम्ने गर्दछ । पात्रले कथाको जीवनलाई बोक्दछ । ‘कथामा तोकिएको भूमिकामा रहेर घटनालाई गति दिन भूमिका खेल्ने पात्र नै चरित्र हुन् । पात्र वा चरित्रले सम्वाद मार्फत कथालाई अगि बढाउने गर्दछ । कथामा मानवीय मात्र होइन, मानवेत्तर पात्र पनि चरित्रका रूपमा उपयोग हुन्छ । कथाका पात्रहरू प्रमुख–सहायक, नायक–खलनायक हुन सक्दछन् । चरित्र मूलतः व्यक्ति हुन्छ । उसले जे बोल्छ, सम्वाद हुन्छ र जे गर्छ त्यो कार्य हुन्छ’ (शिक्षा तथा मानव स्रोत विकास केन्द्र, २०७८) ।

पात्र चयन, नामकरण चरित्र व्यापारमा प्रभाव उत्पादन हुने हुनाले यसमा सावधानी अवलम्वन गरिनुु पर्दछ । पश्चात्य साहित्य सिद्धान्तका गुरु एरिष्टोटल चरित्र, त्यसमा दुखान्त चरित्रलाई धेरै महत्व दिन्छन् । उनका अनुसार पात्रले व्यक्तिका रुचि अभिरुचिहरूको प्रवद्र्धनमार्फत नैतिक ध्येयलाई व्यक्त गर्दछ । सिर्जना जीवनको अग्रगामी पक्षलाई उजागर गर्दछ, जुन प्रत्यक्ष वा परोक्ष हुन सक्दछ ।पूर्वीय नाट्य सिद्धान्तले ‘नाटक मानिसहरूका क्रियाकलापको अनुकृति नभै भावहरूको अनुकृति हो’ मौलो, पृ २५८) । नाटकमा मात्र होइन, कथा, उपन्यास जहाँ पात्र हुन्छ सबै विधामा पात्रले भावको अनुकृति गर्दछ । पात्रले मानवीय संवेग, भाव, प्रवृत्ति र संवेदनालाई वोक्न सक्नुुपर्छ ।

पात्रहरू स्वाभाविक हुनुुपर्दछ, जैवनिक हुनुपर्दछ । तिलस्मी र अद्भूत कथाका पात्रहरू काल्पनिक र गैरमानव हुन सक्दछन् । जनावर, वनस्पति, चराचुरुङ्गी र अन्य निर्जिव वस्तुुहरूलाई पनि पात्र बन्न सक्दछन् । तर आधुनिक कथामा जैवनिक पात्रले महत्व पाएको हुन्छ, त्यो पनि मानिस नै । विज्ञान कथामा यन्त्र, उपकरण, रोवोटिकले पनि मानव कार्य गर्न सक्दछ । तर त्यसले पनि मानव जीवनका उद्देश्यका लागि कार्यसम्पादन गरेको हुन्छ । त्यस्तै जनावर, चराचुुरुङ्गीले पनि पात्रको भूमिका लिएको हुनसक्छ तर कार्यव्यापारको निर्देशक पक्ष भने सर्जक नै हुन्छ, सर्जकले विश्लेषण र कथा वाचकको भूमिका लिएको हुन्छ । कथा वाचक वक्ता भएर कथा परिवेशमा जीव–निर्जीव पात्रसँग सम्वाद–अन्तरक्रिया गर्दछ ।

सातिनस्ल्याभ्स्कीले पात्र चयनका विषयमा चार सवाल उठाएका छन् । पहिलो, उ कस्तो चरित्र हो ? वा उसलाई के गर्न खडा गरिदैछ ? दोस्रो, उ कुन परिवेशमा छ ? वा कस्तो अवस्थामा उसले कार्य व्यापार (चरित्र कार्य) गर्ने हो ? तेस्रो, उ त्यहाँ के गर्दैछ ? वा उसको आशय र कार्य के हो ? र चौथो, उसले चरित्र कार्य गर्नु अघिको अवस्था कस्तो थियो ? वा परिवेश र पृष्ठभूमि कस्तो थियो ? (व्रिटानिका डट कम) । पात्रहरू धेरै प्रकारका हुन्छन् । सर्जक उनीहरूको भूमिका विनियोजन गर्दछ । यस अर्थमा तिनीहरू स्वतन्त्र हुँदैनन्, तर सर्जकीय स्वायत्तताको उपयोग गर्दछन् । मुख्य पात्र नायक वा स्थूल भूमिकामा हुन्छ । याने कि आख्यानको प्रारम्भ, विकास, उत्कर्ष, उत्कर्षबाट तल झर्ने र समापन गर्ने प्रधान भूमिका उसले नै निर्वाह गरेको हुन्छ ।

