काठमाडौँ । जाजरकोट जिल्लाको सदरमुकाम खलङ्गास्थित सञ्चालित जाजरकोट जिल्ला अस्पतालमा निःशुल्क मुख तथा दन्त शिविर सम्पन्न भएको छ ।

गोरखा वेलफेयर ट्रष्ट नेपालको आर्थिक सहयोगमा कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल बसुन्धराको प्राविधिक सहयोगमा पाँचदिने निःशुल्क मुख तथा दन्त शिविर सम्पन्न भएको हो ।

सो शिविरमा जाजरकोटका सातवटै स्थानीय तहका ३५८ जनाले सेवा लिएका थिए । सोमध्ये ६५ जनाको दाँत सफा गरिएको र ८४ जनाको दाँत भर्ने काम गरिएको कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका कार्यकारी निर्देशक बुद्धिमान श्रेष्ठले जानकारी दिए । सो अवसरमा ३४७ जनाको दाँत निकालिएको थियो ।

यस्तै, ३० जनाको कृतिम दाँत लगाइएको र २९१ जनाको दाँत फेरिएको थियो । मुख तथा दन्त शिक्षा स्वास्थ्य प्रदान गरिएको थियो । उक्त शिविरमा भाग लिन १३ जनाको टोली काठमाडौँबाट जाजरकोट गएको थियो ।