प्राचीन कथा÷काव्यहरूमा त्यसले साहसिक यात्रा गर्छ । प्लेटो तथा अरिस्टोटल पात्रहरूलाई साहसिक रूपमा उल्लेख गर्दछन् । इलियड र ओडेसीको सन्दर्भ उल्लेख गर्दछन् । ओडिसियस साहसिक पात्र हो, उ ट्रोजानको युद्ध गर्छ, दश वर्ष सङ्घर्ष गरेर कठिन यात्रापछि घर फर्किन्छ । इलियाडको अकिलिज पनि वीरतापूर्ण काव्यिक यात्रा गर्दछ । आधुनिक पात्रहरू रोमान्टिक, साहसिक, वैज्ञानिक, दुुखान्त, सुखान्त र भयोत्पादक चरित्रकार्य गर्दछन्, मनोभूमिमा नै प्रतीक गुम्सिएर मनोद्वन्द्व गरिरहेका हुन्छन् । जे भएपनि उसको भूमिका विशेष हुन्छ । प्रधान चरित्रको कार्यव्यापारले नै कथानक गतिशील हुन्छ । अर्को अर्थमा कथानकको जीवन हो । किनकि कथाले निर्माण गर्न खोजेको कथानक र विषयवस्तुुलाई गतिशील बनाउने गर्दछ, उसको संवेदना, चिन्तन, व्यवहारले नै कथालाई निष्कर्षमा पुु¥याएको हुन्छ ।

चरित्र कार्यका आधारमा पात्रलाई मुख्य पात्र र सहायक पात्र, नायक र खलनायक आदि वर्गमा विभाजित गर्न सकिन्छ । अन्य पात्रहरूले मुख्य पात्रको घटना यात्रालाई सहजीकरण गरेर वा विपरीत कार्य गरेर सघाइरहेका हुन्छन् । यसर्थ पात्र नारी वा पुरुष हुनसक्छ, मानवीय वा गैरमानवीय हुनसक्छ, जीवन र गैरजीवन (प्राकृति अवयव) को हुनसक्छ, शहरी र ग्रामीण हुनसक्छ, देखिएको भूमि वा सिर्जित÷काल्पनिक भूमिमा कार्य गर्ने हुनसक्छ ।

कस्तो पात्र चयन गर्ने भन्ने विषय सिर्जना परिवेश, ध्येय र सर्जकको चिन्तन धरातलले निर्धारण गर्दछ । यो लेखकीय स्वतन्त्रताको विषय हो । सर्जकले सिर्जना स्वायत्ततालाई उपयोग गरेर पात्र चयन, नामकरण र परिस्थितिसँग सापेक्षीकरण गर्दछ । यसैको आधारमा नै सिर्जनाले वैशिष्ट्य निर्धारण गर्दछ ।

पात्रमार्फत नै सर्जक आफना कुरा अभिव्यक्त गर्दछ । त्यसैले प्रधान पात्र सर्जकको सच्चा प्रतिनिधि हुने गर्दछ । उसैको माध्यमबाट सर्जक आफना विषयलाई फूलबुट्टा, कलाशिल्प र अन्य भावभङ्गी र दृश्यबिम्ब मिसाएर सिर्जनालाई प्रभावकारी पार्दछ । सहायक पात्र, खलपात्रहरू प्रधान पात्रको चरित्रकार्यमा सघाई प्रभाव उत्पादनको पृष्ठभूमि तयार पार्दछन् । पात्रको सही चारित्रीकरणले सर्जकको कला सामथ्र्य र अभिव्यञ्जना शक्तिको द्योतन त गर्छनैं, त्यसको अतिरिक्त त्यसो गर्ने ऊर्जा र चाहचेतको स्वाभाविकतालाई पनि देखाउँछ । सर्जक चरित्र चित्रणको प्रत्यक्ष वा परोक्ष शैली अपनाउने गर्दछन् ।

रमेश विकलका पात्र
विकल मूलतः सामाजिक यथार्थताको चित्रण गर्दछन् । समाजमा दैनिक कार्यव्यवहारलाई दुरुस्त प्रतिनिधित्व गर्ने पात्रको खोजी गरी उयोग गर्नाले नै सामाजिक यथार्थलाई टिप्न सकिन्छ भन्ने मान्यता विकलका कथा, उपन्यास, नाटकहरूमा पाइन्छ ।

रमेश विकल यथार्थवादी पात्रहरूको चयन र प्रयोग गर्दछन् । समाजमा घटेका घटना, विषयवस्तु र मनोविज्ञानलाई जीवन्त बनाउन स्रष्टाले चिनेका, अन्तरबोध गरेका पात्रहरू आवश्यक हुन्छन् । त्यस्ता पात्रहरूसँग चिनेको, देखेका, खेलेको वा कुनै अरूतरिकाले भोगेको हुनुपर्छ । श्री ओम श्रेष्ठन ‘रोदन’ संग एक प्रसङ्गमा विकलले भनेका छन् उनले चयन गरेका पात्रहरू उनीसँग रिसाएका छन्, पाएदेखि मार्न तयार हुन्छन् तर त्यसो गर्न उनीहरूकै अपराधबोधले दिदैन (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, पृ ६५) । विकल पात्रहरूको मनोविज्ञान अध्ययन गर्दछन्, अनुहार र भावना पढ्छन्, चरित्र बुुझ्छन्, आँकलन गर्छन । उनीहरूको चेष्टा, हाउभाउ, चालचलन र मनोवेग हेरेर, मनोविज्ञान अनुसार पात्र चयन गर्न विकल सावधान र सिपालु पनि छन् । यसैका आधारमा विकललाई यथार्थवादी सामाजिक आख्यानकार भनिएको हो ।

उनले चयन गरेका पात्रहरू मूलतः ग्रामीण परिवेशका छन् । पात्रको नामकरण गाउँको बोलीचालीको भाषामा छ । उनी बाँचेको समय, अझ भनौं उनको सिर्जना व्यक्तित्व अङ्कुरित हुँदै विकास भएको समय पात्रको नामकरणमा देखिन्छ । उनको पहिलो कथा गरिबको पात्र माने, बाटुली, मुखिया कथालाई जीवन्त बनाउन निकै सक्षम छन् । लाहुरी भैंसी पात्र, परिवेश र चरित्रव्यापारमा गरिब कै विस्तृत रूप हो । मानेको स्थानमा लिखुुरे छ, मुखियाको स्थानमा द्वारे छ, बाुटुलीको स्थानमा घैंटी छ । गरिबप्रति गर्ने व्यवहारको शैली भने गरिब र लाहुरी भैंसीमा भिन्नता छ । उनको दोस्रो कथा २००६ सालमा नै सेवा पत्रिकामा छापिएको आसुमा भिजेको हाँसोका पात्र र परिवेश पनि गरिबकै समकक्षतामा छ ।

उनको पहिलो कथा बिरानो देशमा कथासङ्ग्रहमा सङ्ग्रहित कथाका पात्रहरू निख्खर मौलिक छन् । मधुमालतीको शङ्कर, गौरी फुपू, शङ्करकी आमा, गोपे, तर कोपिला फक्रेनका स्यामु, दामु, बीरे, पुतली, काले, फुच्चे, धने, सानुकाका, मुसे, बमको छिर्का का फूलमति, स्यामुु, साँइलो, बिरानो देशमा का गोपी, गोपीकी आमा, गोपीको बाबुु, हवल्दार, सिपाही, साँइला, दाहाल्नी बज्यै, युवकको डायरीको माधव, माधवको बाबु, माधवकी आमा, प्रकाश, पियन, पृथ्वी घुम्दै छको म पात्र, पण्डित बसन्तलाल, विधवा, कमल कथाका कमल, मदन, लाटी, सुुशिला विषय प्रतिनिधित्व र सोही अनुरूपको चरित्र कार्य गर्न सक्षम छन् । ग्रामीण परिवेशमा .को.बाबु, साँइला जस्ता पात्रहरू पाइन्छ, त्यसैले कतिपय पात्रको नामकरण दोहोरिएर भएको छ । नाममा अर्गानिकपन छ । कमल बाहेक अन्य कथामा चरित्र कार्य र चरित्र नाममा सिधा अर्थवोध हुन्छ तर कमलमा भने लाक्ष्यणिकता पनि छ । सामान्यतः कमल पुरुरुषको नाममा प्रयोग हुन्छ, यहाँ कमल नारी पात्र हो । कमल सहृदयता र सुन्दरताको नारी चरित्रको पनि प्रतिनिधित्व गर्दछ ।

दोस्रो कथा सङ्ग्रह ‘नयाँ सडकको गीत’ मा गरिबको माने, बाटुली, मुखिया, लाहुरी भैंसी मा लिखुरे, द्वारे, रामबिरे, घैँटी, शीर्षक कथा नयाँ सडकको गीत को दृष्टिबिहीन पात्र, सानी, भञ्ज्याङ्को चौतरो का पातली बले, फुटपाथ मिनिष्टर का गोरे, टिकी, जघने, भोटे, एउटा बुढो भ्वाइलिन आशावरीको धुनमा लुरे, कोइली, सिँगारी बाख्रो का सिँगारी, पण्डित, पण्डितनी आदिको नामकरण र चारित्रीकरण निकै स्वाभाविक छन् । तर पहिलो कथा सङ्ग्रहभन्दा यसमा पात्रको पर्यावरणीय परिवेशभन्दा मानसिक परिवेश विस्तार भएकाृ छ । नयाँ सडकको गीत, फूटपाथ मिनिस्टर, बुढो भ्वाइलिन आशावरीको धुनमा मनोविश्लेणात्मक भावभूमिका पात्रकार्य अघि वढेको छ । कथाकार पात्रको वयान विश्लेषणमा अप्रत्यक्ष विधि पनि प्रयोग गर्छन् ।

तेस्रो कथा सङ्ग्रह आज फेरि अर्को तन्ना फेरिन्छ मा पात्रहरू अघिल्ला दुुई कथामा भन्दा मनोदशाका व्यथित छन् । उसले नजन्माएको छोरो का मधुुसूदन र सावित्री, एउटा बाबुको कथा…, एउटा अपराधको वकपत्र, नपङु्सक युुग आदि कथाका पात्र स्वाभाविक छन् तर कथा परिवेश र पात्र कार्य भने भिन्न छ । यसले कथाकारको दृष्टिकोण र परिपक्वतालाई पनि द्योतन गर्दछ ।

हिमालको छहरा समुद्रको छाल का मेरी कान्छी माइजू कि कान्छी माइजूू, भद्रकाली भाउजू, मुकुन्द (भानिज), ठूले, बूढा पराजुली, रानी साहेवको तस्विरका बाबुसाहेव, रानी साहव, मालती, हिमालको छहरा समुद्रको छालका झुनुरानी, कुमार, जोन, मार्लिन, आत्महत्या ः एक मृत्युसन्त्रास का मदन, मुकुन्द लगायतका कथाहरूका पात्रहरू मनोव्यापारमा छन् । उर्मिला भाउजूका पात्रहरू अभैm गहन मनोयात्रामा उद्वेलित छन् ।

उनका उपन्यासका पात्रहरूलाई तिन प्रकारका छन् । पहिलो सुनौलीका पात्रहरू सुनौली, गोरे बम्जन, कृष्णे ग्रामीण परिवेशका पात्र हुन् । तर शहरमा पुुगेकी सुनौली कनक बन्छे, शहरका ड्राइवर्नी, साइलो ड्राइवर, सिंह, किरण, मनोहर, चम्पा, प्रेमसाहेव शहरीया पात्र हुन् । उनीहरूको चरित्रकार्य विकृत छ । विकृतिका केन्द्रमा यौनअभिप्सा छ ।

दोस्रो उपन्यास अविरल बग्दछ इन्द्रावती ग्रामीण परिवेशका पात्रहरूको कार्यव्यापारमा छ । काजी चतुुर्भुजसिंह, त्रिलोकसिंह नामैले सामन्ति प्रकृतिको चरित्रकार्यमा छन् । उनीहरू खल पात्र हुन् र सहायक खलपात्रहरूले उनीहरूको कार्यव्यापारलाई सघाएको छ । भूमा लगायत पाको माझी पुस्ता नयाँ चेतना र पूरानो परम्पराका सङ्क्रमणमा छन् । आफ्नै विरुद्धको काजीखलकको शोषण अन्यायमा पनि विरोध गर्न सक्दैनन्, सोभिते, लालगेडी, जैमाने, भीमे, गिरी मास्टर, देवू पनेरुरुहरूलाई समर्थन गर्न सक्दैनन् । पुरानो पुस्ताका पात्रहरू परिवर्तनको थोरै अपेक्षामा छन् तर कुनै अनिष्ठ आउनु हुँदैन । नयाँ पुस्ताका सोभिते, लालगेडीहरू परिवर्तन र सङ्घर्षको कार्यव्यापरमा छन् । पात्रका नाम चयनदेखि चरित्रकार्य स्वाभाविक छन् ।

तेस्रो उपन्यासका सागर उर्लन्छ सगरमाथा छुनका केही पात्रहरू आधुनिक शहरीया र सांस्कृतिक विचलनका कार्य गरिरहेका छन् भने केही पात्रहरू सुधार र सङ्घर्षको प्रक्रियामा छन् । हाइनरिख, जाँन सेवास्टिनो विदेशी पात्र हुन् तर नेपाली परिवेशमा कार्य गरिेरहेका छन् । चम्पक, इलेन, रूपक, लक्ष्मी भौतिकताको यात्रा, उपभोगवाद र स्वार्थमा छन् । सोफेस्टिकेड चरित्रमा छन् । लघुभूमिका भएका पात्रहरू कृष्णराजा, हाइनरिख, डा.कोमल, चेतना नर्स स्वपहिचानको आदर्शमा कार्यव्यापार गरिरहेका छन् ।

विक्रम र नौलो ग्रह किशोर उपन्यासका पात्रहरू अलि बेग्लै खालका छन् । विक्रम बालकौतुहलको कार्यव्यापार गर्छ, अर्का पात्रहरू विवेक र मायाले उसलाई साथ दिन्छन् । चन्द्रलोकको वृद्ध मानिस, मङ्गललोकका निलुम्बा, बोगुुम्बा, लूना अन्य पात्रहरू हुन् । कथाभूमि पनि सपना, सन्देह र कौतूहलमा छ । सपनामा आएको प्रकाश पनि पात्रको रूपमा कार्यव्यापार गरिरहेको छ । निलुम्वा, बोगुुम्वा, लूना र चन्द्रलोकबाट सपनामा आएको वृद्धअद्भूत प्रकृति मानवसापेक्ष पात्र छन् ।

बाल साहित्य (कथा, नाटक, दन्त्यकथा आदि) मा अलौकिक, अद्भूत पात्रहरूको उपयोग छ । बालसाहित्यको प्रायोगिक मूल्य खोज्न पात्रलाई कहानी, घटना, तिलस्मीता अनुुसार लगाइएको छ । बालउत्सुका जगाउन, नैतिक चरित्र रोप्न र मनोरञ्जनसाथ ज्ञानको भोक जगाउन पात्रहरू परिचालित छन् । ती कथा हजुरआमाका मुखबाट आउने, अगेनाको डिलमा बसेर भनिने, बालबालिकालाई निद्रा बोलाउने (लोरी सुनाउने), मनोरञ्जन दिने र डर भगाउने खालका छन् । बालसाहित्यका पात्रहरू गैरमानव पनि छन् । तर कथात्मक प्रक्रियामा भने पात्रहरू स्वाभाविक देखिन्छन् ।

विकलका कथामा मानवेत्तर पात्रहरूको पनि प्रयोग भएको छ, तर ती स्वाभाविक छन् । शव सालिक सहस्र बुद्ध मा काग र छेपारो पनि पात्र बनेका छन् । सिँगारी बाख्रोमा पशुपात्र सिँगारी प्रमुख भूमिकामा छे । यस्ता पात्रले कथाको प्रतिकीय प्रतिनिधित्व गर्दछ, लाक्षणिक अभिव्यक्ति दिन्छ । यस्ता गैरमानव पात्रले स्खलित मानवीय संवेदनाप्रति आक्रमण गर्छ र ध्येयित सन्देशको साङ्केतिक आग्रह गर्दछ ।

कथा, उपन्यासहरूमा पुरुष र नारी पात्रहरूको सरोवरी प्रयोग छ । सापेक्षिक रूपमा विकलका नारी पात्रहरू प्रभावकारी छन् । सुनौली, चेतना, उर्मिला, कान्छी माइजू, सावित्री, लालगेडी, किटी, भतिजी प्रतिमा, इलेन प्रभावकारी पात्रका दृष्टान्त हुन् । यसको मनोवैज्ञानिक कारण पनि छ । नारीपात्रमा रहने संवेदनशीलता, संयमता, उन्मादताका कारण उस्तै मनोदशामा पनि पुरुषका तुलनामा महिला चरित्रकार्य प्रभावकारी देखिन्छ ।

समकालीन नेपाली समाज (केही हदमा अहिले पनि) समाजमा एक प्रकारको असजिलो व्यवहार देखिन्छ । गाउँका धनीमानी र उच्च तहसोपानका व्यक्तिका नामपछि आदरार्थी, सम्भ्रान्त खालको विशेषण जोड्ने र तहगत सोपानमा तल परेका, गरिब, सामान्य मानिसका लागि नामको पछि एकार जोडेर बोल्ने, बोलाउने, नामकरण गर्ने चलन छ । कथाकार (गुरुप्रसाद मैनाली) ले यो सामाजिक विकृतिलाई पनि कथाका पात्रमार्फत उठाएका छन् । चामे, प्रतीक गुमाने, धनजिते, जुठे, कान्ते, चाउरे, काले, जिउने, सन्ते, नौली तल्लो सामाजिक तहसोपानका पात्र हुन् । सामाजिक मनोवृत्तिको परिणामा हो यो ।

त्यस्तै माथिल्ला वर्ग र तहसोपानमा रहेकाहरूको सँग्लो आदरार्थी नाम देखिन्छ, जस्तो कि गङ्गाधर, श्रीधर, देवीरमण, धर्मानन्द, रामुआदि । समाज जात, वर्ग र लिङ्गीय रूपमा कसरी विभाजित र हेलित रहेछ भन्ने यथार्थ चित्र पनि हो यो । नामले सामाजिक हैसियत र भूमिका निर्वाह मात्र होइन, अवसर उपयोगमा पनि प्रत्यक्ष प्रभाव पारेको छ (गोपी मैनाली, अभिव्यञ्जना यात्राप्रति, २०७९) । प्रतीक गुरुप्रसाद मैनालीकै सामाजिकताको चित्रणमा उनकोभन्दा फराकिलो सिर्जना गर्ने विकलका पात्रहरू पनि स्थानीय परिवेश अनुसार चित्रित छन् । सामाजिक तहसोपानले उनका पात्रलाई पनि लखेटेको छ । उनका उत्पीडित र विभेदित–वञ्चितिमा परहेका निमुखा पात्रहरूको नामकरण वीरे, भीमे, जीते, सोभिते, गोरे, भोटे, माने, कृष्णे, लुखुरे, साँइलो, साँइली, जघने, घोप्टे, कप्ताने, लुरे, चाउरे, बले आदि एकार जोडिएका नाम छन्, तर सामाजिक सान, मान, सुखसयलमा रहेकाहरू नाम प्रेमसाहव, सिंहसाहव, सानोकाजी, ठूलो काजी, त्रिलोचनसिंह, मुखिया, चम्पकशमशेर, रूपपकशमशेर, झुनुरानी आदि छन् । नामका पछि उकार, जी, ज्यू आदि जोडिएका छन् । समाजमा जस्तो छ, त्यही नामकारण र कार्यव्यापार गर्दछन् । गोरेले किटीलाई बाल्ने भाषा छुट्टै छ, चम्पक, इलेन र काजीहरूलाई बोलिने भाषा छुट्टै छ । माधव उर्मिलाईलाई उर्मी भन्छ । निलुम्बा, बोरुम्बा र लूनाका चरित्र अद्भूत छ । सम्वादमा स्थानीय रङ्ग र माटोको गन्ध छ । त्यसैले विकल सच्चा सामाजिक चित्रकार बनेका हुन् ।

पात्रको विकास क्रममा पनि सिलसिलेवार यात्रा गरेको पाइन्छ । गरिब लेखिएको समयमा पात्रहरूको व्यवहार सङ्घर्षमय थिएन, सुनौलीमा सङ्घर्ष सामथ्र्य थिएन, तर उर्मिला भाउजू, कान्छी माइजू, सावित्री, लालगेडी, हाइनरिख, कृष्णराजाहरू झण्डै हिरोइक यात्रा (साहसपूर्ण यात्रा) गर्न पुुग्छन् । पशुुपात्र भएर पनि सिँगारीले मनभित्रै मानवसत्ताप्रति ठूलो सङ्घर्ष गरेकी छ । पात्रको परिपक्वता भनेको साधकको परिपक्वता हो भन्ने भनिहनुु पर्दैन ।

रमेश विकल पात्रको चारित्रीकरणका लागि प्रत्यक्ष र परोक्ष दुवै विधि अपनाउँछन् । सन्दर्भ उल्लेख, दृश्यबिम्बन र मनोविश्लेषण मार्फत चरित्र चित्रणलाई प्राथमिकता दिन्छन् । उनका गैरआख्यान सिर्जनामा त यो विशेषता छनै, आख्यान रचनामा पनि परिवेश र दृश्यविम्बलाई सुन्दर शिल्पमा संयोजन गर्ने कार्यले औधी प्राथमिकता पाएको छ । सामाजिक आख्यानमा यो सहायक जस्तो देखिए पनि मनोविश्लेषणमा अहम् भैदिन्छ ।

रमेश विकलका कथा पात्रका सन्दर्भमा विद्वान समालोचकहरूले आआप्mनो दृष्टिकोण व्यक्त गरेका छन् । दयाराम श्रेष्ठ नेपाली कथा भाग ४ (२०५७) विकल प्रगतिशील कथाकार भएकाले उनका कथाका पात्रहरू निम्नमध्यम वर्गका छन् भन्दछन् । ग्रामिण उत्पीडन र शासमाजिक शोषणमा पिल्सिएका पात्रहरूको जीवन प्रतिनिधित्व गर्ने कथाकार भएकाले त्यहीको परिवेश पात्रले चित्रण गर्नु स्वाभाविक हो तर श्रेष्ठले भनेजस्तो प्रगतिशील हुनका लागि खास वर्गको मात्र प्रतिनिधित्व गर्नुपर्छ भन्ने चहि कति उचित हो भन्ने प्रश्न उठ्छ । हरेक प्रारको समाजमा, पात्रमा, जीवनमा प्रगतिशीलता खोज्न सकिन्छ । उर्मिला भाउजू कि पात्र उर्मिला गरिब र निम्न वर्गकी होइन, उसले प्रगति खोजेकी छ ।

मेरी कान्छी माइजू धेरै प्रगतिशील छ तर प्रधान पात्र मेरी कान्छी माइजू निम्न वर्ग भन्न सकिने अवस्थामा छैन । यही कुरा हाइनखि र चेतनामा पनि देखिन्छ ।
खगेन्द्रप्रसाद लुइटेल रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक (२०६७) नामक समालोचना ग्रन्थमा उल्लेख गर्छन् विकलका कथामा अनुकूूल चरित्रका रूपमा निम्न वर्गीय पात्र र प्रतिकूल चरित्रका रूपमा उच्च वर्गीय पात्रहरू रहेका छन् । उनको पात्र विश्लेषण सामान्य रूपमा यथार्थपरक छ । गरिबको माने, लाहुरी भैंसीको लुुखुरे अनुकूल पात्र हुन्, सुनौलीको सिंह, अविरल बग्दछ इन्द्रावतीको सनोकाजी (त्रिलोकसिंह), सागर उर्लन्छ सगरमाथाको इलेन, चम्पक, रूपक, लक्ष्मी प्रतिकूल पात्र हुन् भन्न सकिन्छ । तर उर्मिला भाउजू की उर्मिला र माधव अनुकूल कि प्रतिकूल के भन्ने ? यहाँ पनि प्रश्न रहन्छ ।

रमेश विकल ः बिम्ब एक प्रतिबिम्व अनेक (२०६७) मा कृष्णहीर बराल भन्छन् विकलका कथाले मूल रूपमा विपन्न वर्गका मानिसहरूले दुखकष्टहरूलाई कथ्य बनाएको छ । मीठो त के आधापेट खान नपाएर बिलखवन्दमा परेका राम्रो त के लाज छोप्ने धरो नपाएर छटपटाइरहेका देखिन्छन् भने जीवन धान्नका लागि वेश्यावृत्ति गर्न विवश नारीलाई आफ्ना कथाका पात्र बनाएको देखिन्छ ।

त्यस्तै युवराज मैनाली ‘रमेश विकल ः बिम्ब एक प्रतिबिम्ब अनेक (२०६७) समालोचनाग्रन्थमा पारिजात र विकलको तुलना गर्दै भन्छन् …पात्रहरू स्वबोधको कमी भएबाट विद्रोह र द्वन्द्वको उपक्रम पनि सानो रहन्छ, पारिजातको तुलनामा । पारिजातको कथाविधान, पात्रचयन, औं पृष्ठसङ्गठनमा पूर्ण प्रौढता पाइन्छ । साथै विकलको अविरल बग्दछ इन्द्रावती का पात्र चयनमा युवराज मैनाली भन्छन् बुढाकाजीमा शुद्ध सामन्तवादको चरित्र, सानाकाजीमा खिचडीवादको उपज, बुढाकाजी कुटनीतिक भावना छ’ ।

विकलका पात्रहरू सामाजिक प्रवृत्ति प्रवृत्तिप्रति आलोचनात्मक दृष्टिकोण राख्दछन्, क्रान्तिकारी सोच भने राख्दैनन् । कथाकार गुरुप्रसाद मैनालीले सुरुगरेको सामाजिक यथार्थवादलाई परिष्कृत पार्दै आलोचनात्मक यथार्थवादमा पुुग्छन्, त्यसैले पात्रहरू प्रगतिशील, यथार्थस्थितिप्रति आलोचक छन् तर क्रान्तिकारी कार्यव्यवहार त्यति गर्दैनन् । उनका पात्रहरू म्याक्सिम गोर्कीको पाभेल भ्लासोभ, आन्द्रेइ नाखोद्का, भ्लासोभा निलोभाना जस्ता आक्रामक नभै लियो टाल्सटायका नतासा रोस्तोभा र पिएरे बेजुखोभ जस्ता यथास्थितिका आलोचक र प्रगतिशीलताको यात्रामा छन् । नेपाली समाजको चेतनाको तह र सामाजिक मूल्यसंस्कृतिले पनि विकलका पात्रलाई निर्धारण गरेको छ ।

निष्कर्ष
रमेश विकल पात्र चयन, पात्र भूमिका निर्धारण र भूमिका कार्यमा यति कुसाग्र छन् कि त्यसले उनका सिर्जनालाई जीवन बनाइदिन्छ । लाग्छ ती रचना नभै प्राकृतिक विषय हुन् । यसर्थ हामी भन्न सक्छौ पात्र चयन र चरित्र चित्रणको प्रत्यक्ष विधिमा गुरुप्रसाद मैनालीका सच्चा उत्तराधिकारी बनेका छन्, दृश्यबिम्ब र प्रकृति सादृश्यीकरणमा देवकोटीय प्रवृत्ति समाएका छन् भने मनोपरिवेश विश्लेषण र उदात्तीकरणमा विश्वेश्वर–भिक्षुुसँग नजिक छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }